दसैंलाई च्यांग्रा किलोकै १५ सय- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंलाई च्यांग्रा किलोकै १५ सय

खसीको मूल्य पनि किलोमै ३० रूपैयाँ बढ्यो, माग धान्न आयातकै भर
राजु चौधरी

काठमाडौँ — यसपालि च्यांग्राको मासुको मूल्य अचाक्ली बढ्ने देखिएको छ । चीनबाट च्यांग्रा आयात नभएको र बिचौलियाका कारण दसैंमा च्यांग्राको मूल्य अति महँगो हुने देखिएको हो । विगतमा व्यवसायीले दसैंका लागि तिब्बतलगायत स्थानबाट च्यांग्रा आयात गर्थे । तर कोभिडका कारण यतिबेला चिनियाँ नाकामा सहज आवागमन छैन । जसले गर्दा मूल्य बढेको चौपाया व्यवसायी संघ कलंकीले जनाएको छ । 

‘चीनबाट आयात नहुँदा एउटै च्यांग्राको मूल्य ३८ देखि ४० हजार रुपैयाँ परेको छ,’ संघका निवर्तमान अध्यक्ष दीपक थापाले भने, ‘गत वर्ष दसैंमा किलोको ७ सय रुपैयाँमा बिक्री भएको च्यांग्रा अहिले १२ देखि १५ सय रुपैयाँ पर्ने देखिन्छ ।’ संघका अनुसार मूल्य अचाक्ली बढ्नुको पहिलो कारण बिचौलिया नै हो । किसान र उपभोक्तासम्म आइपुग्दा तीन तह पार गर्नुपर्छ । जसले गर्दा मूल्य बढाउन सघाएको छ ।

‘चीनबाट आयात हुँदा केही सस्तो हुन्थ्यो । तर यस वर्ष सबै मुस्ताङकै च्यांग्रा आउने हुन्,’ थापाले भने, ‘मूल्य बढेपछि खरिद संख्या पनि घटाएका छौं ।’ गत वर्ष ७ हजार च्यांग्रा उपत्यका भित्रिएकामा अहिले ४ देखि ४ हजार ५ सय मात्रै ल्याउन सकिने संघले जनाएको छ । सरकारले पनि यसपालि उपत्यकामा च्यांग्रा आयात नगर्ने बताएको छ । मूल्य थेगिनसक्नु भएका कारण च्यांग्रा खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहायक महाप्रबन्धक श्रीमणि खनालको भनाइ छ ।

‘कोभिडका कारण गत वर्षदेखि नै चिनियाँ सीमा बन्द छन् । स्वदेशमा पर्याप्त पाइएन,’ उनले भने, ‘महँगो पनि अधिक भएपछि च्यांग्रा नकिन्ने भयौं ।’ खाद्यले खसी र बोका भने दुई हजार हाराहारीको संख्यामा खरिद गर्ने जनाएको छ । गत वर्ष पनि २ हजार नै किन्ने लक्ष्य राखेकामा १ हजार ५ सय १ वटा मात्रै खरिद गर्न सकेको थियो ।

यसैबीच, दसैंमा उपत्यकामा भित्र्याउन दाङमा खसीबोका खरिद प्रक्रिया सुरु गरिएको छ । उक्त क्षेत्रमा खरिद मूल्य पनि निर्धारण भइसकेको छ । २५ किलोदेखि माथिका खसीको मूल्य प्रतिकिलो ५६५, २० देखि २५ किलोका खसी किलोको ५५० र बोकाको ५४५ रुपैयाँ निर्धारण गरिएको छ । यस वर्ष भने खरिद मूल्य गत वर्षको तुलनामा प्रतिकिलो १५ रुपैयाँ बढी परेको सहायक महाप्रबन्धक खनालले बताए ।

वीरगन्जमा पनि खरिद प्रक्रिया सुरु भएको जनाइएको छ । ‘खरिद मूल्यमा ढुवानी भाडा, बजार मूल्य सबै जोडेर खुद्रा बिक्री मूल्य निर्धारण गर्छौं,’ उनले भने, ‘खाद्यले बजार भाउभन्दा सस्तो नै मूल्य तोक्छ । त्यसमा पनि १० रुपैयाँ छुट हुन्छ ।’ स्वदेशमा पर्याप्त उत्पादन नहुँदा खसीबोकामा भारतकै भरमा पर्नुपर्ने अवस्था रहेको व्यवसायीको भनाइ छ । चाडबाडका बेला कलंकीस्थित खसी बजारबाट बिक्री हुनेमध्ये स्वदेशी ६० र भारतबाट आयातित ४० प्रतिशत हुन्छन् । ‘सरकारकै नीतिका कारण पहाडबाट खसीबोका ल्याउन गाह्रो रहेको संघका निवर्तमान अध्यक्ष थापाले बताए ।

अहिले कलंकी खसीबजारमा प्रतिकिलो ७ सय रुपैयाँसम्म खसीबोका बिक्री भइरहेका छन् । दसैंमा माग बढे किलोको ८ सयभन्दा बढी पुग्ने उनको भनाइ छ । ‘मूल्य मनलाग्दी नै छ, कम्तीमा मूल्यसूची राख्न सके सहज हुन्थ्यो,’ थापाले भने, ‘तर बजार व्यवस्थित गर्न सरकारले सघाएन ।’ व्यवसायीले खसीबोका दाङ, सुर्खेत, सल्यान, सर्लाही, चितवन, धादिङ, काभ्रेलगायत जिल्लाबाट उपत्यकामा ल्याउने गरेका छन् ।

यता पशु सेवा विभागले भने दसैंलाई आवश्यक खसीबोका स्वदेशमै पर्याप्त रहेकाले मूल्य नबढ्ने दाबी गरेको छ । मुलुकभित्र वार्षिक खसीबोका मात्रै ५४ लाख उत्पादन हुने विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए । चाडबाडका बेला व्यवसायीले अनावश्यक रूपमा बढी पैसा लिन अभाव देखाउने गरेको उनको भनाइ छ । ढकालका अनुसार भारतबाट खसीबोका आयात घट्दै गएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्

बुद्ध एयर ल्यान्डिङ गियर प्रकरण : जहाज ठिक, चालकदलमा शंका

सुरज कुँवर

काठमाडौँ — पांग्रा नखुलेको कारण देखाई एक साताअघि विराटनगरबाट काठमाडौं नै डाइभर्ट गरिएको बुद्ध एयरको एटीआर–७२ जहाज प्रकरणमा कम्पनीले चालकदलको कमजोरी देखाएको छ । बुद्धले सोमबार आफ्नो आन्तरिक छानबिन प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँदै उक्त विमानमा कुनै प्राविधिक त्रटि नरहेको जनाउँदै त्यस घटनामा चालक दलकै ‘व्यवहार’ मा शंका व्यक्त गरेको छ ।

‘उडानको परिस्थितिलाई सम्बोधन गर्न चालकदलले जहाजबारे ककपिटमा रहने पर्याप्त जानकारीका बाबजुद बाहिरी सूचनामा भर पर्नु नै घटनाको मुख्य कारण हो,’ छानबिन प्रतिवदेनपछि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बुद्धको छानबिनले चालकदलले जहाजको ल्यान्डिङ गियर (पांग्रा) खुलेपनि टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई सोध्नुलाई यस घटनामा असान्दर्भिक भनेको छ । त्यसदिन चालकदलले विराटनगर अवतरण नगरी काठमाडौंमा डाइभर्ट भएपछि कम्पनीका इन्जिनियर र काठमाडौं टावरका एटीसीलाई पनि पांग्रा खुले/नखुलेको ‘कन्फर्म’ गरीदिन बारम्बार सोधेका थिए । जहाजले आठ पटक काठमाडौंको आकाशमा फन्को लगाएपछि टावरले चालकदललाई काठमाडौं धावनमार्गमाथि उडाउन लगाई पांग्रा खुलेको पुष्टि गर्दै अवतरणका लागि अनुमति दिएको थियो ।

त्यस्तै भुइँबाट खिचिएका तस्बिर पनि पाइलटलाई ह्वाट्सएपबाट पठाइएको थियो । बुद्धले एटीआर कम्पनीले जहाज उडानका क्रममा देखापर्ने विभिन्न प्राविधिक परिस्थितिलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पर्याप्त जानकारीमूलक विधि तथा उपाय ककपिटमै राखिदिए पनि चालकदलले ती स्रोतमा भर नपरेको जनाएको छ ।

आन्तरिक उडानमा जहाज र यात्रु संख्याका हिसाबले पहिलो नम्बरमा रहेको बुद्धले बरु आफ्नै चालक दलको ‘व्यवहार’ माथि पनि शंका व्यक्त गरेको छ । ‘हामी यस घटनाबाट धेरै नै स्तब्ध छौं । यो घटनामा मानवीय व्यवहारको पक्षबाट पनि जाँच गरिहेका छौं । हामीले समस्या पहिचान गरी कम्पनीका सबै चालकदलमा लागू हुने गरी उचित सामाधान खोजेर चाँडै कार्यान्वयनमा ल्याउने छौं,’ विज्ञप्तिमा भनिएको छ । दुईवटा बीचक्राफ्ट र १३ वटा एटीआर गरी १५ वटा विमान भएको यस कम्पनीसँग १ सय ३० पाइलट छन् । बुद्धले हाल पेरिसमा सिम्युलेटर तालिका लागि गएका अपरेसन विभाग प्रमुख रञ्जनकुमार शर्मा र चिफ पाइलट सुनिल गुरुङ असोज अन्तिममा फर्केपछि यस घटनाबारे उनीहरुकै नेतृत्वमा थप विस्तृत अनुसन्धान पनि गर्ने जनाएको छ ।

प्रबन्ध निर्देशक बस्नेतका अनुसार विराटनगरका लागि भएको यू४–७०१ उडानका कमान्डर क्याप्टेन आङगेलु शेर्पाले ल्यान्डिङ गियर (पाङग्रा) खुलेको संकेत गर्ने प्राइमेरी इन्डिकेटर (पहिलो संकेत) मा बत्ती नबलेको भनेपनि ककपिट भ्वाइस रेकर्डर (सीभीआर) मा कोपाइलट अमन अन्सारीले ‘संकेत बत्ती बलेको छ सर’ भनेको संवाद सुनिएको बताए । ‘कोपाइलटले संकेट बत्ती बलेको भनेको रेकर्ड सीभीआरमा सुनिन्छ । त्यसबाहेक सेकेन्डरी इन्डिकेटर (पाइलटको टाउकोमाथि राखिएको दोस्रो संकेत) ले पांग्रा खुलेको देखाएको छ । चालक दलले जहाज विराटनगरमा अवतरण गराउनुपर्थ्यो । झुक्किनुपर्ने कारण नै देखिदैन,’ कान्तिपुरसँग कुरा गर्दै प्रबन्ध निर्देशक बस्नेतले भने ।

तस्बिरहरू : क्याप्टेन विवेक खड्का

गएको सोमबार बिहान बुद्धको पहिलो उडानमा चालकदलका ४ सदस्यसहित ७७ जना बोकेर विराटनगर पुगेको जहाज चालकदलले ल्यान्डिङ गियर (पाङग्रा) खुलेको संकेत गर्ने पहिलो इन्डिकेटरको बत्ती नबलेको कारण देखाएपछि काठमाडौं फर्किएको थियो । त्यसबेला जहाजको कमान्ड क्याप्टेन आङगेलु शेर्पाले गरिरहेका थिए भने उनलाई सघाउने कोपाइलटमा अमन अन्सारी थिए । त्यस उडानमा रहेको जहाजको प्राविधिक जाँच गर्दा कुनै समस्या नदेखिएपछि घटना भएको भोलिपल्टै प्राधिकरणको अनुमतिमा त्यसलाई उडानमा फर्काइएको थियो ।

यो घटनापछि नेपालमा वायुसेवा कम्पनीहरुले ल्याउने सेकेन्ड ह्यान्ड जहाज र तीनको आयुबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि बुद्धले ‘यात्रुको सुरक्षामा अति संवेदनशील रहेको’ उल्लेख गर्दै आफूले उडाइरहेका एटीआर कम्पनीका विमानले पनि जेट विमान निर्माता कम्पनी बोइङ र एयरबसलेझैं यात्रु सुरक्षाका लागि अपनाउने प्रक्रिया नै अपनाउने गरेको जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×