कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दसैंको अग्रिम टिकट बुकिङमा मनपरी भाडा

सरकारले तोकेभन्दा झन्डै ५० प्रतिशतसम्म बढी असुली
टिकट बुकिङ गर्नेको संख्या आधाले घट्यो
ज्याकेट र परिचयपत्र लगाएका कर्मचारीसँग मात्र टिकट लिनुस् – नमराज घिमिरे, महानिर्देशक–यातायात व्यवस्था विभाग

काठमाडौँ — दसैंमा घर जान बसको टिकट बुकिङ गर्न भन्दै सुर्खेतका महेश पाण्डे बुधबार सुन्धारास्थित टिकट काउन्टर पुगे । तर टिकट पाएनन् । नेपालगन्जसम्म जाने टिकट बुक गर्ने निधो गरे । तर टिकट महँगो पर्‍यो । असोज २५ का लागि बुकिङ गर्न गएका उनले सरकारले तोकेको भन्दा बढी भाडा बुझाउन बाध्य भए ।

दसैंको अग्रिम टिकट बुकिङमा मनपरी भाडा

‘काउन्टरमा सोध्दा टिकट छैन भन्छन्, टिकट पाउनै गाह्रो पर्‍यो,’ पाण्डले भने, ‘सुर्खेतको टिकट कतै नपाएपछि म र साथीसहित ५ जनाले नेपालगन्जसम्मको भए पनि टिकट बुकिङ गर्‍यौं ।’ उनले नेपालगन्जसम्मको टिकटका लागि प्रतिव्यक्ति १ हजार ८ सय ५० रुपैयाँ बुझाए । जुन भाडा सरकारले तोकेभन्दा ५ सय ६४ रुपैयाँ (झन्डै ४४ प्रतिशत) बढी हो । तर सरकारले काठमाडौं–नेपालगन्जको भाडा १ हजार २ सय ८६ रुपैयाँ मात्रै तोकेको छ । ‘काउन्टरमा सरकारले तोकेभन्दा बढी किन भाडा लिएको भनेर सोध्दा उल्टै जाने भए टिकट बुक गर्नू, नत्र नगर्नू भन्ने जवाफ आयो,’ उनले भने, ‘दसैंमा घर जान नपाइएला भन्ने डरले तोकेभन्दा बढी नै भाडा दिन बाध्य भयौं ।’

धनगढीका लागि उद्धव कठायतले १ हजार ९ सय ८५ रुपैयाँ तिरेर टिकट बुक गरे । तर सरकारले यो रुटको भाडा १ हजार ६ सय ५७ रुपैयाँ मात्रै तोकेको छ । तर काउन्टरबाट ३ सय २८ रुपैयाँ बढी भाडा (झन्डै २० प्रतिशत) असुलेको उनले गुनासो गरे । ‘२६ गते घर जानका लागि दुई जनाको गरेर ३ हजार ९ सय ७० रुपैयाँ भाडा तिरें,’ उनले भने, ‘अरु बेला यति धेरै भाडा तिर्न पर्दैन थियो ।’

काठमाडौं–काँकडभिट्टाका लागि रिवाजजंग राना मगरले काउन्टरवालाले भनेअनुसार भाडा नदिए टिकट नदिने भनेपछि बढी नै भाडा बुझाएको सुनाए । यो रुटमा सरकारले तोकेको भाडा १ हजार ४ सय ७० रुपैयाँ छ । तर उनले २ हजार १ सय ६० रुपैयाँ तिरेको बताए । ‘दसैंमा सधैं धेरै नै भाडा तिरेर घर जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘अहिले पनि सरकारले तोकेको भन्दा बढी भाडा तिरेर घर जाँदै छु ।’ मगरले तिरेको भाडा सरकारले तोकेको भन्दा झन्डै ४७ प्रतिशतले बढी हो ।

दसैंमा अग्रिम टिकट बुकिङका नाममा यात्रुसँग मनपरी भाडा लिइएको पाइएको छ । गत असारमा सरकारले लामा दूरीका सवारी साधनका हकमा साविकको भाडामा २८ प्रतिशतले वृद्धि गरे पनि टिकट काउन्टरमा त्योभन्दा बढी भाडा माग्ने गरिएको छ । अनलाइन बुकिङ गर्ने यात्रुहरूले पनि बढी भाडा असुलिएको गुनासो गरेका छन् ।

इलाम जान अनलाइनमार्फत टिकट बुकिङ गराएका सविन बास्तोलाले घर जानैपर्ने बाध्यता परेपछि बढी भाडा तिरेको सुनाए । ‘काउन्टरमा ३ पटकसम्म धाउँदा पनि सिट पाइएन,’ बास्तोलाले भने, ‘दसैंमा जसरी पनि जानैपर्ने भएपछि अनलाइनमा हेरेको सिट खाली देखें, त्यहीँबाट बुक गरें तर ८ सय रुपैयाँ बढी तिर्नुपर्‍यो ।’ सरकारले तोकेको भाडादरअनुसार काठमाडौं–इलामको १ हजार ६ सय ९१ रुपैयाँ छ । बास्तोलाले भने २ हजार ४ सय ३५ रुपैयाँ तिरेको सुनाए । यो भाडा सरकारले तोकेको भन्दा झन्डै ४४ प्रतिशतले बढी हो । काउन्टरमा पनि सरकारी भाडादर लागू भएको छैन । व्यवसायीले इलामसम्मका लागि कम्तीमा २ हजार रुपैयाँमा टिकट काटिरहेको उनले बताए ।

काउन्टर नजिकै यात्रु सहायता कक्ष थियो । त्यहाँ ट्राफिक प्रहरी र नेपाल प्रहरी तैनाथ थिए । तर उनीहरूले टिकट काट्ने यात्रुलाई केही सोधेनन् । यात्रुले पनि काउन्टरमा बढी भाडा लिए भनेर कतै गुनासो गरेनन् । महेशले भने यातायात व्यवसायीले बढी भाडा लिँदा पनि सम्बन्धित निकाय चुपचाप बसिरहेको भन्दै आक्रोश पोखे ।

सरकारले यात्रुको सहायताका लागि भन्दै उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । ती कक्षमा सरकारले तोकेको भाडादरको फ्लेक्स प्रिन्ट गरेर टाँसिएको छ । कक्षमा बिचौलियाबाट यात्रु नठगिऊन् भनेर ट्राफिक प्रहरी, नेपाल प्रहरी खटाइएको छ । तर यात्रुले ती कक्षबाट सहयोग नपाएको गुनासो गर्दै आएका छन् । यातायात व्यवस्था विभागले अनुगमन तीव्र पारेको जनाए पनि यात्रु बढी भाडा बुझाइरहेका छन् ।

बढी भाडा बिचौलियाले उठाउने गरेको पाइएको र त्यस्तालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया थालेको विभागका महानिर्देशक नमराज घिमिरेको दाबी छ । ‘त्यसैले यात्रुलाई ज्याकेट र परिचयपत्र लगाएका कर्मचारीबाट मात्र टिकट लिन पटक/पटक अनुरोध गर्दै आएका छौं,’ उनले भने, ‘पाँइदैन भन्दै हतारमा टिकट लिँदा यात्रु बिचौलियाको फन्दामा पर्ने गरेको पाइएको छ ।’

उनका अनुसार बढी भाडा लिएको पाउनासाथ सहायता कक्षमा गएर जानकारी गराउन यात्रुलाई सुझाव दिइएको छ । नयाँ बसपार्कमा कम्प्युटरबाट टिकट काट्ने काम भइरहेको छ । जसले गर्दा गत वर्षहरूको जस्तो यात्रुको चाप छैन । अपेक्षा गरे अनुसार अनलाइन बुकिङ पनि भएको छैन । अझै पनि बैंकिङ प्रणालीमा जोडिन समस्या हुँदा अनलाइन टिकट कम प्रभावकारी भएको उनको भनाइ छ । अग्रिम टिकट बुकिङ गरेकाहरू बिहीबार (घटस्थापना) देखि काठमाडौंबाट बाहिरिन थाल्छन् । निजी सवारीमा बाहिरिने बढेकाले पनि सार्वजनिक सवारीमा यात्रुको चाप कम रहेको उनको दाबी छ । नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुवँरका अनुसार गत वर्षको तुलनामा यस पटक अग्रिम टिकट बुकिङ आधाले घटेको छ ।

बुधबारसम्म करिब ४० हजार जनाले अग्रिम टिकट बुकिङ गरेका छन् । ‘गएको वर्ष यो दिनसम्म ८० हजारभन्दा धेरैले अग्रिम टिकट बुकिङ गरेका थिए,’ कुँवरले भने, ‘यात्रुको चाप व्यवस्थापन गर्न अनलाइन टिकट बुकिङको व्यवस्था गरिएको छ ।’ कोरोना संक्रमणलाई मध्यनजर गर्दै गाडी तथा बसपार्कभित्र सेनिटाइजर, मास्कलगायत स्वास्थ्य सावधानी अपनाउन भनिएको उनले बताए । बसपार्कभित्र सरकारले तोकेको भन्दा बढी भाडा नलिइएको कुँवरले दाबी गरे ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने असोज १ देखि अहिलेसम्म ४ लाख यात्रु बाहिरिसकेको बताउँछन् । ‘अग्रिम टिकट बुकिङ करिब ५० प्रतिशत भइसकेको छ, बुधबारदेखि यात्रुको चाप केही बढेको छ,’ उनले भने, ‘बिहीबारबाट अझै बढ्नेछ ।’ वर्षा, बाढी, पहिरोका कारण क्षतविक्षत सडक अझै धेरै स्थानमा सहज भइनसकेको र त्यसलाई अविलम्ब मर्मत गर्न माग गरिएको उनले बताए । उनले यात्रुलाई परिचयपत्र भिरेका र पोसाक लगाएका कर्मचारीबाट मात्र टिकट लिन आग्रह गरे ।

प्रकाशित : आश्विन २१, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?