कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बेमौसमी वर्षाले सवा ७ अर्बको धान नष्ट

वर्षाले १६ जिल्लामा २ लाख ५८ हजार टन धान क्षति, प्रदेश २ को विवरण अझै आएन
यस वर्ष उत्पादन करिब ६ प्रतिशत घट्ने
राजु चौधरी

काठमाडौँ — बेमौसमी वर्षापछि आएको बाढी र हुरीले १६ जिल्लामा मात्रै ७ अर्ब २२ करोड रुपैयाँ बराबरको दुई लाख ५८ हजार ९२ टन धानमा क्षति पुर्‍याएको छ । लुम्बिनीका १०, प्रदेश १ का तीन र सुदूरपश्चिमका दुई जिल्लाबाट उक्त परिमाणमा धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक विवरण छ । धान उत्पादन हुने मुख्य पकेट क्षेत्र प्रदेश २ र वाग्मतीबाट विवरण आइसकेको छैन ।

बेमौसमी वर्षाले सवा ७ अर्बको धान नष्ट

‘अहिलेसम्म प्राप्त अनुमानित र प्रारम्भिक विवरणअनुसार करिब १० अर्ब रुपैयाँको धानबाली प्रभावित भए पनि क्षति भने ७ अर्ब २२ करोडको भएको देखिन्छ,’ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले भने, ‘सातै प्रदेशमा पत्र पठाएका थियौं । प्रदेश २ को अझै रिपोर्टिङ भइसकेको छैन ।’ अहिलेसम्म सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ९३ हजार ५ सय ७६ हेक्टरमा असर गरेको छ । जसमध्ये ४२ हजार ४ सय २७ हेक्टरमा क्षति भएको मन्त्रालयले जनाएको छ । उक्त क्षेत्रफलबाट १ लाख ६१ हजार २ सय २३ टन धानबाली क्षति भएको छ । प्रतिटन २८ हजार रुपैयाँका दरले लुम्बिनीमा ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँको क्षति भएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ ।

लुम्बिनीमा सबैभन्दा बढी बर्दियामा ११ हजार ५ सय ४० हेक्टरमा फलेको १ अर्ब ३५ करोड ७१ लाख रुपैयाँको धानबाली नष्ट भएको छ । दोस्रोमा कपिलवस्तुमा १० हजार ६ सय ९६ हेक्टरमा फलेको १ अर्ब १३ करोड ८० लाख रुपैयाँ बराबरको धान नष्ट भएको मन्त्रालयको अनुमान छ । सुदूरपश्चिम प्रदेशको पनि कैलाली र कञ्चनपुरमा बढी क्षति भएको कृषि मन्त्रालयले जनाएको छ । कृषि विकास निर्देशनालय डोटीका निमित्त प्रमुख यज्ञराज जोशीको नेतृत्वमा कृषि ज्ञान केन्द्र, कैलाली र कञ्चनपुरका कार्यालयका प्रमुखसहितले डुबान क्षेत्रमा गरेको अनुगमनबाट कैलालीमा करिब ५४ प्रतिशत र कञ्चनपुरमा ४२ प्रतिशत धानबालीमा क्षति पुगेको अनुमान छ । कैलालीमा ३७ हजार ८ सय र कञ्चनपुरमा १८ हजार ४ सय ८० हेक्टरमा क्षति भएको देखिन्छ ।

कृषि मन्त्रालयले भने सुदूरपश्चिममा १८ हजार हेक्टर बालीमा क्षति पुगेको दाबी गरेको छ । ‘सुदूरपश्चिममा मुख्यतः दुई जिल्ला (कैलाली र कञ्चनपुर) प्रभावित भए । ५५ हजार हेक्टरमा लगाएको बालीमा असर पुगेको छ,’ विवरणमा भनिएको छ, ‘क्षति भएको क्षेत्रफल अनुमानित १८ हजार हेक्टर हो । उक्त क्षेत्रफलबाट ६८ हजार ४ सय टन धान नष्ट भएको छ ।’ रकमका हिसाबले १ अर्ब ९१ करोड रुपैयाँको क्षति भएको बताइएको छ ।

कपिलवस्तु नगरपालिका–२ कदानमा बेमौसमी वर्षाले डुबाएको धानबाली । तस्बिर : मनोज पौडेल/कान्तिपुर

प्रदेश १ मा करिब १५ प्रतिशत धानबाली प्रभावित भएको मन्त्रालयको भनाइ छ । उक्त प्रदेशमा ३ लाख ३६ हजार हेक्टरमा रोपाइँ भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए । त्यसमध्ये करिब ५० हजार हेक्टर प्रभावित भएको उनले बताए । मुख्यतः झापामा १३ हजार १ सय २५, सुनसरीमा ९ हजार ७ सय र मोरङमा ९ हजार ८ सय ९६ हेक्टर धानखेती प्रभावित भएको छ । ‘पालिकाहरूबाट पनि क्षतिको विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘दुई/तीन दिनभित्र विस्तृत विवरण आउँछ ।’

संघीय कृषि मन्त्रालयले तयार पारेको प्रारम्भिक विवरणमा प्रदेश १ मा ४९ हजार ९ सय ४५ हेक्टरको धानबालीमा असर पुगेको उल्लेख छ । यसमध्ये ७ हजार ४ सय ९२ हेक्टरमा क्षति भएको जनाइएको छ । उक्त क्षेत्रफलबाट २८ हजार ४ सय ६९ टन धानबाली क्षति भएको छ । यो ८० करोड रुपैयाँ बराबरको हो । धानबालीको मुख्य पकेट क्षेत्र प्रदेश २ मा पनि करिब ५/६ प्रतिशत धानमा क्षति भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सूचना अधिकारी मनीषकुमार पालले जानकारी दिए । ‘प्रदेश २ मा ४ लाख ३ हजार हेक्टरमा धानखेती भएको थियो । यसमध्ये करिब ५/६ प्रतिशतमा क्षति पुगेको छ,’ उनले भने ।

उत्पादन ६ प्रतिशत घट्ने

बेमौसमी वर्षाले यस वर्ष धान उत्पादन करिब ६ प्रतिशत घट्ने देखिएको छ । मनसुन समयमै सक्रिय भएर रोपाइँ राम्रो भए पनि वर्षाले धानबाली नष्ट भएपछि उत्पादन घट्न सक्ने कृषि मन्त्रालयले जनाएको छ । ‘केही क्षेत्रमा धान उत्पादन राम्रो थियो । गण्डकी प्रदेशमा गत वर्षभन्दा धेरै राम्रो उत्पादन थियो,’ प्रवक्ता सन्जेलले भने, ‘उत्पादनमा तराईको बाली महत्त्वपूर्ण हो । तर पछिल्लो पानीले ठूलो क्षति पुर्‍यायो ।’ मन्त्रालयको विवरणअनुसार २०७८ साउन २८ सम्म ९७.८९ प्रतिशत अर्थात् १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाइँ भएको थियो ।

२०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष भने ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो । उत्पादन ७० हजार ८ सय ३२ टन बढे पनि आयात प्रशस्त छ । अहिले भने थप उत्पादन घट्ने देखिएको हो । ‘यसपालिको उत्पादन ६० लाख टन पुग्ने अनुमान थियो,’ अर्थविद् केशव आचार्यले भने, ‘अहिले मासिक करिब ३ अर्ब रुपैयाँको चामल आयात भइरहेको छ । उत्पादन नै घट्दा थप व्यापार घाटा बढ्ने देखिन्छ ।’ जीडीपीमा कृषि क्षेत्रको योगदान २५ प्रतिशत छ । यसमा धानको योगदान १६ प्रतिशत छ । धानको मुख्य पकेट क्षेत्र भनेको प्रदेश २, ५ र १ हो । केही जिल्लामा धानसँगै गहुँमा पनि क्षति पुगेको छ । त्यसो हुँदा अर्थतन्त्रलाई थप असर पुग्छ ।

राहत माग्दै किसानले भेटे मन्त्री

वर्षाबाट पीडित किसानका लागि तत्काल राहत एवं पुनःस्थापना माग गर्दै पाँच वटा किसान संगठनले कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवलाई भेटेका छन् । राष्ट्रिय कृषक समूह महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, सिँचाइ जल उपभोक्ता महासंघ, फियान र खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालले शुक्रबार मन्त्री यादवलाई ज्ञापन बुझाउँदै कृषि संकटग्रस्त क्षेत्र घोषणा गरी प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

वर्षाले पाँच लाख हेक्टरभन्दा बढी जमिनमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट भएको उनीहरूको भनाइ छ । गहुँ र आलुबालीमा समेत क्षति पुगेको जनाइएको छ । ‘परालसमेत खेतमै कुहिएकाले पशु आहार नष्ट भएको छ,’ राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले भने, ‘प्रकोपबाट प्रभावित किसान परिवारलाई खेती भित्र्याउन तत्काल सहयोग उपलब्ध गराउन माग गरेका छौं ।’

प्रकाशित : कार्तिक ६, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?