अब रातमा पनि निर्माण र अनुगमन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब रातमा पनि निर्माण र अनुगमन

विकास खर्च बढाउने र तोकिएकै समयमा योजना सम्पन्न गर्ने लक्ष्य
हेमन्त जोशी

काठमाडौँ — पुँजीगत खर्च बढाउन तथा विकास निर्माणका काममा गति दिन भन्दै सरकारले दिउँसो र राति गरी दुई सत्र (सिफ्ट) मा काम लगाउने तयारी गरेको छ । निर्माण कम्पनीलाई काममा खटाउने मात्र नभई अनुगमन तथा मूल्यांकन गर्ने सरकारी निकाय पनि रातको समयमा खटिनेछन् ।

बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले अब विकास निर्माणका काम तथा ठेक्कासम्बन्धी कागजातमा दोहोरो सिफ्टमा काम गर्न सकिने व्यवस्था थप गर्न निर्देशन दिएका हुन् । ‘दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन,’ उनले भने ।

सार्वजनिक खरिद ऐन र नियमावलीमा भएका अप्ठ्यारा व्यवस्था संशोधनको तयारी गर्न पनि उनले निर्देशन दिए । निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी संख्यामा ठेक्का दिएर आयोजनाहरू अलपत्र परेको भन्दै उनले कानुनी व्यवस्था सच्याउन मन्त्रालयले तयारी गरिरहेको जनाए । आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगर्ने परिपाटीलाई अन्त्य गर्न ऐन र नियमावलीमा संशोधन गरिनुपर्ने उनको भनाइ छ ।

श्रम सहकारीहरूमार्फत १० करोडसम्मको सार्वजनिक निर्माणको कार्य गर्न पाउने कार्यविधि कार्यान्वयनमा ल्याउने तयारी मन्त्रालयले गरेको छ । श्रम सहकारीलाई साना ठेक्का दिँदा यसबाट थप ५ लाख रोजगारी सिर्जना हुने उनको दाबी छ ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले निर्माण व्यवसायीहरूको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नुपर्ने बताए । सीमित निर्माण व्यवसायीको हातमा मात्र ७० प्रतिशत आयोजनाहरू सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति लिन नसक्ने उनको भनाइ छ । ‘भए भरका आयोजनाहरू सीमित ठेकेदारको हातमा सुम्पने, उनीहरूले सरकारलाई समेत नटेर्ने, वर्षौंसम्म आयोजनाहरू नबनाएर बस्ने, अनि कसरी बढ्छ त पुँजीगत खर्च ?,’ उनको प्रश्न थियो । मुलुकको राजस्वमा योगदान गर्न नसक्ने सार्वजनिक संस्थानहरूको औचित्यमाथि पनि उनले प्रश्न उठाए । मन्त्री शर्माले बन्द सरकारी उद्योग सञ्चालनको तयारीमा सरकार रहेको जनाए ।

प्रकाशित : आश्विन २५, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

‘ईपीएल उपाधि जित्न दुई वर्षदेखिको तयारी थियो’

कान्तिपुर संवाददाता

काठमाडौँ — किशोर भट्टराईको नयाँ परिचय एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको चितवन टाइगर्सका मालिक हुन् । खेलकुदमा उनको नामका पछाडि लामै विश्लेषण छन् । उनले ‘ए’ डिभिजन फुटबलदेखि क्रिकेट, ब्याडमिन्टन खेले । करातेका पूर्वराष्ट्रिय खेलाडी र पूर्वप्रशिक्षक पनि हुन् । तीन वर्षदेखि ईपीएलमा प्रतिस्पर्धा गर्दै शनिबार पोखरा राइनोजलाई पराजित गरी पहिलो पटक चितवन च्याम्पियन बनेको थियो । त्यही सफलताको सेरोफेरोमा रहेर कान्तिपुरका लागि विनोद पाण्डेले गरेको कुराकानीको सारसंक्षेप :

ईपीएल जितेपछि कतिको उत्साहित हुनुहुन्छ ?

उत्साहितभन्दा पनि दुःख गरेको प्रतिफल मीठो भइरहेको अनुभव गरिरहेको छु । कोभिड संक्रमणका कारण बजारमा अलि बढी नै कसरत गर्नुपरेको थियो, दुःख यही नै थियो । प्रमुख प्रायोजकहरूलाई कसरी सन्तुष्टि दिने र सँगसँगै क्रिकेटलाई अझ व्यावसायिक हिसाबमा कसरी लाने, खेलाडीको मनोबल कसरी बढाउने, अलिकति आर्थिक बोझ पहिलादेखि नै बढी भएकाले प्रायः सबै फ्रेन्चाइजीहरू घाटामा गइरहेको अवस्थामा यसपालि अलिक गाह्रो नै थियो ।

सबै फ्रेन्चाइजीहरू एकजुट, दृढ निर्णयका कारण सफल हुनकना लागि दौडिरहेका थिए, सफलताचाहिँ हामीले चुम्यौं । मलाई जहाँसम्म लाग्छ छवटै फ्रेन्चाइज टोलीहरूको अथक् प्रयास र ईपीएल टिमको जुन दिशानिर्देश थियो त्यसलाई सकारात्मक हिसाबमा लिएर अगाडि बढ्दा प्रतियोगिता पनि भव्य रूपमा सम्पन्न भयो । यसले प्रायोजकहरूको पनि मनोबल बढेकाले अर्को पटकका लागि सजिलो होला जस्तो छ । त्यसका लागि ६ महिना अगाडिदेखि नै तयार गर्ने जाँगर आइरहेको छ ।

तपाईं मार्केटिङ क्षेत्रमै भएका कारण टिम ब्रान्डिङ गर्न सजिलो भयो होला नि ?

नेपालमा क्रिकेटभन्दा फुटबल अगाडि पाइरहेका छौं । क्रिकेटले फुटबललाई पछ्याइरहेको छ । हामी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली हौं, टेस्ट राष्ट्र बन्ने गन्तव्यतिर अगाडि बढिरहेका छौं । एकपटक अझ विश्वकप खेल्ने हो भने क्रिकेटलाई ब्रान्डिङ गर्न थप सजिलो हुन्छ जस्तो लागिरहेको छ । ईपीएल यसपटक १ सय ४० भन्दा बढी देशमा टेलिभिजन र डिजिटल प्लेटमार्फत प्रसारण भएको थियो । त्यसकारण अन्तर्राष्ट्रिय प्रायोजकमा अब मेरो लक्ष्य हुन्छ ।

नेपालको बजार सानो छ र यहाँको प्रायोजनको रकम पनि अपुग हुन्छ जस्तो लाग्छ । त्यही भएर अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गर्ने हाम्रो योजना छ । ब्रान्ड भ्याल्यु नगरेसम्म जति मार्केटिङ गरे पनि त्यसको असर पर्दैन । ब्रान्ड भ्याल्यु बढ्दै गएपछि कुनै पनि प्लेटफर्ममा होस् मान्छेले चितवन टाइगर्स खोज्नेबित्तिकै पायो भने सबैको मोह बढ्दै जान्छ । हामीभन्दा अगाडि अझ ईपीएल आउनुपर्छ । ईपीएल व्यवस्थापनले पनि यसलाई अझ ठूलो बनाउन केही सुधार गरेर जानुपर्छ । म त अझ ईपीएललाई नेपाल प्रिमियर लिग (एनपीएल) बनाऊँ भन्छु । एनपीएलको ठूलो बजार छ । हामीले यसलाई सकारात्मक हिसाबमा सोच्नुपर्छ ।

यो पटक टिम कसरी संयोजन गर्नुभएको थियो ?

धेरै साथीभाइले निकै मिहिनेत गर्नुभएको थियो । सल्लाहकारहरूको पनि यसमा विशेष भूमिका छ । ३–३ वटा प्रशिक्षक राखियो । खेलाडी छनोट पनि सही भयो । घाइते खेलाडीहरूलाई चाँडै नै छाड्यौं र नयाँ खेलाडीलाई मौका दियौं । राजेश पुलामी, गौतम केसीलाई लिनुका अलावा भीम सार्कीलाई समयमै आर्मी प्रशिक्षण सेन्टरबाट ल्याउन सफल भयौं र खेलाडीहरूले प्रशिक्षणको राम्रो समय पाए । प्रशिक्षकहरूले फिटनेसलाई पहिलो प्राथमिकतामा राख्दै, दिल्लीका प्रशिक्षक पुरु सिंहबाट प्राविधिक र प्रमुख प्रशिक्षक श्यामसन जंग थापाबाट मानसिक प्रशिक्षण पाएकाले खेलाडीहरू फिट भए ।

विदेशी खेलाडीहरूको योगदान हाम्रो टिममा ठूलो छ । मोहम्मद साहजाद, करिम जन्नत, सेकुगे प्रसन्न र वीरनद्वीप सिंहको आगमनले टिमको सन्तुलन धेरै राम्रो भयो । टिम सन्तुलनले पनि पचास प्रतिशत उपाधि जित्ने काम गर्‍यो जस्तो लाग्छ । त्यसका साथै सोमपालको मनमा आफ्नो कप्तानीमा एउटा ट्रफी उचाल्ने इख थियो, त्यो पनि पूरा भएकाले म निकै खुसी छु ।

प्रतियोगिता सुरु हुनुअघि चितवन टाइगर्सलाई सबैले कमजोर नै आँकेको जस्तो देखिन्थ्यो नि ?

त्यसमा म एकदमै खुसी थिएँ, म आफैं खेलकुद पृष्ठभूमिबाट आएको हुनाले कुनै पनि सफलतालाई प्राथमिकतामा राख्छु । आजको दिनमा सफलता पाउन त्यति सजिलो पनि छैन । विभिन्न किसिमका बाधा, अड्चनहरू पार गरेर आउनुपर्‍यो, त्यसले माहोल अलिक फरक बनायो । केही खेलाडीले नखेल्ने निर्णय गरे पनि त्यसले ईपीएललाई खासै असर गरेको देखिनँ मैले । हामीले टिम संयोजन गर्दा प्रवृत्ति विकास गरिसकेका थियौं, यो पटक जित्नैपर्छ भनेर । यो हामीले दुई वर्ष अगाडिदेखि नै सुरु गरेका थियौं, यो नै हाम्रो सफलताको मन्त्र थियो ।

व्यक्तिगत रूपमा तपाईंलाई प्रतियोगिता सुरु हुनुअघि उपाधि जितिन्छ जस्तो लागेको थियो ?

ट्वान्टी–२० मा केही भन्ने स्थिति हुँदैन । तर टिम र खेलाडीका साथै व्यवस्थापनको एउटै उद्देश्य जित्नेभन्दा पनि शीर्ष दुईमा कसरी पुग्ने भन्ने थियो । तर हामीले जब सुरुको चारवटै खेल जित्यौं, हामीभन्दा खेलाडीको मनोबल उच्च देखिन लाग्यो । पाँच खेलाडीलाई डेब्यु गर्न दियौं । १८ जनाको हाम्रो टोलीका १३ जना ब्याटिङ गर्न सक्थे, नौ जना बलिङ गर्न सक्थे । त्यही भएर एउटा के महसुस भइरहेको थियो भने सुरुको म्याचदेखि नै अरू टिम कागजमा बलियो र हामी मैदानमा बलियो देखें । खेलाडीहरूको जुन मिहिनेत छँदै थियो, अरू टिम बलियो भनेर आइरहँदा खेलाडीहरूलाई केही गर्नुपर्छ भनेर एउटा इख थियो त्यो पनि काम लाग्यो ।

अब फेरि ईपीएल नै भयो भने नयाँ अक्सन जानुपर्छ, एनपीएल हुने भयो भने नयाँ ढंगमा जानुपर्छ, त्यसलाई कसरी लिनुभएको छ ?

हामीले त ईपीएललाई नै बढी प्राथमिकता दिनुपर्छ किनभने ईपीएल एउटा ‘ब्रान्ड नेम’ भइसक्यो । श्रीलंकामा पनि लंका प्रिमियर लिग हुन्छ, अफगानिस्तानमा पनि अर्कै हुन्छ । त्यसकारण नेपालमा पनि एनपीएल नै भनेर अर्काको नक्कल गर्नुभन्दा एभरेस्ट प्रिमियर लिग नै हाम्रो राष्ट्रिय लिग हो भनेर लग्दाखेरि अझ प्रभावकारी हुन सक्छ । व्यावसायिक पहिचानको हिसाबमा मात्र हेरिरहेको अवस्थामा राष्ट्रिय टिमको महत्त्वलाई पनि याद गर्नुपर्छ । चितवन टाइगर्सबाटै खेलेर कमलसिंह ऐरी, शाहव आलम राष्ट्रिय टोलीमा परिसकेका छन्, जोन सिम्पसन विगतमा हाम्रो टिमबाटै खेलेर गएपछि इंग्ल्यान्डको टोलीमा परेका थिए ।

यसपटक ईपीएलको प्रदर्शन हेर्ने हो भने भीम सार्की र दिलीप नाथले पनि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्छन् । दिलीप लामो समयपछि अहिले पूरा फर्ममा छन् । विकेट किपिङमा पनि उनले पाएको अवसरमा राम्रो गरेका छन् । उनीहरू दुई जना पनि राष्ट्रिय टोलीमा फेरि पुग्न सके भने ईपीएलको ठूलै उपलब्धि हुन्छ जस्तो लाग्छ ।

खेलाडीहरूलाई कतिको सन्तुष्ट राख्नुभएको छ ?

खेलाडीहरू जहाँसम्म मलाई लाग्छ ८० प्रतिशत सन्तुष्ट छन् । कहिले पनि खेलाडीलाई शतप्रतिशत सन्तुष्ट गराउन सकिँदैन । नेपालको सन्दर्भमा विकसित राष्ट्र र एसोसिएट क्रिकेट राष्ट्र भएको हिसाबले खेलाडीहरूमा अझै त्यो किसिमको व्यावसायिकपन आइसकेको छैन ।

तस्बिरहरु : हेमन्त श्रेष्ठ/कान्तिपुर

ईपीएलमै त्यो किसिमको व्यावसायिकपन अझै आउन बाँकी छ । ईपीएल आफैंले अर्को वर्षदेखि खेलाडीहरूको व्यक्तित्व विकास, अनुभूति र प्रवृत्तिका लागि अक्सनभन्दा अगाडि काम गर्नुपर्ने देखिन्छ । खालि खेलाडीको सूची अक्सनमा राखेरमात्र हुन्छ जस्तो मलाई लाग्दैन । प्रशिक्षकमा पनि स्वदेशी र विदेशीको संयोजन भयो भने अझ राम्रो हुने देखें मैले यसपटक । मैले आफैं पनि भोगेको हो यो ।

धेरैजसो व्यक्तिगत सम्बन्धमा ईपीएलमा काम भइरहेको हुँदा यसलाई कसरी व्यावसायिक हिसाबमा लान सकिन्छ त्यतातिर ईपीएल र सबै फ्रेन्चाइजीले ध्यान दिनुपर्ने आवश्यकता छ । यसले भोलिको दिनमा ईपीएललाई अझ ठूलो बनाउनेछ ।

प्रकाशित : आश्विन २५, २०७८ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×