कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माग कम भएपछि खसीबोकाको मूल्य किलोमै २० रुपैयाँ घट्यो

- च्याङ्ग्राको मूल्य अति महँगो  
- कलंकी बजारमा ५० प्रतिशत भारतकै खसीबोका  
राजु चौधरी

काठमाडौँ — खसी बजारमा सर्वसाधारणको चहलपहल कम भएपछि व्यवसायीले खसीबोकाको मूल्य किलोमा २० रुपैयाँ घटाएका छन् । 

स्वदेशी उत्पादनसँगै भारतबाट समेत पर्याप्त मात्रामा खसीबोका आयात भएपछि चौपाया व्यवसायी संघ कलंकीले मगलबार किलोमा २० रुपैयाँ घटाएको जनाएको छ ।

माग कम भएपछि खसीबोकाको मूल्य किलोमै २० रुपैयाँ घट्यो

‘भारतबाट सोमबार राति ५/७ ट्रक खसीबोका भित्रियो । स्वदेशकै विभिन्न जिल्लाबाट पनि ३/४ गाडी आए, थप आउने क्रम जारी नै छ,’ संघका निवर्तमान अध्यक्ष दीपक थापाले भने, ‘पर्याप्त उपलब्धतासँगै खसीबोकाको मूल्य २० रुपैयाँ घटेको छ ।’ खसीबोका फूलपातीदेखि नवमीसम्म बिक्री हुने हुँदा व्यवसायीहरूले थप मगाइरहेका छन् । उपत्यका भित्रिने क्रम अझै जारी नै छ । जसले गर्दा मूल्य घटेको संघले जनाएको छ ।

संघका अनुसार सोमबारसम्म कलंकी बजारमा स्वदेशी खसीबोका प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । मंगलबार प्रतिकिलो ६ सय ५० रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भएको छ । भारतीय खसीबोका प्रतिकिलो ७ सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । मंगलबार भने प्रतिकिलो ६ सय ८० रुपैयाँदेखि ७ सय रुपैयाँसम्ममा बिक्री भएको जनाएको छ । ‘यस्तै अवस्था रहिरहे मूल्य अझै घट्छ,’ थापाले भने ।

अहिले बजारमा स्वदेशी ५० र भारतीय ५० प्रतिशत खसीबोका कारोबार भइरहेको छ । ‘भारतीय खसीबोका लखनऊ, मध्यप्रदेश, कलकत्ता, दिल्लीलगायत क्षेत्रबाट आयात भएको छ । स्वदेशी खसीबोकाको हकमा बाँके, बर्दिया, सल्यान, सुर्केत, मन्थली, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खरिद भएको छ,’ थापाले भने ।

दसैंका लागि खसीबोका मुख्यतः फूलपाती, अष्टमी र नवमीमा बिक्री हुन्छ । गत वर्ष दसैंमा मात्रै ४५ देखि ५० हजार खसीबोका बिक्री भएको थियो । उक्त खसीबोका प्रतिकिलो ६ सय ६० देखि ६ सय ७० रुपैयाँमा बिक्री भएको थियो । माग बढ्दै गर्दा किलोको ८ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले भने दसैंमै मूल्य घटाएका हुन् ।

च्याङ्ग्रा महँगो

च्याङ्ग्राको हकमा भने अचाक्ली महँगो भएको छ । चीनबाट च्याङ्ग्रा आयात नहुँदा बिचौलियले मूल्य अति नै बढाएका छन् । व्यवसायीका अनुसार किसान र उपभोक्तासम्म आइपुग्दा तीन तह पार गर्नुपर्छ । जसले गर्दा मूल्य बढेको हो । चीनबाट आयात नहुँदा एउटै च्याङ्ग्राको मूल्य ३८ हजारदेखि ४० हजार रुपैयाँ परेको संघले जनाएको छ । महँगोकै कारण यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा आयात गरेन । खाद्यले दसैंका लागि एक हजार च्याङ्ग्रा आयात गर्ने जनाए पनि खरिद गर्न सकेन ।

सहुलियतका खसी सकिन लागे

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साढे १९ सय खसीबोका बिक्री गरेको छ । हस्तक्षेप गर्न भन्दै सहुलियतमा बिक्री सुरु गरेको खाद्यले तीन दिनमा १९ सय ४९ खसीबोका बिक्री गरेको हो । ‘यस वर्ष २ हजार खसीबोका खरिद र बिक्री गर्ने लक्ष्य राखेको थियो । मंगलबार १ बजेसम्म १९ सय ४९ खसीबोका बिक्री भइसकेको छ,’ कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भनिन्, ‘अब ४० वटा मात्रै बाँकी छन् । मंगलबार बेलुकी नभए बुधबार बिहानसम्म सबै सकिन्छ ।’ खाद्यले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ ।

खाद्यले खसीबोका दाङ, मकवानपुर, हेटौंडाबाट खरिद गरेको जनाएको छ । उक्त क्षेत्रमा २५ किलोदेखि माथिका खसीको मूल्य प्रतिकिलो ५ सय ६५ रुपैयाँ, २० देखि २५ किलोको खसीको मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँ र बोका प्रतिकिलो ५ सय ४५ रुपैयाँमा खरिद गरेको थियो । खसीबोका खरिद गर्नका लागि जिल्ला प्राथमिक खरिद समिति हुन्छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् । समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा सरकारले खरिद गर्छ । उक्त खसीबोकामा प्रतिकिलो ९० रुपैयाँ जोडेर बिक्री मूल्य निर्धारण गरेको हो ।

सूचना अधिकारी न्यौपानेका अनुसार गत वर्ष २ हजार खरिद गर्ने लक्ष्य राखे पनि १५ सय १० वटामात्रै बिक्री भएको थियो । यस वर्ष भने खरिद र बिक्री राम्रो भएको उनले बताइन् । ‘बजार हस्तक्षेप गर्न खोजेका थियौं । लक्ष्य पूरा भएको छ,’ उनले भनिन्, ‘लक्ष्यअनुसार खरिद र बिक्री भएको छ । बजारभाउ पनि आकासिएको छैन ।’

प्रकाशित : आश्विन २७, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?