एक सय रूपैयाँले घट्यो सुनको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक सय रूपैयाँले घट्यो सुनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको थियो ।

काठमाडौंको न्युरोडस्थित ज्वेलरीमा गहना मिलाउँदै कामदार । तस्बिर : किरण पाण्डे/कान्तिपुर

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १५० रूपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ९० हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य आइतबारको तुलनामा पाँच रूपैयाँले बढेको छ । चाँदी आइतबार प्रतितोला एक हजार १७५ रूपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोला एक हजार १८० मा कारोबार भएको छ ।

प्रकाशित : आश्विन २५, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्

चोयामा सीप देखाउँदै, आम्दानी गर्दै

अगन्धर तिवारी

पर्वत — अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ बाट ४ वर्षअघि कुमारबहादुर विक कामको खोजीमा घर छोडे । गाउँमा रहँदा घरायासी सीप सिकेका थिए । तर कतै काम लागेन । अरू सीप थिएन । डोको, डालो, भकारी, नाम्लो बुन्ने सीप काम नलागेपछि उनलाई अर्काको निम्नस्तरको काम गर्न मनले मानेन ।

उनै विक अहिले पर्वतमा उद्यमी बनेका छन् । कुनै बेला कामको खोजीमा देश चाहार्दा भनेजस्तो काम नपाएका विकसहित अर्घाखाँचीकै अरू आधा दर्जन युवाले पर्वतमा आफ्नो सीपको भरपुर सदुपयोग गरेका छन् । गाउँघरमा अन्नपात राख्न नभई नहुने डालो, भकारी, कोठी, थुन्से, डोको, नाम्लोलगायत सामग्री उत्पादन गरेर ४ वर्षदेखि आफ्नो सीप बेचिरहेका छन् ।

पर्वतका वनपाखामा प्रशस्तै बाँस पाइने भएकाले त्यसकै चोयाबाट उनीहरूले यस्ता सामग्री उत्पादन गर्दै आएका हुन् । कात्तिकदेखि पुससम्म किसानले धान र कोदो थन्क्याउने भएकोले यो सिजनमा भकारी, थुन्से र डाला–नाङ्लाको माग बढी हुन्छ । आफ्नै हातले तयार पारेका भकारी प्रतिगोटा एक हजारदेखि २८ सय रुपैयाँसम्ममा बिक्री गरेको कुमारसँगै भकारी बुन्दै गरेका झपेन्द्र बिकले बताए । भदौको अन्तिम सातादेखि विभिन्न गाउँमा पुगेर बाँस संकलन गर्ने उनीहरूले असोज र कात्तिकभर यस्ता सामान बनाउँछन् । मंसिर लागेसँगै पर्वत र बागलुङका विभिन्न गाउँमा डुलाएर बिक्री गर्ने झपेन्द्रले बताए ।

‘सिजनमा अरू थुप्रैलाई रोजगारी दिएको छु,’ उनले भने, ‘अरू बेलाको बाँसको चोया काम लाग्दैन । धुलिया लाग्छ । यही सिजनमा काटेर चोया काढ्नुपर्छ । बुन्ने र बेच्ने सिजन पनि यही हो ।’ पुसपछि खासै बिक्री नहुने भएकोले उनले गाउँमा यस्तै सीप भएका युवालाई यो सिजनमा यहीं बोलाउँछन् । मंसिरसम्म काम गरेपछि युवा खेती थन्क्याउन गाउँमै फर्किन्छन् । फागुनपछि असारसम्म यहि कामका लागि गाउँबाट युवा आउँछन् । भदौदेखि कात्तिक र फागुनदेखि असारसम्म गाउँमा खेतीपातीको काम नहुने भए पनि सीप भएका युवाले डोका, डालो, भकारी बुनेरै मासिक १८ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । यो सिजनमा काटेको बाँस र काढेका चोया पानीमा भिजाएर फागुनसम्म डोका, डाला, भकारी, थुन्से बुन्न मिल्ने उनले बताए ।

स्थानीय सीता पौडेलका अनुसार उनीहरूले उत्पादन गरेका सामग्री खरिद गर्न कुश्मा, पोखरा, बागलुङका विभिन्न गाउँबाट समेत व्यवसायी र उपभोक्ता आउँछन् । ‘धेरैजसो त उहाँहरूले बाहिरै लगेर बेच्नुहुन्छ,’ उनले भनिन्, ‘कतिपयले यहिं आएर किन्छन् ।’ उनीहरूले यहाँ उत्पादन गरेका सामाग्री टिकाउ र आकर्षक हुने भएकोले धेरैको आकर्षण हुने गरेको उनले बताइन् । स्थानीय चित्रसागर श्रेष्ठले झपेन्द्र सहितका युवाले यहाँ घरेलु सामाग्री उत्पादन गर्न थालेपछि गाउँबाट आधुनिक र प्लास्टिकको उत्पादनका सामग्री विस्थापित भएको बताए ।

मोदी गाउँपालिका–६ दोबिल्लामा यस्तो व्यवसायमा संलग्न कुमारसहित ६ युवाले उपभोक्ताबाट प्रोत्साहन पाए पनि स्थानीय निकायले बेवास्ता गरेको गुनासो गरे । स्थानीय निकायबाट पाइने सुविधा, सहुलियत फरक जिल्लाबासी भएकै कारणले नपाउँदा दुःख लागेको सुनाए । ‘हामी विदेशबाट आएका होइनौं,’ कुमारले भने, ‘यहाँ बिदेशबाट भिसा लगाएरै आएको हो कि जस्तो व्यवहार भएको छ ।’ केहि महिनाअघि गाउँपालिकामा कोभिड विरुद्धको खोप लगाउन जाँदा आफू जन्मेकै गाउँ जानु भन्ने जवाफ पाएपछि निराश हुँदै फर्किनु परेको नमिठो अनुभूति कुमारले सुनाए । ‘अरू सहुलियत र अनुदानको हामीलाई कुनै आस छैन । पाखुरा बजारेर खान पाए हुन्छ,’ झपेन्द्रले भने ।

प्रकाशित : आश्विन २५, २०७८ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×