चामल ढुवानी छानबिनमा

प्रतिस्पर्धामा आएकामध्ये किलोमै ४२ रुपैयाँ बढी प्रस्ताव गर्ने श्रीर्मिका एयर कार्गोलाई ठेक्का दिने आशयको सूचना प्रकाशनपछि उजुरी परेको थियो
राजु चौधरी

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लामा खाद्यान्न ढुवानी गर्न सस्तो दरमा टेन्डर हाल्नेलाई पन्छाई महँगोमा ठेक्का लगाउन खोजेको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन थालेको छ । खाद्य कम्पनीले प्रचलित कानुनविपरित बढी रकम कवोल गर्ने प्रत्यर्थीको बोलपत्र छनोट गर्ने आशयको सूचना प्रकाशित गरेको भन्दै उजुरी परेपछि अनुगमन कार्यालयले छानबिन अघि बढाएको हो ।

चामल ढुवानी छानबिनमा

कार्यालयका सूचना अधिकारी राजेशकुमार थापाका अनुसार समिट एयर प्रालिका तर्फबाट मनोज कार्कीले उजुरी दर्ता गराएका थिए । कार्की वायु सेवा सञ्चालक संघ, नेपालका महासचिवसमेत हुन् । उजुरी परेपछि कार्यालयले खाद्य कम्पनीबाट सम्बन्धित सबै कागजातहरु मगाएर छानबिन सुरु गरेको हो । ‘उजुरीमाथिको इजलास शुक्रबार बस्छ । इजलासमा दुवै पक्षको बहसपछि विषय टुंगो लगाइन्छ,’ थापाले भने, ‘यो सबै प्रक्रिया दसैंअगाडि नै टुंग्याउँछौं ।’

खाद्य कम्पनीले दुगर्ममा हरेक वर्ष सरदर १ लाख ६६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्दै आएको छ । यो वर्ष हुम्लामा नेपालगन्जबाट ४ हजार र सुर्खेतबाट ६ हजार गरी १० हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको थियो । तर खाद्य कम्पनीका कर्मचारीको मिलोमतोमा बढी कबोल गर्नेलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गरेको भन्दै उजुरी परेको हो । प्रतिस्पर्धामा आएकामध्ये किलोमै ४२ रुपैयाँ बढी प्रस्ताव गर्ने कम्पनी श्रीर्मिका एयर काग्रोलाई ठेक्का दिने आशयको सूचना खाद्य कम्पनीले गत असोज ५ मा प्रकाशित गरेको थियो ।

‘खाद्य कम्पनीकै कर्मचारीको मिलोमतोमा बढी कबोल गर्नेलाई ढुवानी दिने प्रपन्च भयो । अन्याय भएपछि कानुनले दिएको अधिकार प्रयोग गरेका छौं,’ कार्कीले भने, ‘सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छौं ।’

यता खाद्य कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले भने श्रीर्मिका एयर काग्रोले कबोल गरेको मूल्य गत सालको भन्दा बढी नरहेको दाबी गरे । विवाद गराउनकै लागि अन्य ३ एयरलाइन्सले कम मूल्य कबोल गरेको उनको भनाइ छ । ‘महँगी हरेक वर्ष बढेको छ । श्रीर्मिकाले गत सालको कबोल मूल्यभन्दा बढाएको छैन । विवाद गराउनका लागि एयरलाइन्सले कम मूल्य कबोल गरेका हुन्,’ चन्दले भने । तर खाद्य कम्पनीकै विवरण हेर्दा श्रीर्मिकाले गत वर्ष नेपालगन्जबाट हुम्ला सदरमुकाम सिमकोट प्रतिकिलो १०८ रुपैयाँका दरले ढुवानी गरेको देखिन्छ । अहिले भ्याटबाहेक प्रतिकिलो १ सय १२ रुपैयाँ कबोल गरेको छ । सुर्खेतबाट सिमकोटसम्मको भने १ सय ५ रुपैयाँ कबोल गरेको छ । तर श्रीर्मिकाभन्दा सस्तो दरमा कबोल गर्ने सीता एयर, समिट एयर र तारा एयरलाई ढुवानी योग्यता नपुगेको भन्दै खाद्य कम्पनीले उनीहरूको प्रस्ताव अस्वीकार गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत चन्दले मापदण्ड नपुगेकै कारण एयरलाइन्सहरु छनोट नभएको दाबी गरे । एयरलाइन्सहरुले १२ करोड रुपैयाँ बराबरको ढुवानी गरेको संस्थागत भुक्तानी विवरणको बैंक इस्टेटमेन्ट देखाउन नसकेकोले ढुवानीका लागि सक्षम नभएको उनको भनाइ छ । ‘एयरलाइन्सले भागबण्डा लगाउने, होल्ड गर्ने गरेका थिए । पर्यटक भेटिए खाद्य ढुवानी नगर्ने प्रवृत्ति छ । विगतमा समयमै ढुवानी पनि गर्न सकेनन्,’ उनले भने, ‘सक्षम र कार्टेलिङ रोक्न श्रीर्मिका कार्गोलाई दिइएको हो । कार्गो एजेन्सीले ठेक्का लिएपछि कार्यसम्पादन उसैले पाउने हो । त्यही भएर एयरलाइन्सले पाएनन् ।’ जबकि कार्गोले ठेक्का पाए पनि ढुवानीका लागि तिनै एयरलाइन्सको सहयोग लिनुको विकल्प छैन ।

श्रीर्मिकाले कबोल गरेको दरमा ठेक्का लागेका हुम्लामा खाद्यान्न ढुवानी गर्न १० करोड ७८ लाख रुपैयाँ खर्च हुनेछ । यसबाट खाद्य कम्पनीलाई ३ करोड ८८ लाख रुपैयाँ अतिरिक्त भार पर्नेछ । अरू तीन कम्पनीले त्योभन्दा निकै कममा ढुवानी गर्न कबोल गरेका छन् । सीता एयरले सुर्खेत–सिमकोटका लागि प्रतिकिलो ६३ रुपैयाँ र नेपालगन्ज–सिमकोटका लागि प्रतिकिलो ७८ रुपैयाँ कबोल गरेको छ । जसअनुसार ६ करोड ९० लाख मात्रै खर्च हुनेछ । त्यस्तै, समिट एयरले सुर्खेत–सिमकोटको प्रतिकिलो ९७ रुपैयाँ र नेपालगन्ज–सिमकोटको प्रतिकिलो ८९ रुपैयाँ भाडाको प्रस्ताव गरेको छ । उक्त प्रस्तावअनुसार कुल खर्च ९ करोड ३८ लाख रुपैयाँ मात्रै हुनेछ । अर्को कम्पनी, तारा एयरले सुर्खेतबाट प्रतिकिलो ७८.९० र नेपालगन्जबाट १ सय १० रुपैयाँमा सिमकोट ढुवानी गर्न सक्ने प्रस्ताव गरेको छ । यहीअनुसार ढुवानी भएमा ९ करोड १३ लाख ४० हजार रुपैयाँ मात्रै कम्पनीको खर्च हुने देखिन्छ ।

प्रकाशित : आश्विन १६, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?