कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दसैंमा बिक्री नभएपछि गाउँ फर्काइँदै खसीबोका

सरकार र व्यापारीले बिक्री गर्ने मूल्य उस्तै
राजु चौधरी

काठमाडौँ — गत वर्षको दसैंमा राम्रो मूल्य पाएका खसीबोका व्यवसायी यस वर्ष भने उत्साहित देखिएनन् । कोभिडको जोखिम कायमै रहेको र लाखौं सर्वसाधारण काठमाडौं उपत्यकाबाट जिल्ला फर्किएपछि खसीबोका बजारमा त्यति चहलपहल भएन । त्यसको प्रत्यक्ष असर बिक्रीमा पनि देखिएको काठमाडौं चौपाया खरिदबिक्री प्रालि र चौपाया व्यवसायी संघले बताएका छन् । 

दसैंमा बिक्री नभएपछि गाउँ फर्काइँदै खसीबोका

‘गत वर्ष कोभिड भए पनि फूलपातीको अघिल्लो दिनदेखि नै बिक्री राम्रो थियो । व्यवसायीले राम्रो मूल्य पाएका थिए,’ काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले भने, ‘कोभिडको जोखिम कायमै रहेकाले सबै क्षेत्रमा मन्दी आयो । त्यसको असर खसीबोकाको बिक्रीमा पनि देखियो ।’

यस वर्षको दसैंका लागि व्यवसायीले पर्याप्त खसीबोका भित्र्याए पनि बिक्री कम भएको उनीहरू बताउँछन् । गत वर्ष दसैंका लागि व्यवसायीले ५५ हजार खसीबोका काठमाडौं उपत्यका भित्र्याएका थिए । यस वर्ष भने ६५ हजार भित्र्याइएको व्यवसायीको भनाइ छ । उपत्यका भित्र्याएका उक्त खसीबोका बिक्री नहुँदा केही व्यवसायीले तिनलाई पुनः जिल्ला फर्काएका छन् ।

‘गत वर्ष खसीबोकाको मात्रा थोरै हुँदा बिक्री मूल्य किलोकै ७ सय ५० रुपैयाँसम्म पुगेको थियो,’ खड्काले भने, ‘अहिले किलोको ६ सय रुपैयाँसम्ममा बिक्री गर्नुपर्‍यो । बिक्री नभएपछि १५ सयभन्दा बढी खसीबोका पुनः गाउँ फर्काइएको छ ।’ ती खसीबोका गाईघाट, कटारी, सुर्खेतलगायत जिल्लाबाट भित्र्याइएको अध्यक्ष खड्काले जानकारी दिए । संघका अनुसार गाउँबाट खरिद गरेर बिक्री गर्न ल्याउनेले किलोको ६ सय ५० रुपैयाँमा बिक्री नगर्दा घाटा लाग्छ । एउटै खसीबोकामा १५ सयदेखि २ हजार रुपैयाँ घाटा हुँदा धेरै नोक्सान पर्ने भएपछि फिर्ता लगिएको उनले बताए ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि छुट दिएर बिक्री मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको थियो । उक्त मूल्य गत वर्षको तुलनामा प्रतिकिलो ९० रुपैयाँ बढी हो । कोभिडका कारण मजदुरहरूको आर्थिक अवस्था बिग्रिएकै कारण यस वर्ष खसीबोका अपेक्षाकृत रूपमा बिक्री नभएको चौपाया व्यवसायी संघ कलंकीका निवर्तमान अध्यक्ष दीपक थापाले बताए ।

‘करिब ९ लाख सर्वसाधारण गाउँ गए । दसैंअघि र पछिको व्यापार उस्तै छ । दसैंमा खासै व्यापार भएन,’ थापाले भने, ‘गत वर्ष ४५ देखि ५० हजार गोटा खसीबोका बिक्री भएकोमा यसपालि करिब २५ हजार मात्रै भयो ।’ यो विवरण फूलपातीको अघिल्लो दिनदेखि पाँच दिनसम्मको हो । व्यापारीहरूले समेत खरिद गरेको संख्या जोड्दा ४० देखि ४५ हजार मात्रै खसीबोका बिक्री भएको थापाले बताए । पाँच दिनको अवधिमा भारतबाट मात्रै २५ हजार खसीबोका आयात गरिएको थियो । यसमध्ये २० हजारको संख्यामा बिक्री भएको छ । व्यवसायीले स्वदेशी (लोकल खसीबोका) करिब १२ हजारदेखि २० हजारको संख्यामा भित्र्याएका थिए । यसमध्ये आधा मात्रै बिक्री भएको थापाको भनाइ छ । देशभित्र भने बाँके, बर्दिया, सल्यान, सुर्खेत, मन्थली, नुवाकोट, धादिङलगायत जिल्लाबाट व्यवसायीले खसीबोका ल्याएका थिए ।

खसीबोका मात्र होइन, आयातित च्यांग्रा पनि सोचेअनुसार बिक्री भएन । व्यवसायीले करिब ४५ सयको संख्यामा च्यांग्रा काठमाडौं ल्याएका थिए । त्यसमध्ये करिब ८० वटा बिक्री नभएको थापाले जानकारी दिए । ‘सुरुमा किलोको १३ सय रुपैयाँमा बिक्री भएको थियो । अहिले मूल्य घटेर करिब ८ सय रुपैयाँमा झरेको छ,’ थापाले भने ।

यता सरकारले बिक्री गर्ने सहुलियत पसलमा भने उत्साहजनक रूपमा खसीबोका बिक्री भएको बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब दुई हजार खसीबोका खरिदबिक्री गर्ने लक्ष्य राखेकामा त्यो पूरा भएको सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । ‘सप्तमीसम्म सबै बिक्री भयो । बजार नियन्त्रण गर्न हामी सफल भएका छौं,’ उनले भनिन् । खाद्यले दाङ, मकवानपुर र हेटौंडाबाट खसीबोका खरिद गरेको जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?