वीरगन्जका भन्सारले तीन महिनामै संकलन गरे ६८ अर्ब बढी राजस्व

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित २ भन्सार कार्यालयले चालु आवको त्रैमासिक अवधिमा ६८ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेका छन् ।

कोरोना कहरपछि आयात निर्यात व्यापार पुरानै लयमा फर्किन नसकेको अवस्था बीच पनि मुलुकको प्रमुख स्थल नाकास्थित वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाहले गरी यति परिमाणमा राजस्व संकलन गरेका हुन् ।

वीरगन्जका भन्सारले तीन महिनामै संकलन गरे ६८ अर्ब बढी राजस्व

दुबै भन्सारले त्रैमासिक अवधिमा लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेका हुन् ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु आवको साउनदेखि असोज महिनासम्मको त्रैमासिक अवधिमा यो भन्सारले ४४ अर्ब २८ करोड ७१ लाख ३६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा २० प्रतिशत बढी अर्थात् ५३ अर्ब ६ करोड ९२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

असोज महिनामा मात्रै यो भन्सारले २० अर्ब ५१ करोड ६१ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । जुन मासिक लक्ष्यभन्दा २२ दशमलव ५ प्रतिशतले बढी हो । यो महिनामा १६ अर्ब ७५ करोड १९ लाख ७ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।

यता सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको त्रैमासिक अवधिमा १२ अर्ब ५५ करोड ४ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा ५ दशमलव ६६ प्रतिशतले बढी हो । यस अवधिमा ११ अर्ब ८८ करोड ११ लाख ४१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।

वीरगन्ज भन्सार स्तै यो भन्सारले असोज महिनामा भने मासिक राजस्व असूली लक्ष्य भेट्टाउन सकेन । यो महिनामा ४ अर्ब २१ करोड ५७ लाख ८५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको यो भन्सारले ३ अर्ब ९९ करोड ५८ लाख ८६ हजार रुपैयाँ मात्र राजस्व असूली गर्न सक्यो । जुन लक्ष्यको ९४ दशमलव ७८ प्रतिशत मात्र हो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले असोज महिनामा चाडपर्व लक्षित सामग्रीको बढी आयात भएपछि त्रैमासिक राजस्व असुली लक्ष्य भेट्टाउन सहज भएको बताए । विशेषगरी यो महिनामा जिप, कार, भ्यानजस्ता नयाँ सवारी साधनको आयात अत्यधिक भएको उनले बताए ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत चुडामणि शर्मा कट्टेलले समग्रमा त्रैमासिक अवधिमा राजस्व असुली लक्ष्यभन्दा बढी भए पनि असोज महिनामा भने मासिक राजस्व असुली लक्ष्य भेट्टाउन समस्या भएको बताए । उनले अघिल्ला वर्षहरुमा चाडपर्व नजिकिएसँगै चाडपर्व लक्षित वस्तुहरुको आयात बढ्ने गरेकोमा यस वर्ष भने त्यस्तो नभएको बताए । कोभिड महामारीसँगै विश्वव्यापी रुपमै कतिपय वस्तुको उत्पादन र मागसमेत घटेकाले त्यसको असर देखिएको हुन सक्ने उनले बताए ।

दसैंअघि रसुवा नाका सन्चालनमा आइसकेको र दसैं लक्षित लत्ताकपडा, जुत्ता तथा अन्य चिनियाँ वस्तुहरु उक्त नाकाबाट भित्रिएकाले समेत आयातकर्ताले यो नाका प्रयोग नगरेको हुन सक्ने उनले बताए । असोज महिनामा १५ गतेसम्म राजस्व संकलन लयमै रहे पनि त्यस पछि भने ओरालो लागेको उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?