कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

उद्योगलाई मात्रै प्लास्टिक आयात खुला

देशभित्रै ३० माइक्रोनका झोला उत्पादन गर्न दिन उद्योगीको माग
नुमा थाम्सुहाङ

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य कच्चा पदार्थ आयात बन्द गरेको महिनापछि औद्योगिक प्रयोजनका लागि भन्दै अर्को निर्णय गरेको छ । गत भदौ २८ मा राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयलाई संशोधन गर्दै यही असोज १८ मा राजपत्रमा सूचना प्रकाशित गरी औद्योगिक प्रयोजनका लागि आयात खुला गरेको मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए ।

उद्योगलाई मात्रै प्लास्टिक आयात खुला

‘औद्योगिक प्रयोजनका लागि प्लास्टिकजन्य कच्चा पदार्थको आयातमा रोक लगाइएको छैन,’ उनले भने, ‘यसबाहेक ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला वा अन्य प्लास्टिकमा रोक लगाउने निर्णय भएको छ ।’ सरकारको यसअघिको निर्णयले प्लास्टिक प्रयोग हुने औद्योगिक वस्तुहरूको उत्पादनसमेत रोकिएको थियो । आवश्यक कच्चा पदार्थ रोकिँदा उत्पादनमा असर परेको भन्दै व्यवसायीले आयात खुलाउन पहल गरेका थिए । उद्योगीहरूको दबाबपछि सरकारले उक्त निर्णय सच्चाएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका प्रमुख भरतराज आचार्यले प्लास्टिक आयातमा प्रतिबन्धले निम्त्याएको समस्याबारे सरकारलाई जानकारी गराएको बताए । ‘सरकारले पनि यसको गम्भीरतालाई महसुस गर्‍यो । औद्योगिक प्रयोगका लागि तयारी र अर्ध तयारी कच्चा पदार्थ आयात गर्न पाइने निर्णय हाम्रा लागि सकारात्मक हो,’ उनले भने, ‘पहिलेको निर्णयले कच्चा पदार्थसहितको १ सय वटा गाडीहरू नाकामा १०/१५ दिनसम्म रोकिए । यसले उद्योगहरूको उत्पादनमै असर पुग्यो ।’

उनका अनुसार चाउचाउ, दूध, कापीको लेमिनेसन, कस्मेटिक्स, फुड प्याकेजिङ, एयरपोर्टमा ब्याग प्याकिङ, पानीका बोतल, औषधिजन्य उत्पादन, विभिन्न लेयर लगायतमा प्लास्टिकको सिट प्रयोग हुन्छ । यसका लागि चाहिने कच्चा पदार्थ रोकिए उपभोग्य वस्तुको उत्पादनमै असर पुग्ने उनले बताए । पूर्वअर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक साउन १ देखि पूर्णरूपमा प्रतिबन्ध गर्ने व्यवस्था गरेको थियो ।

प्लास्टिक आयातमा लगाइएको रोक खुलाइए पनि मुलुकभित्र उत्पादन हुने ४० माइक्रोनभन्दा कमका झोलामा भने निर्णय यथावत् रहेको प्लास्टिक उत्पादक संघका अध्यक्ष शरद शर्माले बताए । यसले सरकारले उद्योगीहरूसँग गर्ने व्यवहार एकैनासको नभएको स्पष्ट पारेको शर्माको भनाइ छ । अन्य उद्योगहरूको सन्दर्भमा सरकारले गरेको निर्णय राम्रो भए पनि प्लास्टिक उत्पादन गर्ने उद्योगहरूको विषयमा सरकारले पक्षपाती व्यवहार गरेको उनले आरोप लगाए ।

‘हाम्रो माग प्लास्टिकका झोलाको मापदण्ड ४० बाट घटाएर ३० माइक्रोन पुर्‍याउनुपर्छ भन्ने हो,’ उनले भने, ‘पहिलेको ३० माइक्रोनको निर्णय छ, त्यही कार्यान्वयन गर्नुपर्‍यो । पहिले सरकारले २० र पछि बढाएर ३० माइक्रोन पुर्‍यायो । पछि झन् ५० माइक्रोन पुर्‍याउला । बढाउनु मात्र समस्याको समाधान होइन । यसको व्यवस्थापन गर्न सक्नुपर्‍यो ।’ महासंघका उद्योग समितिका प्रमुख आचार्यले औद्योगिक नीति ल्याउनुभन्दा अगाडि व्यवसायीहरूसँग छलफल गर्नुपर्ने बताए ।

प्रकाशित : आश्विन २४, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?