कैलाली, कञ्चनपुर र सुनसरीमा ३० प्रतिशत धानबाली नष्ट- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलाली, कञ्चनपुर र सुनसरीमा ३० प्रतिशत धानबाली नष्ट

मोहन बुडाऐर, सुम्निमा चाम्लिङ

धनगढी/इटहरी — तीन दिनदेखिको बेमौसमी वर्षाका कारण अन्न भण्डारका रूपमा रहेका सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर तथा प्रदेश १ को सुनसरीमा धानबालीमा अत्यधिक क्षति पुगेको छ । तीन वटै जिल्लामा ३० प्रतिशतसम्म धानबालीमा नोक्सानी भएको सम्बन्धित कृषि ज्ञान केन्द्रहरूले जनाएका छन् ।

‘कैलाली र कञ्चनपुरमा वर्षाअघि ४० प्रतिशत धानबाली भित्र्याउन बाँकी थियो,’ सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले भने, ‘प्रारम्भिक तथ्यांकअनुसार वर्षाले ढालेर, बगाएर र डुबानबाट बचेको १० प्रतिशत जति होला, यसमा २/४ प्रतिशत तलमाथि हुन सक्छ ।’ स्थानीय तहका कृषि शाखालाई क्षतिको यकिन विवरण संकलन गर्न निर्देशन दिइसकेको उनले बताए ।

३० प्रतिशत धानबालीको क्षतिलाई मात्रै आधार मान्दा पनि कैलालीका करिब एक लाख किसानले दुई अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख खगेन्द्र शर्मा गर्छन् । उनका अनुसार जिल्लामा यो वर्ष ७० हजार हेक्टर जमिनमा धान लगाइएको थियो । जसमध्ये २१ हजार हेक्टरमा लगाएको धानबाली वर्षाले नोक्सान पुगेको छ । कैलाली र कञ्चनपुरमा एक हेक्टर खेतमा सरदर ४५ क्विन्टलसम्म धान फल्छ । ‘जसअनुसार ९ लाख ४५ हजार क्विन्टल नोक्सान भएको मान्दा प्रतिक्विन्टल २ हजार रुपैयाँका दरले मात्रै हिसाब गर्दा किसानले १ अर्ब ८९ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको देखिन्छ,’ उनले भने, ‘कञ्चनपुरमा पनि करिब १ अर्ब रुपैयाँ हाराहारीमा धानबाली नोक्सान भएको अनुमान गर्न सकिन्छ ।’

मर्कामा परेका किसानलाई राहतको आवश्यकता भएको उनले औंल्याए । कृषिको बालीनाली प्राकृतिक प्रकोप क्षतिपूर्ति तथा राहत मापदण्ड २०७५ अनुसार कैलालीमा मात्रै क्षतिपूर्ति दिन १७ करोड रुपैयाँभन्दा बढी रकम आवश्यक पर्छ । ‘प्रदेश सरकार एक्लैले यति ठूलो रकम एउटै जिल्लाका लागि दिन सक्दैन होला,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहले मिलेर जानुपर्ने देखिन्छ ।’ उक्त मापदण्डमा किसानलाई प्रतिकट्ठा २ सय ६७ रुपैयाँ क्षतिपूर्ति दिइने उल्लेख छ ।

प्रदेशको कृषि मन्त्रालयका सचिव डा. मदनसिंह धामीले किसानलाई नगदमा राहतभन्दा कृषिका विभिन्न खाले कार्यक्रममा सहयोग र सहुलियत दिन सकिने बताए । पीडित किसानलाई भविष्यमा गहुँबाली, चैते धानलगायत लगाउँदा बीउ र मलमा सहुलियत तथा छुट दिन सकिने उनको भनाइ छ ।

लगातारको वर्षाले सुनसरीमा पनि धानबालीमा उल्लेख्य क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रको आकलन छ । भोक्राहा नरसिंह, हरिनगरा, देवानगन्ज गाउँपालिका, इनरुवाका दक्षिणी भूभाग बबिया र जल्पापुर क्षेत्रमा वर्षाले बढी नोक्सान गरेको केन्द्रले जनाएको छ । जिल्ला यस वर्ष ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १६ हजार हेक्टरको धान नष्ट भएको केन्द्र प्रमुख नुनुलाल उराव बताउँछन् । ‘सुनसरीको दक्षिणी क्षेत्र जलमग्न छ । पानी परिरहेकाले पनि विवरण संकलन गर्न कठिन भइरहेको छ,’ उनले भने, ‘पूर्ण विवरण आउन अझै केही दिन लाग्छ ।’ हरिनगरा, देवानगन्ज र इनरुवामा लगाइएको अधिकांश तरकारी खेतीसमेत नष्ट भएको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्

भोकभोकै स्कुलमा बास

‘खानेकुरा कहिले पाइन्छ, ठेगान छैन, अहिलेसम्म ज्यान भने बचेको छ’
कमल पन्थी

बर्दिया — कर्णालीको तटीय क्षेत्रका बाढीपीडितले दुई दिनयता खान पाएका छैनन् । घर डुबानमा परेपछि स्थानीय विद्यालयमा आश्रय लिइरहेका बालबालिका, वृद्धवृद्धालगायत सबै भोकै बस्न बाध्य भएका हुन् । 

राजापुर–३ नंगापुरकी ईश्वरी झाले मंगलबार रातिदेखि घर डुबानमा परेकाले भोकै बस्नुपरेको बताइन् । ‘जेनतेन ज्यान जोगाएका छौं,’ उनले भनिन्, ‘स्थानीय सरकारले खानाका लागि कुनै पहल गरेको छैन, भोकै छौं ।’ गाउँमा मंगलबार दिउँसो कर्णाली नदी पसेको थियो । आश्रय लिएको विद्यालय परिसरमा पनि बाढी पसेकाले उनीहरू त्रसित छन् । झन्डै दुई सय परिवार विद्यालयमा रहेको दौलतपुरका जोगीलाल थारूले बताए ।

‘खानेकुरा कहिले पाइन्छ, ठेगान छैन,’ उनले भने, ‘अहिलेसम्म ज्यान भने बचेको छ ।’ यस क्षेत्रमा करिब ८ सय घर डुबानमा छन् । उनीहरूको रेखदेखका लागि प्रशासनले सुरक्षाकर्मी खटाएको छ । दौलतपुर, टिहुनीलगायत दर्जनौं गाउँ डुबानमा छन् ।

कर्णालीमा जलस्तर घट्दै गए पनि खेत र गाउँ डुबानमै रहेकाले फर्कने अवस्था नरहेको राजापुर नगरपालिकाकी उपप्रमुख मनकलाकुमारी चौधरीले बताइन् । ५ हजार मानिस बाढीबाट प्रभावित छन् । तीमध्ये १ हजार २ सय विस्थापित भएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । दुई हजार हेक्टर धान खेत डुबाएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ । धान उत्पादन राम्रो भए पनि बाढीले सबै नष्ट गरेको स्थानीय मुकेश थारूले बताए ।

पश्चिम नेपालको सबैभन्दा धेरै धान उत्पादन हुने राजापुरका किसान निराश छन् । सनकटीमा तटबन्ध भासिएका कारण राजापुर क्षेत्रको १, २ र ३ नम्बर वडा डुबानमा परेको वडा १ का अध्यक्ष रमण रेग्मीले बताए । कर्णालीमा पानीको बहाव कम भए पनि गाउँमा पसेको बाढी सुक्न करिब एक साता लाग्ने अनुमान गरिएको उनले जनाए ।

राजापुरको सत्तीघाट हुँदै कैलालीको टीकापुर जोड्ने सडक जलमग्न भएका कारण यातायात सम्पर्क विच्छेद भएको छ । सडक भासिएको र बगाएको छ । सडक नदीजस्तै बनेको छ । त्यस्तै कैलाली जोड्ने एकमात्र जलमार्ग दौलतपुर घाटबाट स्टिमरसमेत बन्द भएको छ । हाइटेन्सन लाइन बगाएपछि मंगलबार रातिदेखि राजापुर नगर र गेरुवा गाउँपालिकामा विद्युत् आपूर्ति ठप्प भएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।

प्रकाशित : कार्तिक ४, २०७८ ०६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×