कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

इलेक्ट्रोनिक्स सामग्रीमा अफरै–अफर

टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, मिक्स्चर, फिल्टरलगायत सामानमा कम्पनीले किन्दा नगद छुटदेखि बम्पर उपहारसम्म
नुमा थाम्सुहाङ

काठमाडौँ — दसैंतिहार नजिकिएसँगै विद्युतीय बजारमा पनि चहलपहल बढेको छ । सामान्यतया लुगाफाटाको किनमेल बढ्ने यो समयमा घरमा आवश्यक विद्युतीय सामग्री किन्नेको पनि भीड बढेको छ ।

इलेक्ट्रोनिक्स सामग्रीमा अफरै–अफर

चाडपर्वलाई ध्यानमा राख्दै विभिन्न कम्पनीले टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, मिक्स्चर, फिल्टरलगायत सामग्रीमा छुटका अफर तथा उपहार योजनासमेत ल्याएका छन् । सामसङ, एलजी, टीसीएल, गोदरेज, साओमी र केन्टले आफ्ना नयाँ तथा पुराना उत्पादनमा नगद छुट र उपहार योजना ल्याएका हुन् ।

सामसङ नेपालको ‘छुटको तरंग, दसैंतिहारमा उमंग’ योजना छ । यो योजनाअनुसार सामसङ टीभी तथा डिजिटल अप्लाइन्सेस खरिदमा छुट पाइनेछ । सामसङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट र निःशुल्क जडानसमेत गरिने कम्पनीले जनाएको छ । साओमी नेपालले भने ‘मी लेको छैन ?’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत मी एलईडी टीभी र अन्य सामग्री खरिदमा छुट पाइने साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।

एलजी, टीसीएल, गोदरेज र केन्टको आधिकारिक विक्रेता रहेको सीजी इलेक्ट्रोनिक्सले पनि चाडबाड लक्षित योजना ल्याएको छ । एलजीको ‘हार्दिक बधाई तपाईंलाई, यस चाडबाडमा विशेष सबैलाई’, टीसीएलको ‘यस दसैंतिहार, टीसीएलमा क्यासब्याक र बम्पर उपहार’, गोदरेजको ‘नाउ इज वाउ फेस्टिबल, कम खर्च धेरै बचत’ र केन्टको चाडबाड विशेष योजना छ । यी योजनाले उपभोक्तालाई नयाँ सामग्री खरिदमा सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

एलजीले साधारण टीभी, स्मार्ट टीभी र साउन्ड बारको खरिदमा क्यासब्याकको व्यवस्था गरेको छ । त्यस्तै एसी, वासिङ मेसिन र हिटरको खरिदमा निःशुल्क जडान सुविधा, नगद छुट र उपहार दिएको छ । सीजीले ल्याएको ‘यो उत्सवमा घरलाई बनाऔं सीजी स्मार्ट होम’ योजनामार्फत कम्पनीको कुनै पनि सामग्रीको खरिदमा क्यास ब्याक र उपहार पाइनेछ । यस योजनामा हरेक १५–१५ दिनमा लक्की ड्रमार्फत सीजीको डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात तथा ३ दिनको मेघौली सेराईको प्याकेज जित्न सकिनेछ । सीजीका एलईडी टीभी, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, सोकेस, कुलर र भ्याकुमको खरिदमा २ हजारदेखि ४ हजार रुपैयाँसम्म क्यास ब्याक पाइने कम्पनीले जनाएको छ ।

टीसीएल ब्रान्डका कुनै पनि सामग्री किन्दा ५८ हजार ७ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ । यस योजनामा बम्पर उपहारअन्तर्गत २ जना ग्राहकले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलईडी टीभीसमेत जित्न सक्नेछन् । यसैगरी, गोदरेजले आफ्ना उत्पादनमा ३१ प्रतिशतसम्मको क्यासब्याक दिएको छ । साथै तीन जना विजेताले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलईडी टीभी पाउनेछन् ।

अनलाइन सपिङ, रङ र इन्टरनेट कम्पनीका पनि छुट योजना

अनलाइन सपिङ प्लेटफर्म, रङ उत्पादक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि चाडबाडलाई लक्ष्य गर्दै थरीथरीका छुट तथा उपहारका प्याकेज ल्याएका छन् । अनलाइन सपिङ दराजले ‘दराज दसैं धमाका’, केएनपी नेपालले ‘दसैंमा केएनपीको रङमा दंग’, वर्ल्डलिंक कम्युनिकेसनले ‘दसैंको बहार बडा उपहार’ र भायनेटले ‘भायनेट बडा दसैंमा, बडा स्पिड, बडा टीभी अफर’ नामक योजना ल्याएको हो ।

दराजका ग्राहकले बम्पर उपहारमा टीभीएस एनटर्क १२५ स्कुटर जित्न सक्नेछन् । कुनै पनि सामग्रीको खरिदमा अनलाइन प्रि–पेमेन्ट गर्दा २० प्रतिशत छुट, निःशुल्क सिपिङ, ५ हजार रुपैयाँसम्मको मेगा भौचर र एक रुपैयाँमै ५० हजार रुपैयाँ बराबरको उत्पादन जित्न सकिने अवसरसमेत रहेको कम्पनीको भनाइ छ । केएनपीको योजनाअनुसार लक्की ड्रमार्फत हरेक साता १ जना विजेताले २० हजार रुपैयाँसम्म जित्न सक्नेछन् भने १ जनाले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

दसैं तथा तिहार विशेष २० हजार रुपैयाँ बराबरको सेवासहितको प्याकेज योजना वर्ल्डलिंकले ल्याएको छ । यसमा प्रयोगकर्ताले मासिक ११ सय रुपैयाँमा ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । यस प्याकेजमा एउटा नेटटीभी निःशुल्क उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्ने कम्पनीले जानकारी दिएको छ । यसैगरी, भायनेटले इन्टरनेट तथा भाय टीभी प्याकेजहरूका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टीभीमा छुट दिनेछ । यसमा ग्राहकले भायनेटको इन्टरनेट र भाय टीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उच्च गतिको इन्टरनेट पाउन सक्नेछन् ।

प्रकाशित : आश्विन १८, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?