२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वर्षाले अत्यावश्यक सेवा अवरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबारदेखिको निरन्तर वर्षाले देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक, सञ्चार, विद्युत्, खानेपानीलगायतका पूर्वाधारमा क्षति भएको छ । मंगलबार बेलुकासम्मको विवरणअनुसार सबैभन्दा धेरै भौतिक क्षति सुदूरपश्चिम प्रदेशमा भएको छ । 

वर्षाले अत्यावश्यक सेवा अवरुद्ध

सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लामा विद्युत् र सञ्चार सेवा पूर्ण रुपमा अवरुद्ध छ । कैलालीको खानीडाँडामा रुख ढलेर अत्तरिया–बलाँच १३२ केभी प्रसारणलाइनमा क्षति पुगेको छ । प्रसारणलाइनसँगै बिछ्याइएको अप्टिकल फाइबरमा पनि क्षति पुग्दा बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला र बैतडीमा सञ्चार सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि पहाडी जिल्लामा सेवा अवरुद्ध भएको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सिनियर इन्जिनियर घनश्याम पाठकले जानकारी दिए ।

प्रसारणलाइन अवरुद्ध भएपछि ३० मेगावाट उत्पादन क्षमताको चमेलिया जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन । चमेलियाबाट उत्पादित विद्युत् दार्चुलाको सदरमुकाम खलंगा जोड्ने ३३ केभी प्रसारणलाइन पनि अवरुद्ध भएको छ । उक्त प्रसारणलाइनअन्तर्गत बरमुढे क्षेत्रमा तीनवटा पोल ढलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उत्पादनतर्फ इलाम, पाँचथर र ताप्लेजुङमा रहेका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजना पनि अवरुद्ध बनेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । प्रसारणतर्फ अत्तरिया–बलाँच १३२ केभी प्रसारणलाइन र ११ केभी क्षमता थुप्रै प्रसारणलाइनमा क्षति पुगेको छ । वितरणतर्फ भने समस्या देखिएलगत्तै मर्मतसम्भार भइरहेको उनले बताए ।

बाढीपहिरोकै कारण वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न १० मुख्य राजमार्ग अवरुद्ध भएका छन् । जसका कारण सिन्धुली, म्याग्दी, दैलेख, जुम्ला, कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालगायतमा यातायात प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ । बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, बैतडीको सतबाजदेखि दार्चुला जोड्ने महाकाली राजमार्ग र धनगढी–डडेलधुरा सडक अवरुद्ध भएको छ । यो सडकखण्डको भासुभीर–सहजपुर र फल्टुडेमा पहिरो खसेको सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख वामदेव गौतमले बताए । कर्णाली राजमार्ग पनि अवरुद्ध बनेको छ ।

सिन्धुलीको सुनकोसी–२ कमेरेफाँटमा लेदोका कारण बीपी राजमार्ग अवरुद्ध बनेको छ । जुम्लाको सुन्दरी–२ र ४ मा पहिरो खस्दा नाग्मा–मुगु सडक अवरुद्ध भएको छ । कैलालीको चुरे–५ भासुभीर र डोटीको जोरायल–१ मा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध पारेको छ । अछामको चौरपाटी–६, बुनिभावरमा गएको पहिरोले चौखुट्टे–बाजुरा–अछाम सडक खण्ड बन्द भएको छ । सडक खुलाउन सेना, प्रहरी र सडक विभागको टोली खटाइएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘धेरै क्षति पुगेका ठाउँमा पनि छिट्टै मर्मत गरी आवागमन पुनः सञ्चालन गराउन समन्वय भइरहेको छ,’ उनले भने ।

अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेको छ । सबस्टेसन डुबानमा परेपछि प्रदेश १ मा विद्युत् लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्रकाशित : कार्तिक ३, २०७८ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?