राष्ट्र बैंकको हस्तक्षेपपछि निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा कम

यज्ञ बञ्जाडे

काठमाडौँ — नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर एकल अंक (१० प्रतिशतभन्दा कम) नै कायम भएको छ । बुधबार बैंकहरूले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको कात्तिकका लागि निक्षेपको नयाँ ब्याजदर अधिकतम ९.३६ प्रतिशतसम्म छ ।

राष्ट्र बैंकको हस्तक्षेपपछि निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा कम

कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको हकमा बैंक तथा वित्तीय संस्थाले प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म बढाउन पाउँछन् । यसका आधारमा कात्तिकका लागि निक्षेपको अधिकतम ब्याजदर ९.८६ प्रतिशतसम्म पुग्ने देखिन्छ । यही तथ्यका आधारमा निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा कम कायम हुने भएको हो ।

कात्तिक १ देखि लागू हुने गरी बैंकहरूले गत असोजको तुलनामा ३० प्रतिशतसम्मले निक्षेपको ब्याजदर बढाएका थिए । ब्याजदर वृद्धिमा अस्वस्थ प्रतिस्पर्धा तीव्र बनेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा धेरै ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनअनुसार बुधबारसम्म सबै बैंकहरूले निर्देशित सीमाभित्र रहेर नयाँ ब्याजदर प्रकाशित गरेका छन् । जसअनुसार बैंकहरूको अधिकतम ब्याजदर ९.३६ प्रतिशतसम्म छ ।


यसअघि १२ वटा बैंकले १० प्रतिशतभन्दा धेरैले ब्याजदर बढाएका र २ वटाले १० प्रतिशतभन्दा धेरैले ब्याजदर घटाएका थिए । बुधबार यी बैंकले पनि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । राष्ट्र बैंककै निर्देशनअनुसार ब्याजदर बढाउँदा पनि आधा दर्जनभन्दा धेरै बैंकको ब्याजदर १० प्रतिशतभन्दा धेरै पुग्छ । तर राष्ट्र बैंकले ती बैंकहरूलाई टेलिफोनमार्फत निक्षेपको ब्याजदर ९.३६ प्रतिशतभन्दा धेरै नतोक्न निर्देशन दिएको छ । सोही कारण ब्याजदर संशोधन भएका बैंकहरूको अधिकतम ब्याजदर ९.३६ प्रतिशत छ । ‘निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा तल राख्न खोजिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सोहीअनुसार बैंक तथा वित्तीय संस्थालाई मौखिक निर्देशन गएको हो ।’

ब्याजदर घटाउनुपर्ने निर्देशनले कर्जा निक्षेप अनुपात (सीडी) को चापमा रहेका बैंकहरूलाई राष्ट्र बैंकले फरक ढंगले सहुलियत दिन सक्ने पनि स्रोतको भनाइ छ । यो निर्देशनले सबै बैंकलाई लाभ हुन्छ । वासलातको आकार नबढे पनि नाफा वृद्धिमा सहयोगी हुने स्रोतको दाबी छ ।

निर्देशनमार्फत ब्याजदरमा देखिएको बैंकहरूबीचको अस्वस्थ प्रतिस्पर्धालाई प्रभावकारी रूपमा नियमन गर्न खोजिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘तरलता अभाव भन्दै बैंकहरू ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धामै उत्रिए,’ उनले भने, ‘त्यसलाई रोक्न खोजिएको हो ।’ अब बैंकहरूको ब्याजदरको अवस्था कस्तो हुन्छ, त्यसका आधारमा ब्याजदर स्थायित्वका लागि थप कदम उठाइने उनको भनाइ छ ।

ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न राष्ट्र बैंकले यसअघि पनि मौखिक रूपमा बैंकहरूलाई आग्रह गरेको थियो । तर बैंकहरूले उक्त निर्देशन उल्लंघन गरेर ३० प्रतिशतसम्म ब्याजदर बढाएका थिए । यही कारण राष्ट्र बैंकले हस्तक्षेप गर्नुपरेको बैंकहरूले स्विकारेका छन् । अब राष्ट्र बैंकबाट निर्देशन आइसकेकाले कार्यान्वयन गर्नुको विकल्प नरहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘राष्ट्र बैंकले ब्याजदरमा स्थायित्व ल्याउन चाहेको देखिन्छ,’ उनले भने, ‘यसकारण निर्देशनको सीमाभित्रै रहेर बैंकहरूले ब्याजदर प्रकाशन गरेका छन् ।’

प्रकाशित : कार्तिक ४, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?