२ महिनामा सेयर बजारबाट साढे ६ अर्ब कर- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ महिनामा सेयर बजारबाट साढे ६ अर्ब कर

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सेयर बजारका लगानीकर्ताले करिब साढे ६ अर्ब रुपैयाँ कर बुझाएका छन् । यो गत साउन र भदौमा सेयर बजारबाट पुँजीगत लाभकर (सीजीटी) र अग्रिम कर कट्टी (टीडीएस) मार्फत सरकारलाई प्राप्त भएको कर हो । जसमध्ये साउनमा करिब ३ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ र भदौमा २ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ गरी कुल ६ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ कर संकलन भएको नेप्सेले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यो आँकडा ५ अर्ब ६० करोडले बढी हो । गत आवको यही अवधिमा सेयर बजारबाट करिब ७१ करोड ४९ लाख रुपैयाँ कर संकलन भएको थियो ।

चालु आवको बजेट वक्तव्यमार्फत सरकारले एक वर्षभन्दा बढी र कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्ताका लागि फरक करको दर तोकेको छ । जसअनुसार एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ५ प्रतिशत र कम अवधिमा बिक्री गर्नेले नाफाको साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । गत आवसम्म सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत मात्रै रकम पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर र सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले कर तिर्नु नपर्ने हालको व्यवस्था पुरानै हो । नेपालको कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ ।

गत साउन र भदौमा उच्च दरले सेयर बजार नबढे पनि कारोबार रकममा धेरै कमी नभएकाले कर संकलन बढेको नेप्सेले जनाएको छ । गत आवमा लगानीकर्ताले करिब १४ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए । सोही अवधिमा अग्रिम कर कट्टीबापत १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ कर संकलन भएको थियो । कुल १५ अर्ब ५४ करोड रुपैयाँ कर संकलन भएकोका यो आँकडा पछिल्लो करिब ३ दशकको पुँजी बजारमा सेयरबाट संकलन भएको हालसम्मकै उच्च कर हो ।

अघिल्लो आवको तुलनामा गत आवमा सेयर बजारमार्फतको कर संकलन १३ गुणाले बढेको थियो । अघिल्लो आवमा सेयर बजारबाट १ अर्ब १७ करोड रुपैयाँ मात्र कर संकलन भएको थियो ।

अघिल्ला वर्षहरूमा बजारमा सामान्य वृद्धि मात्र भएकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । गत आवमा बजार निरन्तर बढिरहेकाले करबापतको रकम पनि बढेको हो । आव २०७२/७३ मा सेयर बजारबाट १ अर्ब ७७ करोड रुपैयाँ कर संकलन भएको थियो । त्यतिबेला नेप्से परिसूचक १ हजार ७ सय बिन्दु हाराहारीमा थियो । आव २०७३/७४ मा यस्तो कर १ अर्ब ८१ करोड रुपैयाँ पुग्यो । नेप्से परिसूचक भने केही घटेर १ हजार ५ सय ८२ बिन्दुमा पुगेको थियो ।

यसैगरी, चालु आवको करिब ३ महिनामा सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य २ खर्ब ८३ अर्ब रुपैयाँले घटेको छ । उक्त अवधिमा अधिकांश दिन नेप्से घटेको थियो । यही कारण सेयर बजारको आकार (कुल बजार पुँजीकरण) खुम्चिएपछि लगानीकर्ताको सम्पत्ति पनि घटेको हो । सेयर बजारमा सूचीकृत कुल सेयर संख्यालाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । कम्पनीहरूको सेयर मूल्य धेरै हुँदा बजार पुँजीकरण पनि धेरै हुन्छ भने कम हुँदा पुँजीकरण पनि कम हुन्छ । बजार पुँजीकरण धेरै हुँदा लगानीकर्ताको सम्पत्तिको मूल्य बढ्छ भने पुँजीकरण कम हुँदा घट्छ ।

आइतबारसम्म ३७ खर्ब २७ अर्ब रुपैयाँ कुल बजार पुँजीकरण कायम भएको छ । गत असारको तुलनामा आइतबारसम्मको बजार पुँजीकरण २ खर्ब ८३ अर्ब रुपैयाँले कम हो । गत असार मसान्तमा यस्तो पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ थियो । गत भदौ पहिलो साता

कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब पुगिसकेको थियो । यो हालसम्मकै उच्च हो । यही उच्च तहसँग तुलना गर्दा आइतबारसम्म लगानीकर्ताको सम्पत्तिको मूल्य करिब साढे ७ खर्बभन्दा धेरैले घटिसकेको छ ।

प्रकाशित : आश्विन २५, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

ब्रोकरले मार्जिन कारोबार सुविधा दिन सकेनन्

यज्ञ बञ्जाडे

काठमाडौँ — नीतिगत व्यवस्था भएको ३ वर्षसम्म पनि धितोपत्र ब्रोकरले लगानीकर्तालाई मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधा दिन सकेका छैनन् । मार्जिन कारोबारसम्बन्धी कार्यविधिमा आफूले भनेजस्तो (लगानीकर्ताको सेयर बैंकमा धितो राखेर कर्जा लिने र सोही रकमबाट लगानीकर्तालाई कर्जा दिन भन्ने) व्यवस्था नभएपछि ब्रोकरहरू मार्जिन कारोबार सुविधा दिन अनिच्छुक देखिएका हुन् ।

धितोपत्र ब्रोकरबाट ऋण लिएर लगानीकर्ताले सेयरमा लगानी गर्न सकून् भन्ने उद्देश्यले नियामक निकाय धितोपत्र बोर्डले २०७५ जेठमा यससम्बन्धी कार्यविधि जारी गरेको थियो । ‘मार्जिन कारोबार सुविधा कार्यविधि, २०७४’ नाम दिइएको उक्त कार्यविधि जारी भएको पनि ३ वर्षभन्दा बढी भइसकेको छ । तर लगानीकर्ताले अझै ब्रोकरबाट मार्जिन कारोबार सुविधा पाउन सकेका छैनन् ।

कार्यविधिमा लगानीकर्तालाई ऋण दिन ब्रोकर आफैंले रकम (स्रोत) व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । त्यही रकमबाट लगानीकर्तालाई सेयर खरिद गर्न कर्जा दिने हो । यसरी ऋण दिँदा ब्रोकरले लगानीकर्ताको सेयर धितोस्वरूप आफूसँग राख्न पाउँछन् । तर ती सेयर धितो राखेर बैंकबाट कर्जा लिन भने पाउँदैनन् । लगानीकर्ताबाट धितोका रुपमा आफूसँग संकलित सेयर बैंकमा धितो राखेर कर्जा लिने र सोही रकमबाट लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिने ब्रोकरहरूको माग थियो ।

ब्रोकरले मर्जिन कारोबार सुविधा प्रदान गर्दा लगानीकर्ताले सेयर मूल्यको निश्चित प्रतिशत रकम लगानीकर्ता आफैंले अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । बाँकी रकम ब्रोकर कम्पनीले सापटी दिन्छ । लगानीकर्ताले बाँकी रकम भुक्तानी नगरेसम्म उक्त सेयर रोक्का रहन्छ वा ब्रोकरकै अधीनमा रहन्छ । लगानीकर्ताले बाँकी रकम भुक्तानी गरेपछि मात्र सेयरधनीको खातामा सेयर स्थानान्तरण हुन्छ । ब्रोकरले सुविधा दिन नसक्दा लगानीकर्ता बैंकबाटै सेयर कर्जा लिन बाध्य छन् । सोही कारण गएको एक वर्षमा धेरै सेयर कर्जा प्रवाह भएको छ ।

विश्व बजारमा प्रायः सबै मुलुक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) मा श्रीलंकाबाहेक सबै राष्ट्रमा सेयरमा लगानी गर्नका लागि सेयर धितो राखेर बैंकबाट कर्जा लिन पाइँदैन । अन्तर्राष्ट्रिय अभ्यासविपरीत बैंकमार्फत मार्जिन कारोबार (लेन्डिङ) सेवा प्रदान गर्न दिइएको भन्दै राष्ट्र बैंकको पनि आलोचना हुँदै आएको छ । कर्जाका लागि बैंकमा मात्र निर्भर रहँदा राष्ट्र बैंकले समय–समयमा गर्ने नीतिगत परिवर्तनको मर्का लगानीकर्ताले भोगिरहेका छन् । पछिल्लो समय राष्ट्र बैंकले सेयर खरिद कर्जामा सीमा तोकेपछि बजार प्रभावित हुनु यही कारणको उपज भएको लगानीकर्ताको गुनासो छ ।

नेपालमा ब्रोकरले मार्जिन कारोबार सेवा प्रदान गर्ने नीतिगत व्यवस्था २०७४ मै भएको हो । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन २०७४ मार्फत नै २३ वटा ब्रोकरले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट कारोबार अनुमति र राष्ट्र बैंकबाट स्वीकृति पनि लिइसकेका छन् । तर उक्त व्यवस्था अझै कार्यान्वयनमा आएको छैन । सुरुमा एउटा ब्रोकरले एक जना लगानीकर्तालाई यस्तो सुविधा दिएको थियो । त्यसयता यो विषयमा कुनै प्रगति भएको छैन ।

हाल बैंकले प्रदान गर्दै आएको सेयर कर्जाको तुलनामा ब्रोकरमार्फत प्रवाह हुने मार्जिन कारोबार धेरै कसिलो र लगानीकर्तामैत्री नभएकाले कार्यान्वयन गर्न नसकिएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् । ‘बैंकबाट लिएको कर्जा उपयोगका लागि कुनै सीमा छैन । तर ब्रोकरमार्फत लिएको कुल कर्जामध्ये बढीमा १० प्रतिशत मात्र एउटा कम्पनीमा लगाउनुपर्ने व्यवस्था छ,’ उनले भने, ‘मार्जिन लेन्डिङ सुविधाका लागि नेप्सेले कम्पनी छानेको छ । छनोटमा निकै कम मात्र कम्पनी परेका छन् । सबै पक्षबाट राम्रा कम्पनी पनि सूचीमा परेनन् ।’ यही कारण ब्रोकरहरूले मार्जिन लेन्डिङ सुविधा प्रदान गर्न नसकेको पूर्वअध्यक्ष मैनाली तर्क गर्छन् ।

‘मार्जिन कारोबार कार्यान्वयन हुन नसक्नुमा अर्को प्रमुख कारण स्रोत व्यवस्थापन हो,’ उनले भने, ‘लगानीकर्ताले मार्जिन सुविधा लिन धितो राख्ने सेयरलाई ब्रोकरले बैंकमा राखेर कर्जा लिन पाउने व्यवस्था कार्यविधिमा गरिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि ब्रोकर कम्पनीले के कस्तो पुँजीकोषको व्यवस्था गर्नुपर्ने हो ? हामी तयार छौं ।’

ब्रोकरको पुँजीगत आधार कमजोर रहेकाले लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउन नसकेको सरकारी अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार पछिल्लो ३ वर्षमा बजार सबै पक्षबाट ठूलो भएकाले विद्यमान कार्यविधि परिमार्जन गरी समय सान्दर्भिक बनाउनु पर्ने उनीहरूको भनाइ छ । ‘ब्रोकरहरूको पुँजीगत आधार नै सानो भयो,’ नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले भने, ‘अहिलेको बजारको आकारमा लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिनुअघि ब्रोकरले पुँजीगत आधार बलियो बनाउनुपर्छ ।’ मार्जिन कारोबारसम्बन्धी कार्यविधि ३ वर्षअघि (बजार न्यून अवस्थामा रहँदा) बनेकाले त्यसलाई परिमार्जन गरेर अहिलेको बजारसँग मेल खाने बनाउनुपर्ने उनले बताए । विगतमा केही ब्रोकरले एक–दुई जना लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिए पनि पुँजी संकलनमै समस्या भएकाले उक्त कार्यले निरन्तरता पाउन नसकेको उनको भनाइ छ ।

धितोपत्र बोर्डका निमित्त अध्यक्ष एवं प्रवक्ता नीरज गिरी पनि मार्जिन कारोबारका लागि ब्रोकरको पुँजीगत आधार बढाउनुपर्ने तर्क राख्छन् । ‘ब्रोकरद्वारा स्रोत व्यवस्थापन र ब्याजदरर विषयमा कार्यविधिमा थप प्रस्ट पार्नुपर्ने देखिन्छ,’ उनले भने, ‘कार्यविधिका बाँकी विषय ठीक छन् ।’ अहिले ब्रोकरबाट ऋण लिनभन्दा बैंकबाट लिँदा ब्याजदर सस्तो हुन्छ । यसकारण किन लगानीकर्ताले महँगो ब्याजदर तिरेर ब्रोकरबाट कर्जा लिने भन्ने प्रश्न उब्जिएको उनले बताए । यो समस्या समाधानका लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र ब्रोकरबीच छलफल गर्नुपर्ने उनले सुझाए ।

लगानीकर्ताले सूचीकृत सबै कम्पनीहरूको सेयर किन्न यस्तो सुविधा पाउँदैनन् । नेप्सेले तोकिएका कम्पनीको सेयर खरिद गर्नका लागि मात्र ब्रोकरले मार्जिन सुविधा दिन पाउँछन् । कम्पनी छनोटका लागि नेप्सेले मापदण्ड बनाएको छ । जसमध्ये सूचीकृत कम्पनीमा कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको र आर्थिक वर्षको पहिलो ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्ने प्रावधान कार्यविधिमा छ ।

उल्लिखित मापदण्डका आधारमा नेप्सेले योग्य कम्पनीको सूची प्रकाशित गर्नुपर्नेछ । ‘धितोपत्र सदस्य व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १ सय २० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ३० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिनका रूपमा लिनुपर्नेछ,’ कार्यविधिमा उल्लेख छ ।

तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी ब्रोकर कम्पनीले ५० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने सुविधा पनि दिइएको छ । ब्रोकरले प्रत्येक लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन दैनिक रूपमा गणना गर्नुपर्नेछ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन ४० प्रतिशतभन्दा तल आएमा ब्रोकरले लगानीकर्तालाई मार्जिन कल गर्न सक्नेछ ।

मार्जिन लेन्डिङसम्बन्धी विश्वव्यापी मान्यता हेर्दा इनिसियल मार्जिन (सेयर खरिद कर्जा प्रदान गर्दा लगानीकर्ताले सुरुमा कति रकम हाल्नुपर्ने), मेन्टिनेन्स मार्जिन (सेयर बजार कतिले घट्दा लगानीकर्ताले रकम थप्नुपर्ने), मार्जिन कल रेसियो (ब्रोकरले कतिबेला मार्जिन कल गर्ने), इलिजिबल सेयर (धितोमा राखेर कर्जा प्रदान गर्न कुन–कुन सेयर उपयुक्त हुन्छ), मार्क टु मार्केट (सेयरलाई दैनिक बजार मूल्यअनुसार समायोजन गर्ने प्रक्रिया) लगायत न्यूनतम मापदण्ड पालना गर्नुपर्छ । नेपालको मार्जिन लेन्डिङ प्रक्रियामा ती मापदण्ड पालना नभएको सेयर विज्ञ एंव राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले बताए ।

प्रकाशित : आश्विन २५, २०७८ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×