दोब्बरले बढ्यो च्यांग्राको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

दोब्बरले बढ्यो च्यांग्राको मूल्य

रासस

भक्तपुर — दसैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ । सोमबारदेखि खरिदका लागि ग्राहक आए पनि बुधबार बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ । 

जिल्लाका मात्रै नभई काठमाडौं र काभ्रेदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आए पछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा एक हजार २०० रुपैयाँमा बिक्री गरेका छन् । आजबाट भने अझै १०० रुपैयाँ मूल्य बढ्न सक्ने व्यापारी बताउँछन् । यो मूल्य गत वर्षको भन्दा दोब्बर मूल्य हो । यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७५० देखि ८०० रुपैयाँसम्ममा बिक्री गरेकोमा यस वर्ष भने सुरुको मूल्य नै एक हजार २०० रुपैयाँ राखेका छन् ।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठ गत वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताए । सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, 'चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा ४० हजार रुपैयाँ तिर्न परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो ।' च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको जनाउँदै उनले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको उनको भनाइ छ ।

अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो १२ रुपैयाँ सयसम्ममा बिक्री गरेको जनाउँदै मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको बताउँछन् । उनले सानो च्याङ्ग्रा प्रतिगोटा ३६ हजार र ठूलो च्याङ्ग्रा ४० रुपैयाँ हजारमा व्यापारीले खरिद गरेर ल्याएको बताउँछन् । च्याङ्ग्रा तयारी मासुको मूल्य भने २ हजार ६०० रुपैयाँ छ । सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु २ हजार ६०० रुपैयाँमा बिक्री गरेको बताउँदै व्यापारी सुमन शाहीले गत वर्ष तयारी‍मा सुरु १ हजार ७०० मा बिक्री गरे पनि यस वर्ष किलोमै १ हजार १०० बढी मूल्यमा बिक्री गर्नुपरेको बताउँछन् । भेडा बिक्री हुन छाडे पछि यस वर्ष व्यापारीले काठमाडौं उपत्यकामै करिब ५० वटा मात्रै ल्याएको र भक्तपुरमा ७ वटामात्रै भेडा ल्याएको जानकारी दिए । भेडा पनि मुस्ताङमै प्रतिगोटा ३५ हजार रुपैयाँ परेको भन्दै व्यापारीले यहाँ भने प्रतिकिलो १ हजार १०० रुपैयाँमा बिक्री मूल्य राखेको जानकारी दिए ।

च्याङ्ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा २५ हजार रुपैयाँ कर तिरेको र सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई २५ हजार रुपैयाँ कर तिरेको बताए । भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो छ । च्याङ्ग्रा व्यवसायी राजाराम श्रेष्ठले भक्तपुर नगरपालिकाले एउटा गोठबाट २५ हजार रुपैयाँ भाडा लिए पनि शौचालयसम्म नदिएको गुनासो गरे ।

नगरपालिकाले व्यापारीलाई बत्तीसमेत नदिएको गुनासो गरेका छन् । शुल्क लिएपछि अस्थायी विद्युत्‌को व्यवस्थासमेत नगरेको भन्दै व्यापारीले कतिपय अध्याँरोमा टुकी बालेर बस्नुपरेको त कतिपयले इमरजेन्सी लाइट ल्याएर बालेर बस्नुपरेको गुनासो गरेका छन् । नगरपालिकाले तयारी मासु बिक्री गर्ने प्रत्येक व्यापारीसँग रु १० हजारका दरले भाडा लिएको छ । चौरमा १४ वटा तयारी मासु बिक्री गर्ने अस्थायी मासु पसल छन् । मासु व्यापारी कुर्णबहादुर शाहीले नगरपालिकाले एउटा पसलबाट १० हजार रुपैयाँ भाडा लिएको बताउँदै शौचालय र बत्तीसमेतको व्यवस्था नगरपालिकाले नगर्दा महिलालाई समेत निकै समस्या परेको गुनासो गर्छन् ।

सल्लाघारीमा खसी प्रतिकिलो ६५७ देखि ७५० रुपैयाँसम्ममा बिक्री भएको छ । खसी व्यापारी सिन्धुपाल्चोकका मंगल श्रेष्ठले खसीको जात र ठाउँअनुसार मूल्य फरक परेको बताए । यहाँ २२ किलोदेखि ९० किलोसम्मका खसी आफूले बिक्री गरेको जनाउँदै सरकारले निर्धारण गरेको रु ६५० मा सबै जातका खसी बिक्री गर्न नसकिएको बताउनुहुन्छ । भक्तपुरको हनुमानघाट र ठिमीको कमेरोटारमा राँगो बिक्री भइरहेको छ । त्यस्तै भेलुखेल, च्यामासिंहलगायतका ठाउँमा बोका र खसी बिक्री भइरहेको छ । हनुमानघाट र कमेरोटारमा रु एक हजार भन्दा बढी राँगा बिक्रीका लागि राखिएका छन् । रामेछाप, पश्चिमका तराई जिल्लाबाट र भारतबाट ल्याएको राँगा प्रतिराँगा रु २५ हजारदेखि ८५ हजारसम्ममा बिक्री भएको व्यापारीले बताउँछन् ।

भक्तपुरका नेवार समुदायले दसैंमा फूलपातीका दिन विभिन्न टोलका गुठीबाट राँगो काट्ने र घर–घरमा मासु भित्र्याउने परम्परा रहेको छ भने नवमीसम्म नै विभिन्न गुठी समूहले टोलटोलमा राँगा बलि दिने परम्परा छ ।

प्रकाशित : आश्विन २७, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

शरणार्थी बा–आमाहरू एक्लाएक्लै

शरणार्थी शिविरमा अलपत्रै छाडिएकाहरुको गुनासो छ– ‘चाडबाड सम्झेर न छोराछोरी आउँछन्, न हामीलाई बोलाउँछन् । फोनसमेत गर्दैनन् ।’
देवेन्द्र भट्टराई

पथरी, मोरङ — तेस्रो मुलुक जान नपाएका वा नलगिएका भुटानी शरणार्थीको रहलपहल हूलमा ८० वर्षे पुण्यलाल अधिकारी पनि भेटिए– पथरी, शनिश्चरेको शरणार्थी शिविरमा । आफ्नो टहरोमा छिर्ने कल्भर्टमाथि बसेर बाँसको चोया काडिरहेका पुण्यलाल अमेरिका–क्यानडामा रहेका आफ्ना सन्तानबारेमा त्यति धेरै कुरा भन्न चाहिरहेकै थिएनन् ।

‘हामी यता टहरोमा बूढाबूढी मात्रै छौं,’ शरणार्थी शिविरको दैनिकी सुनाउँदै उनले भने, ‘यस्तै बसिबियाँलो गर्छौं, अन्नपात जुटाएर जीवन निर्वाह गर्छौं ।’ पुण्यलालका दुई छोरा अमेरिका र एक छोराको परिवार क्यानडा पुगेको धेरै वर्ष भएको रहेछ । मुटुको रोग, दमको समस्या भएकाले रोगीकित्तामा परेरै उनी भने तेस्रो देशमा जान नपाएका रहेछन् ।

सन् ९० दशकको सुरुवातमै भुटानबाट शरणार्थी बनेर आएका पुण्यलाल अझै पनि त्यही बेला भुटान छँदै दसैं–तिहारजस्ता चाडबाड खुलेर मनाएको मात्रै स्मरण गरिरहेका छन् । स–साना छोराछोरी हुर्काउँदा–बढाउँदाको संघर्षका माझ चाडबाडले दिने आनन्द उनले भुल्न सकेकै छैनन् । ‘अहिलेको के कुरा गर्नु नानी ?,’ उनले सुस्केराको भाकामा सुनाए, ‘चाडबाड सम्झेर न छोराछोरी आउँछन्, न हामीलाई बोलाउँछन् । कतिसम्म भने फोनसमेत गर्दैनन् । ‘यो जीवनमा ५ बजेको छ नानी, घाम डुब्नै लागेको छ । खोइ, सन्तानसँग अब के भेट होला र ?’


पथरीकै सीटु/२२ टहरोमा अर्की शरणार्थी लछिमाया खालिङ भेटिइन् जो आफ्ना सबै सन्तानको निधन भएपछि शिविरमै कुरुवाझैं बसिरहेकी छन् । उनका मामा–माइजू र आफन्तहरू अस्ट्रेलियामा भए पनि आफ्नो कहींकतै जाने वा कोही फर्केर आउने सम्भावना नरहेको उनले सुनाइन् । शिविरको बीटु/१५ टहरोमा शारीरिक रूपमा अशक्त आमा डोल्मा र बाबु विकास तामाङलाई दबाइपानी गर्दै बसिरहेका थिए, १९ वर्षे छोरा प्रितम । ‘हामीलाई विदेश जानु पनि मुस्किल छ, यही जीवन धान्न पनि निकै मुस्किल भएको छ,’ प्रितमले सुनाए, ‘कुनै चाडबाड कहिले आउँछ वा जान्छ पनि पत्तो हुन्न, आजको दिन कसरी बिताउने होला भन्ने मात्रै हुन्छ ।’ बाथ रोगका कारण हिँडडुलमै अशक्त बनेका बाबु र उच्च रक्तचापका कारण कुँजिएर बसेकी आमालाई रेखदेख गरेर प्रितमसहित २ छोरी प्रिती र प्रितिका पनि शिविरमै बसिरहेका छन् ।

सन् २०१६ बाट शरणार्थी पुनर्बसोबासको कार्यक्रम स्थगित भएपछि र गत जनवरीबाट शरणार्थीका लागि खाद्यान्न, स्वास्थ्य उपचार, शिक्षा तथा अन्य राहत पनि आउन छाडेपछिको बिजोग स्थितिमाझ शिविरभित्र एक्लिएर बसेका बूढाबूढीको हालत अझ हेरिनसक्नु देखिन्छ । पुनर्बसोबासमा लैजाने मुलुकले पनि शारीरिक रूपमा अशक्त, एकल वा बुढ्यौली उमेरका शरणार्थीलाई अलपत्रै शिविरमा छाडेको स्थिति अझ कहालीलाग्दो देखिन्छ ।


पथरीकै सी/२५४ टहरोमा बस्ने ७५ वर्षीय दिलबहादुर तामाङ मानसिक समस्याले ग्रस्त भएको धेरै भइसक्यो । आफ्ना दाइलाई रेखदेख गरेर बसिरहेका भाइ कर्णबहादुरसहित सपरिवार अमेरिका जाने प्रक्रियामा लागिसकेका थिए । तीमध्ये २ छोराछोरी अमेरिका पुगिसके, यता ४ जना अड्किएका छन् । ‘खासमा दाइको एक जना छोरा भुटानमै बेपत्ता भएपछि उहाँ मानसिक रूपमा बिराम पर्न थाल्नुभएको थियो, यता नेपाल आएपछि झनै चापेको हो,’ दिलबहादुर भन्छन्, ‘यो शिविरमा बसेर चाडपर्व, रमाइलो मान्ने अवस्थै रहेन । रात त बित्यो, दिन कसरी बिताउने भन्ने भइरहन्छ ।’

यता दमक, बेलडाँगी शिविरमा पनि बांगे चौतारीको छेवैमा दिनभर कुर्सी राखेर बसिरहेका छन्– ८४ वर्षीय पूर्णबहादुर गुरुङ । ३० वर्षअघि भुटान गेलेफुबाट लखेटिएर आएका गुरुङका छोराछोरी अमेरिका पुगिसके, उनी एक्लै भने आफ्नो उमेर र कुनै दिन गेलेफु नै फर्कने सपना देखेरै शिविरमा अड्किएका छन् । एक जना ज्वाइँको भरथेगमा शिविरमा बसिरहेका उनलाई यो दसैंमा भने आफ्ना छोराछोरीले अमेरिकाबाट आउने भनेकोमा खुसीको मुद्रामा चुरोट पिइरहेका थिए । तेस्रो देशमा शरणार्थी पुनर्बसोबासको अभियान अघि बढेसँगै सामाजिक र पारिवारिक रूपमा एकल बन्दै गएका तथा विशेषतः बुढेसकालको शरणार्थी जीवन बिताइरहेका बाआमाका लागि पथरी शिविरमा ‘डे केयर सेन्टर’ पनि सञ्चालन गरिएको छ । पुनर्बसोबासमा परेर अमेरिका पुगेका शरणार्थी समुदायले खोलेको ‘इन्टरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को समन्वयमा सुरु भएको डे केयर सेन्टरमा अहिले झन्डै १ सय जना बुढ्यौली उमेरका वा एकल शरणार्थीहरू दिन बिताउने मेलो गरिरहेका भेटिन्छन् । ‘हामीले यहाँ सानो पुस्तकालय पनि राखेका छौं, चियानास्ता पनि ख्वाउँछौं,’ फाउन्डेसनका नेपाल संयोजक राम बानियाँ भन्छन्, ‘डे केयरमा बनाइएको हलमा मादल, चेस, टेलिभिजन राखिदिएका छौं । कहिलेकाहीँ अरू गतिविधि, प्रवचन आदि पनि हुन्छ ।’


यही संस्थाले दमकको बेलडाँगीस्थित शिविरमा पनि यस्तै हलसहितको डे केयर सेन्टर सञ्चालनमा ल्याउनै लागेको रहेछ । ‘हामीले ८० वर्षमाथिका शरणार्थी बुबाआमालाई मासिक ५ हजार रुपैयाँको पकेट खर्च पनि दिने गरेका छौं,’ फाउन्डेसनका सचिव सुरेन्द्र शेर्माले भने, ‘अहिले पनि बेलडाँगी शिविरका ९० र पथरीका २७ जना बुबाआमाले मासिक भत्ता पाइरहनुभएको छ ।’

संयोजक बानियाँका अनुसार दसैंतिहारजस्ता चाडबाडमा पनि शिविरमा रहेका एकल वा बुढ्यौली उमेरका बाआमाका लागि न्यास्रो मेटाउने प्रकारका सांस्कृतिक कार्यक्रम राख्ने योजना रहेको सुनाए । पछिल्लो समयमा भने कोरोना संक्रमणका कारण डे केयर सेन्टरमा भीड गर्न नदिइएको उनले सुनाए । यसरी एक्लिने वा बुढ्यौली बेहोर्ने बाआमाहरू दमक र पथरी गरेर १ हजारजतिको संख्यामा रहेको बानियाँले जानकारी दिए । दुई शिविरमा गरेर अहिले पनि ६ हजार ५ सयभन्दा बढी शरणार्थी भुटान घरफिर्ती वा पुनर्बसोबासमा तेस्रो देश जान पाइने आशा गरेर बसिरहेकै छन् ।

प्रकाशित : आश्विन २७, २०७८ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×