कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विद्यार्थीको बैंक खाता

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले हरेक विद्यार्थीको २५० का दरले बैंकमा रकम जम्मा गर्नेछ । यो रकम विद्यार्थी बालिग भएपछि मात्रै निकाल्न मिल्छ ।
घनश्याम खड्का

म्याग्दी — पालिकाभरि आठ विद्यालय छन् । एउटामा मात्र ८ कक्षासम्मको पढाइ हुन्छ । त्यसभन्दा माथिका कक्षा पढ्न लोमन्थाङ र सदरमुकाम जोमसोम पुग्नुको विकल्प छैन । हुनेखानेले पोखरा, काठमाडौं लगेर छोराछोरी पढाएका छन् । नसक्नेका छोराछोरीबीचैमा पढाइ छाड्न बाध्य छन् ।

विद्यार्थीको बैंक खाता

यही बाध्यता अन्त्यका लागि मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले जुक्ति लगाएको छ । पालिकाले कम्तीमा १२ कक्षासम्म गाउँमै पढाउन सबै विद्यार्थीको बैंक खाता खोलेर मासिक रकम जम्मा गर्न थालेको हो । प्रोत्साहन मिलोस् भनेर १ देखि १० कक्षासम्मका विद्यार्थीको खाता खोलेर मासिक २ सय ५० रुपैयाँ जम्मा गर्ने गाउँपालिकाले जनाएको छ । ‘चालु आर्थिक वर्षको सुरुदेखि नै लागू हुने गरी विद्यार्थीको खाता खोल्ने क्रम सुरु भइसक्यो,’ गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले भने, ‘मासिक २ सय ५० का दरले एक वर्षकै एकमुष्ट रकम जम्मा गर्दै छौं ।’ उनका अनुसार गाउँपालिकाको शिक्षाको बजेट र आन्तरिक स्रोतबाट बैंकमा रकम जम्मा गर्नेछ । अभिभावकले पनि मासिक २ सय ५० रुपैयाँ जम्मा गर्नुपर्ने उनले बताए ।

गाउँपालिकामा १० कक्षासम्म पढ्ने विद्यार्थीको संख्या २ सय १५ छ । नियमित पढाइ र उच्च शिक्षामा पनि आकर्षित गर्ने योजनाअन्तर्गत यस्तो अभियान थालिएको अध्यक्ष बिष्टले बताए । ‘विद्यार्थीलाई कम्तीमा १२ कक्षासम्म कसरी स्थानीयस्तरमै पढाउने भन्ने सोच आयो,’ उनले भने, ‘देशविदेशका शिक्षा नीति हेरें । एक्कासि यो जुक्ति फुर्‍यो ।’ प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत जनप्रतिनिधिसमक्ष कुरा राखेपछि योजनाले मूर्त रूप पाएको उनको भनाइ छ ।

कार्यपालिका बैठक हुँदै गत असार १० को गाउँसभाले योजना पारित गरेको थियो । ‘यो अभियानले विद्यार्थीले कम्तीमा १२ कक्षासम्म उच्च मनोबलका साथ पढ्ने विश्वास छ,’ अध्यक्ष बिष्टले भने, ‘बैंकमा जम्मा गरिने रकम विद्यार्थी बालिग भएपछि मात्रै निकाल्न सकिन्छ ।’ बर्सेनि एउटा कक्षा थपेर १२ सम्म पुर्‍याउने योजनासमेत रहेको उनले बताए । ‘थोपाथोपा पानी जम्मा गरी घडा भरेझैं उच्च शिक्षामा बालबालिकालाई केही योगदान पुर्‍याउन सकिन्छ कि भनेर सानो प्रयास थालेका हौं,’ बिष्टले भने ।

लोघेकर–दामोदरकुण्ड–३ घिलिङस्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक निमा गुरुङले यस्तो अभ्यास नेपालमै पहिलो र नौलो हुन सक्ने बताए । ‘धनीले बाहिर लगेर पढाउँछन् । विपन्न परिवारका बालबालिका गाउँकै स्कुल पढ्छन्,’ उनले भने, ‘८ पढेपछि प्रायः सबै बालबालिकाले पढाइ छाड्थे । उच्च शिक्षा परको कुरा ।’ सोही विद्यालयको ८ कक्षाका विद्यार्थी सङ्बो गुरुङले गाउँपालिकाको अभियानले उत्साहित बनाएको बताए । ‘बैंकका जम्मा भएको पैसाले क्याम्पस पढ्न पनि सघाउने भयो,’ उनले भने, ‘भए त पैसा अझै बढाइदिए राम्रो हुन्थ्यो ।’

सबैभन्दा बढी जनज्योतिमा बालविकासदेखि ८ कक्षासम्म १ सय ६ विद्यार्थी छन् । आगामी शैक्षिक सत्रदेखि ९ कक्षाको पढाइका लागि प्रक्रिया थाल्न लागिएको प्रधानाध्यापक गुरुङले बताए । ‘गाउँपालिकाले बैंकमा विद्यार्थीको खाता खोलेर रकम जम्मा गर्ने कुरा राम्रो छ । हामी अभिभावक पनि रकम जम्मा गर्छौं । गाउँपालिकाले हामीलाई रोजगारी दिने र सोही रकम बैंकमा जम्मा गर्ने व्यवस्था भए अझ सजिलो हुन्थ्यो ।’

प्रकाशित : आश्विन १५, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?