१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उद्योगमा लगानी प्रतिबद्धता : संख्या घट्दै, लगानी बढ्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योगको दर्ता संख्या घटे पनि समग्रमा (स्वदेशी तथा विदेशी) लगानी प्रतिबद्धता रकम भने बढेको छ । उद्योग विभागको पाँच आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) को तथ्यांक तुलना गर्दा उद्योग दर्ता संख्या कम भए पनि स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता रकममा वृद्धि भएको देखिएको छ ।

उद्योगमा लगानी प्रतिबद्धता : संख्या घट्दै, लगानी बढ्दै

आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा १ सय ३९ उद्योग दर्ता भएका थिए । त्यति बेला ७३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्ष २०७८/८९ को साउन–असोजसम्म भने ८७ उद्योग दर्ता भएको र तिनमा १ खर्ब २२ अर्ब १८ करोड २० लाख रुपैयाँ रकम लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । २०७५/७६ मा १ सय ७५ उद्योगमा ६८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

२०७६/७७ मा ८३ उद्योगमा ५२ अर्ब २४ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । २०७७/७८ को साउन–असोजसम्म भने ५९ उद्योग दर्ता भएका छन् । यसका लागि उद्योगीहरूले ६२ अर्ब ३७ करोड १० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । यस आधारमा उद्योग दर्ता संख्या कम भए पनि लगानी प्रतिबद्धता रकम वृद्धि भइरहेको देखिन्छ ।

उद्योगमा लगानी बढ्नु सकारात्मक रहेको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले बताए । ‘लगानीकर्ताहरूले गरेका प्रतिबद्धता हुन् यी । रकम बढ्नु भनेको लगानी वृद्धि हुनु हो । यसलाई हामीले ठूला उद्योग आएको भनेर विश्लेषण गर्नुपर्छ,’ पराजुलीले भने, ‘कोभिडपछि सरकारले उद्योगहरूलाई धेरै सुविधासमेत दिएको छ । विभिन्न छुटका कार्यक्रमसमेत ल्याएको छ । यसले लगानी रकम बढेको हो ।’

विभागले आठ वर्गीकरणमा राखी उद्योग दर्ता गर्दै आएको छ । यसमा कृषि तथा वन पैदावरमा आधारित, पूर्वाधार, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादन, सेवा र पर्यटनमूलक उद्योग छन् । विभागमा १० करोडदेखि ६ अर्ब रुपैयाँसम्म पुँजी भएका उद्योग दर्ता हुन्छन् । १० करोड रुपैयाँभन्दा कम पुँजी लगानी भएका उद्योग प्रदेश तहअन्तर्गतका लघु, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन्छन् । ६ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका उद्योग लगानी बोर्डमा दर्ता हुन्छन् ।

विदेशी लगानी प्रतिबद्धता बढ्यो

पाँच आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) को तथ्यांकअनुसार विदेशी लगानी प्रतिबद्धता बढेको छ । आर्थिक वर्ष २०७४/७५ को साउन–असोजसम्म १ सय २ उद्योगमा ८ अर्ब ४३ करोड २० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक सय ७ उद्योगमा २३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ रकम प्रतिबद्धता आएको छ ।

२०७५/७६ को पहिलो तीन महिनामा १ सय २९ उद्योगमा ४ अर्ब ८३ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । २०७६/७७ को सोही अवधिमा भने ९० उद्योगमा १४ अर्ब १८ करोड २० लाख र २०७७/७८ मा ९४ उद्योगमा १९ अर्ब ३९ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । यो लगानी कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना प्रविधिमा आधारित, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक उद्योगमा गरिने प्रतिबद्धता रहेको विभागको तथ्यांक छ ।

प्रकाशित : कार्तिक ६, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?