कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालले बिहारलाई २८० मेगावाटसम्म बिजुली पठाउन थाल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले भारतको बिहार राज्यलाई २८० मेगावाटसम्म बिजुली पठाउन थालेको छ । विद्युत साटासाट (इनर्जी एक्सचेन्ज) को अवधारणामा प्राधिकरणले उक्त विद्युत बिहारलाई दिएको हो ।

नेपालले बिहारलाई २८० मेगावाटसम्म बिजुली पठाउन थाल्यो

प्राधिकरणका प्रवक्ता महेश भट्टराईका अनुसार हिउँदमा फिर्ता दिनेगरी बिहारले विद्युत लिइरहेको छ । ‘अहिले बिहारलाई माग गरेअनुसार विद्युत् दिइरहेका छौं । दैनिक अधिकतम २ सय ८० मेगावाटसम्म माग भइरहेको छ,’ भट्टराईले भने। बिहारले माग गरेको विद्युत् कुलेखानी सञ्चालन गरेर भए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापन गरिरहेको छ । प्रवक्ता भट्टराईका अनुसार बिहारले दैनिक माग र आपूर्तिको अवस्था हेरेर विद्युत सापटी माग्ने गरेको छ । ‘पछिल्लो दुई दिन बिहारले विद्युत मागेको छैन । त्यसअघि दैनिक रुपमा जति माग भएको थियो प्राधिकरणले अधिकतम २ सय ८० मेगावाटसम्म पठाएको छ,’ उनले भने । रामनगर, रक्सौल र कटौया प्रसारणलाइनबाट बिहारमा विद्युत् आपूर्ति भइरहेको छ । यस्तो विद्युत हिउँदयाममा नेपालले फिर्ता पाउनेछ ।

वर्षायाममा नेपालले पठाएको विद्युत र हिउँदमा बिहारले पठाएको विद्युत् परिमाणमा फरक देखिएमा त्यसको अतिरिक्त मूल्य तिर्ने गरी दुई पक्षबीच सम्झौता भएको छ । नेपाल र भारतबीच इनर्जी एक्सचेन्जका लागि सम्झौता भएपनि विद्युत् व्यापार (इनर्जी ट्रेड) का लागि भने दोहोरो सम्झौता हुन बाँकी छ । भारतले नेपाललाई विद्युत बेचेपनि नेपालले भने भारतलाई विद्युत बेच्न सकेको छैन । पछिल्लो समय भारतमा कोइला अभावमा थर्मल प्लान्टहरु बन्द हुँदा विद्युत कटौती बढ्दै गएको छ । नेपाल र भारबीच विद्युत व्यापारका लागि संरचना तयार रहेपनि कानूनी अड्चनहरु सुल्झन सकेका छैनन् । अहिले दुई देशबीच ३३ र १३२ केभी प्रसारणलाइनबाट ३ सय ७० मेगावाटसम्म विद्युत प्रवाह गर्नका लागि संरचना उपलब्ध छ ।

४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वर्षायाममा नेपालको विद्युत् खेर जाने अवस्था रहेको छ । अहिले नेपालभित्रको पिक डिमाण्ड १ हजार ३ सय २० मेगावाट बराबर छ ।


प्रकाशित : कार्तिक २, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?