कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पहिलो त्रैमासमा ३.४२ प्रतिशत विकास खर्च

मन्त्रालयहरूले बुझाएनन् मासिक १० प्रतिशत बजेट खर्चको कार्ययोजना
कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ । बजेट कार्यान्वयनमा देखिएको ढिलाइको असर खर्चमा देखिएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको १४ दशमलव २३ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

पहिलो त्रैमासमा ३.४२ प्रतिशत विकास खर्च

चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट विनियोजन भएकोमा पहिलो त्रैमाससम्म २ खर्ब ३४ अर्ब ५२ करोड रुपैयाँ बराबर बजेट खर्च भएको देखिन्छ । यसमध्ये चालुतर्फ १ खर्ब ८६ अर्ब ५२ करोड अर्थात् विनियोजित बजेटको १८ दशमलव ५७ प्रतिशत खर्च भएको छ । पुँजीगतर्फ भने ३ दशमलव ४२ प्रतिशत अर्थात् १४ अर्ब ८८ करोड रुपैयाँ मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ३५ अर्ब २४ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३३ अर्ब ११ करोड अर्थात् वार्षिक लक्ष्यको १९.९२ प्रतिशत बजेट खर्च भएको छ ।

सरकारले बजेट वक्तव्यमार्फत मासिक १० प्रतिशत बजेट खर्च गर्ने घोषणा गरेको थियो । तर आर्थिक वर्षको पहिलो तीन महिना बितिसक्दा पनि बजेट खर्च कसरी बढाउने भन्ने स्पष्ट कार्यदिशा सरकारले तयार पार्न सकेको छैन । हरेक महिना १० प्रतिशतका दरले कसरी बजेट खर्च गर्ने भनेर सबै विषयगत मन्त्रालयमार्फत अर्थ मन्त्रालयले कार्ययोजना माग गरेको थियो । तर धेरैजसो मन्त्रालयले यस्तो कार्ययोजना पेस गरेका छैनन् । सबै मन्त्रालयबाट कार्ययोजना आइनसकेको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । ‘बजेट खर्च बढाउने र सन्तुलित बजेट खर्च गर्ने भनेर मासिक १० प्रतिशत खर्च गर्ने कार्ययोजना मागिएकोमा त्यो आउन बाँकी छ,’ शाक्यले भने, ‘विषयगत मन्त्रालयहरूले बुझाएको कार्ययोजनाका आधारमा थप निर्णय लिन सक्छौं ।’

यही अवधिमा सरकारको राजस्व संकलन भने लक्ष्यभन्दा बढी देखिएको छ । असोज मसान्तसम्म २ खर्ब ७७ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको महालेखा नियन्त्रकको तथ्यांकले देखाउँछ । १२ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वार्षिक लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा २२ दशमलव ८९ प्रतिशत असुली भएको हो ।

लक्ष्यभन्दा बढी उठ्यो आन्तरिक राजस्व

चालु आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा आन्तरिक राजस्व लक्ष्यभन्दा बढी उठेको छ । आन्तरिक राजस्व विभागका अनुसार यो अवधिमा ९१ अर्ब ८४ करोड १६ लाख रुपैयाँ बराबर राजस्व संकलन लक्ष्य राखिएकोमा ९६ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बराबर असुली भएको हो । यो अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) मा बाहेक सबै राजस्व शीर्षकमा लक्ष्य भेटिएको विभागका प्रवक्ता अर्जुन ढकालले जानकारी दिए ।

तीन महिना अवधिमा ३० अर्ब ३६ करोड ७ लाख रुपैयाँ भ्याट उठाउने विभागको लक्ष्य रहेकोमा ८५ दशमलव २ प्रतिशत अर्थात् २६ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबर मात्रै असुली भएको देखिन्छ । तर आयकरतर्फ लक्ष्यभन्दा २८ प्रतिशत बढी र अन्त:शुल्कतर्फ ५९ प्रतिशत बढी राजस्व उठेको छ । आयकरतर्फ ३२ अर्ब २८ करोड लक्ष्य रहेकोमा ३८ अर्ब १२ करोड र अन्त:शुल्कतर्फ १८ अर्ब ७० करोड रुपैयाँ बराबर लक्ष्य रहेकोमा २२ अर्ब ९८ करोड राजस्व उठेको विभागले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७८ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?