२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कस्ता खसीबोका स्वस्थकर ?

विभाग भन्छ– ‘चिकित्सकहरुले स्वस्थ चौपायालाई हरियो र अस्वस्थलाई रातो स्टिकर लगाइदिएका छन् । उपभोक्ताले यही आधारमा रोज्दा हुन्छ ।’
राजु चौधरी

काठमाडौँ — दसैंलाई लक्षित गर्दै व्यवसायीहरूले विभिन्न जिल्लाबाट खसीबोका उपत्यका भित्र्याउँछन् । अन्य समयको भन्दा धेरै माग हुने भएकाले भारतबाट समेत आयात गर्छन् । ती खसीबोकाहरू कत्तिको स्वस्थकर हुन्छन् त ? जानकारहरूका अनुसार माग पूर्ति गर्नका लागि अस्वस्थ खसीबोका पनि बिक्रीमा राखिएको हुन्छ । ती खसीबोका पहिचान गर्न पशु सेवा विभागले बढी चौपाया बिक्री हुने स्थानमा ४५ जनाभन्दा बढी पशु चिकित्सक खटाएको जनाएको छ ।

कस्ता खसीबोका स्वस्थकर ?

‘तीन तहका सरकारको समन्वयमा चौपाया बिक्री हुने उपत्यकाका मुख्य स्थानहरू कलंकी, टुकुचा, सल्लाघारी, चन्नाखेल, बालाजु, बाइसधारालगायत ८ स्थानमा पुश चिकित्सक खटाएका छौं,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘बुधबारसम्म बढी चाप हुन्छ । त्यही भएर सबैभन्दा बढी बिक्री हुने कलंकी खसी बजारमा मात्रै १० जनाभन्दा बढी चिकित्सकको टोली खटाएका छौं ।’ उनका अनुसार चौपाया खरिद गर्दा स्टिकरको रङ हेरेर मात्रै खरिद गर्नुपर्छ । स्वस्थ खसीबोकामा हरियो र रोगीको हकमा रातो रङको स्टिकर लगाइएको हुन्छ । ‘अनुगमनमा खटिएका चिकित्सकहरूले स्वस्थ खसीबोका, च्यांग्रा र राँगाको हकमा हरियो र अस्वस्थको हकमा रातो रङको स्टिकर लगाइदिएका छन्,’ उनले भने, ‘सर्वसाधरणले यही आधारमा चौपाया रोज्दा उत्तम हुन्छ ।’

विभागको तथ्यांकअनुसार बाख्रा, पाठा/पाठी, खसीबोकासहित मुलुकभर वार्षिक १ करोड ४० लाखवटा उत्पादन हुन्छ । जसमध्ये खसीबोकाको संख्या मात्रै ५४ लाख हुन्छ । समग्रमा दैनिक १ हजारदेखि १२ सयवटासम्म बिक्री हुन्छ । दसैंमा थप ५०–५५ हजारवटासम्म चाहिन्छ । हाल दाङ, सुर्खेत, सल्यान, सर्लाही, चितवन, धादिङ, काभ्रेलगायत जिल्लाबाट काठमाडौं उपत्यका र प्रमुख सहरहरूमा खसीबोका भित्रिने गर्छ । चाडबाडमा खसीबोकाको माग अत्यधिक हुँदा माग धान्न व्यवसायीहरूले भारतका विभिन्न स्थानबाट समेत आयात गर्ने गर्छन् ।

चौपया व्यवसायी संघ कलंकीका अनुसार खसी बजारमा स्वदेशी उत्पादनले ६० प्रतिशत र भारतबाट आयातितले ४० प्रतिशतसम्म माग धान्छ । चाडबाडबाहेकको समयमा स्वदेशी उत्पादनको हिस्सा ४० प्रतिशत रहन्छ । ‘स्वदेशी उत्पादन अपुग भएपछि आयातमै भर पर्नुपर्छ, चाडबाडका लागि भारतमै निर्भर छौं,’ संघका निर्वतमान अध्यक्ष दीपक थापाले भने । चाडबाडमा धेरै बिक्री हुने भएकाले यही मौकामा अस्वस्थ खसीबोकासमेत आयात भएको पाइएको छ । कतिपय खसीबोका ढुवानी गर्ने क्रममा बिरामी हुने थापाले बताए ।

विभागका सूचना अधिकारी ढकालका अनुसार चालु आर्थिक वर्षमा १२ हजारवटासम्म खसीबोका भारतबाट आयात भएको छ । आयातितसँगै स्वदेशमै उत्पादन भएका खसीबोका पनि काठमाडौंसम्म ल्याइपुर्‍याउँदा अस्वस्थ हुने अवस्था रहन्छ । अस्वस्थ खसीबोकामा श्वासप्रश्वास बढ्ने, नाक, मुख र आँखाबाट र्‍याल, सिँगान आउने लक्षण देखिन्छ । टाउको आकाशतिर उचालेर फनफनी घुम्ने, कराउने र लड्नेजस्ता लक्षण देखिएका खसीबोका पनि अस्वस्थ हुन् । ‘ती खसीबोकाको हकमा रातो रङ लगाएर आइसोलेसनमा राखिन्छ । केही समय होल्ड गरेर पुनः परीक्षणमा स्वस्थ देखिए मासु प्रयोजनमा पठाइन्छ,’ उनले भने ।

नेपाल भेटेरेनरी एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठले पनि पशु चिकित्सकले नहेरेको ठाउँमा खसीबोका किन्दा सर्वसाधरण आफैं सचेत हुनुपर्ने बताउँछन् । ‘झोक्राएको छ–छैन, शरीर तातो छ/छैन पहिचान गर्नुपर्छ । रोगी खसीबोका जिङरिङ्ग परेका हुन्छन् । त्यस प्रकारको छनोट गर्नु हुँदैन,’ उनले भने, ‘गिँजा र खुट्टाको खुरमा घाउ आएको, घाँस नखाने, सुस्त लक्षण देखिने खसीबोका पनि मासुका लागि योग्य हुँदैन ।’

पशु चिकित्सकको टोलीले मुख्य संकलन केन्द्रदेखि सडकमा राखेर बिक्री गर्दासम्म परीक्षण गर्ने विभागले जनाएको छ । यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गरिरहेको थापाथली गोदाममा पनि निरीक्षण र परीक्षण भइरहेको ढकालले बताए । खाद्य कम्पनीले असोज २३ देखि दसैंलक्षित खसीबोका बिक्री गरिरहेको छ । विभागका अनुसार परीक्षणको क्रममा धेरैजसो खसीबोका स्वस्थ पाइएको छ ।

उपत्यकाका विभिन्न पशुपन्छी बजारमा गत असोज २१ (घटस्थापना) देखि २५ सम्म २८ हजार ५ सय ९ वटा चौपायाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ३ वटा मरेका, २५ वटा बिरामी र ८ वटाको उपचार भइरहेको छ । ‘सबैभन्दा धेरै खसी (२३ हजार ६ सय ६८ वटा) को परीक्षण भएको छ । यसबाहेक बोका १ हजार ९ सय ९६, बाख्रा १ सय ५०, भेडा १ सय ६३, च्यांग्रा २ हजार १ सय ४, राँगा/भैंसी २ सय ६४, बंगुर/सुँगुर ४, कुखुरा ५० र हाँस १ सय १० वटाको परीक्षण गरिएको छ,’ उनले भने, ‘अधिकांश चौपाया स्वस्थ पाइएको छ ।’

प्रकाशित : आश्विन २६, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?