कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सामाजिक सुरक्षा भत्ता लिएकाले विपन्न भत्ता नपाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — सामाजिक सुरक्षा भत्ता लिने घरपरिवारले विपन्न भत्ता नपाउने भएका छन् । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत गरिब घरपरिवारलाई विपन्न भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । मन्त्रिपरिषद्मा विचाराधीन रहेको यो कार्यक्रमको कार्यविधि मस्यौदामा सामाजिक भत्ता पाइरहेका एकाघरका व्यक्तिले विपन्न भत्ता नपाउने उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता लिएकाले विपन्न भत्ता नपाउने

अर्थ मन्त्रालय स्रोतका अनुसार वृद्धभत्ता, अपाङ्गता भत्ता, एकल महिला भत्तालगायत विभिन्न १० शीर्षकमा पाइने सामाजिक सुरक्षा भत्ता लिइरहेका घर परिवारले यस्तो सुविधा पाउने छैनन् । कुनै पनि प्रकारका सामाजिक सुरक्षा नपाएका घरपरिवारमात्र विपन्न भत्ताका लागि योग्य हुने गरी कार्यविधि बनाइएको छ । विपन्न परिवार छुट्याउने र भत्ता बाँड्ने जिम्मा स्थानीय तहलाई दिइने मस्यौदामा उल्लेख छ । त्यस्तै, रकम वितरणका लागि बैंक खाता अनिवार्य गरिएको छ । स्थानीय तहको सिफारिसमा बैंक तथा वित्तीय संस्थाले यो रकम भुक्तानी गर्नेछन् ।

सरकारले बजेटमार्फत कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका अति विपन्न ५ लाख घरपरिवारलाई राहतस्वरूप एक पटकका लागि प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अनुदान रकम असोज महिनाभित्र हस्तान्तरण गरिसक्नेसमेत बजेटमा उल्लेख छ । तर कार्यविधि मन्त्रिपरिषद्बाट पारित नभइसकेकाले यो कार्यक्रम अझै कार्यान्वयन हुन सकेको छैन । मन्त्रालय स्रोतका अनुसार कार्यविधि असोज दोस्रो साता नै मन्त्रिपरिषद्मा पठाइएको थियो ।

महामारीको समयमा रोजगार गुमाएका व्यक्तिहरुले आफूले रोजगार गुमाएको स्वघोषणा गर्नुपर्ने पनि कार्यविधिको मस्यौदामा उल्लेख छ । रोजगार गुमाएका असंगठित क्षेत्रका कामदारलाई स्थानीय तहको सिफारिसपछि १० हजार रुपैयाँ उपलब्ध गराइनेछ । यो पनि एक पटकका लागि मात्रै उपलब्ध हुनेछ ।

प्रकाशित : आश्विन २३, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?