होलसेलमा रौनक, खुद्रामा बढ्दै चहलपहल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होलसेलमा रौनक, खुद्रामा बढ्दै चहलपहल

वर्षभर हुने कारोबारको झन्डै ४० प्रतिशत कारोबार दसैंमा
राजु चौधरी

काठमाडौँ — सरकारको अनुमानित तथ्यांक मान्ने हो भने, एक वर्षमा हुने कारोबारमध्ये दसैंमा मात्र करिब ४० प्रतिशत कारोबार हुन्छ । दसैंमा मीठो खाने, नयाँ लुगा लगाउने चलन भएकाले पनि यही समयमा व्यापार ह्वात्तै बढ्छ ।

‘वाणिज्य विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, घरेलु कार्यालयलगायतमा साढे चार लाखभन्दा बढी पसल दर्ता भएका छन् । दसैंतिहारमा सबै वस्तुको उपभोग बढ्छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले भने, ‘वर्षभर हुने कारोबारको करिब ४० प्रतिशत यही समयमा हुन्छ ।’

खाद्यवस्तु, सवारीसाधनदेखि लत्ताकपडाको व्यापारमा यति बेला बहार आउँछ । व्यवसायीलाई भ्याइनभ्याइ हुन्छ । यति बेला मुख्य व्यापारिक केन्द्र न्यरोड, असन, खिचापोखरीलगायत व्यापारिक पसलमा घुइँचो दिनदिनै बढ्दै छ । दसैंको घटस्थापनाअघि होलसेल बजारमा रौनक हुन्छ । होलसेलमा लत्ताकपडा किन्न विभिन्न सहरका व्यवसायी आइपुग्छन् । घटस्थापनापछि होलसेलभन्दा खुद्रामा रौनकता आउने व्यवसायी बताउँछन् । ‘घटस्थापना आउन करिब एक साता बाँकी छ । अहिले न्युरोड, खिचापोखरीलगायतका होलसेल पसलमा व्यापारीको भिडमभीड छ । होलसेल पसलमा रौनकता छाएको छ,’ नेपाल राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष नरेश कटवालले भने, ‘खुद्रामा भने विस्तारै चहलपहल बढ्दै छ । घटस्थापनापछि खुद्रामा व्यापार बढ्छ । व्यापारको माहोल पनि तात्छ ।’ लत्ताकपडाको व्यापार गर्ने व्यवसायी धेरै छन् । यही बेला लत्तकपडाको मात्रै करिब ७५ प्रतिशत कारोबार हुने कटवालले बताए ।

राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहालले पनि लत्ताकपडा किन्न आउने व्यवसायीको भीड बढी नै रहेको स्विकारे । ‘असन क्षेत्रमा यति बेला दसैं लागेको छ । राति साढे ८ बजेसम्म नै भीड हुन्छ,’ उनले भने, ‘भीडअनुसार भने किनमेल हुँदैन । एउटा लुगा किन्नै ३/४ जना आएका हुन्छन् । यसले गर्दा पनि भीड बढ्दो छ ।’ न्युरोड, असर क्षेत्रमा एक सातायता चहलपहल बढेको छ ।

शनिबार सार्वजनिक बिदाका दिनमा चहलपहल झन् बढ्ने दाहालले बताए । ‘सडकमा समेत खुट्टा राख्ने ठाउँ हुँदैन,’ उनले भने, ‘कोभिडबाट शिथिल बजार अहिले केही सुधारतर्फ जाँदै छ ।’ पछिल्लो समय सपिङ मलमा किनमेल गर्ने परिपाटी पनि बढ्दो छ । उपत्यकामा मात्रै दुई दर्जनभन्दा बढी सपिङ मल छन् ।

चाडबाड नजिकिँदै गर्दा सपिङ मलमा पनि सर्वसाधारणको भीड छ । एकै छानामुनि विभिन्न ब्रान्डका लत्ताकपडा खरिद गर्न सकिने भएकाले सर्वसाधारण यसतर्फ आकर्षित बनेका हुन् । विभिन्न छुट तथा अफरले पनि उनीहरूको आकर्षण यता बढेको हो । दसैंतिहारका बेला जुत्ताचप्पलको व्यापार पनि राम्रो रहने व्यवसायी बताउँछन् । स्वदेशी जुत्ताको माग बढ्दा उद्योगीहरूलाई उत्पादन गर्न भ्याइनभ्याइ छ । ‘विदेशबाट जुत्ता नआउँदा स्वदेशी जुत्ता उद्योगले उत्पादन बढाइरहेका छन्,’ फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका महासचिव नवराज गौतमले भने, ‘माग बढेपछि जुत्ता उद्योग १८–२० घण्टा चलेका छन् । विदेशी जुत्ता नआउँदा स्वदेशी जुत्ताको व्यापार धेरै राम्रो छ ।’

चाडपर्वअघि नै आएका विदेशी जुत्ताको व्यापार पनि उस्तै छ । पहिल्यै जुत्ता ल्याएका व्यवसायीलाई यति बेला नाफा राम्रो मिलेको व्यवसायी नै बताउँछन् । तर केरुङ र तातोपानी नाकामा भइरहेको समस्याले धेरै व्यवसायीले घाटामा पनि रहेको उनीहरूको गुनासो छ ।

प्रकाशित : आश्विन १५, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

चामल पर्खंदै दुर्गम

६० हजार परिवारले भदौदेखि पाएनन्
राजु चौधरी

काठमाडौँ — आगामी साता दसैं सुरु हुँदै छ । चाडबाड नजिकिँदा सुगममा उत्साह छ, दुर्गमका विपन्न परिवारमा खाद्य संकटको जोखिम बढेको छ । सरकारी डिपो नै रित्तिएपछि मुगुका गाउँमा स्थानीय बासिन्दा भोकै पर्ने अवस्था आएको छ । न खाद्यका डिपोमा चामल छ, न त गाडी चल्छ । स्थानीय उत्पादनले तीन महिनाभन्दा बढी नधान्ने बस्तीमा खाद्य संकट गहिरिने संकेत देखिएको छ । 

दुर्गम जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न ढुवानी गर्दै आएको छ । कम्पनीले समयमै ढुवानी नगरिदिँदा बर्सेनि अभाव भएको हो । ‘गाउँमा गाडी आइपुग्दैन, खेतबारी उब्जाउ छैन,’ मुगुको मुगुम कर्मारोङ गाउँपालिका प्रवक्ता कर्मा तामाङले भने, ‘खाद्यले वर्षमा एक पटक चामल बाँड्छ, त्यो पनि ठूलो परिवारलाई एक/दुई महिना मात्रै पुग्छ ।’ खाद्यले दुर्गमका डिपोमा पुर्‍याउने चामल सहुलियत मूल्यमा बेच्छ । उनका अनुसार गत वर्ष एक परिवारलाई ६० किलोको दरले बिक्री गरिएको थियो । चालु आर्थिक वर्ष भने चामल पठाइएकै छैन ।

पुलु गाउँपालिकामा डिपो भए पनि कर्मचारी बस्दैनन् । त्यस क्षेत्रमा ठेकेदारहरूले चामल ल्याउँछन्, मनलाग्दी मूल्यमा बेच्ने गरेको तामाङले बताए । उनका अनुसार स्थानीयले चामल माग गर्दा खाद्यका कर्मचारीहरूले टेर्दैनन्, आफू अनुकूलकालाई ठेक्का दिन्छन् । ठेकेदारले आफ्नो पायक पर्ने समयमा चामल ल्याउँछन्, त्यो समयमा खरिद नगरे चामल नै पाइँदैन । मुगुकै छायानाथ रारा नगरपालिका सञ्चार प्रविधि अधिकृत तीर्थराज शाहीले पनि सरकारी डिपोमा चामल नहुँदा चाडबाडको मुखमा सर्वसाधारणलाई समस्या रहेको बताए ।

स्थानीय उत्पादनले छाक टारिरहेका धेरै परिवारले दसैंमा भात खानै नपाउने अवस्था छ । ‘जिल्लाकै डिपोमा चामल छैन । डिपोमा चामल नहुँदा स्वतः समस्या भइहाल्छ,’ उनले भने ।’ खाद्य कम्पनीको बिक्रीवितरण विवरण हेर्दा गत आर्थिक वर्ष मुगु जिल्लामा कम ढुवानी भएको देखिन्छ । मुगुका लागि १९ हजार ५ सय क्विन्टल ढुवानी गर्ने लक्ष्य राखेकामा १७ हजार ४४ क्विन्टल मात्रै ढुवानी भएको छ । कम्पनीका मुगु डिपो शाखा सहायक पुष्कर भामले मौज्दात कम हुँदा वितरणमा समस्या भएको प्रतिक्रिया दिए । थप खाद्यान्न ढुवानीकै प्रक्रियामा रहेको उनले सुनाए ।

मुगुजस्तै बाजुरावासीलाई पनि चाडबाडमा चामलकै समस्या हुन्छ । बाजुराका विभिन्न नगरपालिकामा गत भदौदेखि नै खाद्यले चामल बिक्री गरेको छैन । ‘बाजुराको कोल्टी क्षेत्रमा धेरै समस्या भएको छ । कोल्टीमा रहेका सबै भोकै त छैनन् तर सर्वसाधारणले जुन हिसाबले चामल पाउनुपर्थ्यो, त्यो भएन,’ बूढी नगरपालिका प्रमुख पदमकुमार गिरीले भने, ‘समयमै ढुवानी नहुँदा कोल्टी र हिमाली गाउँपालिकामा धेरै समस्या देखियो ।’ तत्काल समस्या समधान गर्न हवाईमार्गबाट ढुवानीको माग गरेको उनले बताए ।

खाद्यका कोल्टी डिपो प्रमुख नवीनप्रसाद आचार्य बाटो बिग्रिएर ढुवानीमा समस्या भएको बताउँछन् । डिपोमा चामल मौज्दात न्यून भएपछि गत भदौ १० देखि बिक्रीवितरण बन्द गरिएको उनले बताए । ‘कोल्टीमा खाद्यको स्थायी डिपो छ । उक्त डिपोमा ४५ क्विन्टल चामल मौज्दात छ । मृत्यु संस्कारलगायत अत्यावश्यक बेला चाहिन्छ, त्यही भएर बिक्री गरेका छैनौं,’ उनले भने । बाजुरामै कवाडी डिपो (अस्थायी) छ तर उक्त डिपोमा चामल असारमै सकिएको थियो । थप ढुवानी भएर गएन । ‘यस क्षेत्रबाट ४ स्थानीय तह, मुगु र हुम्ला गरेर ६० हजार परिवारका लागि खाद्यान्न वितरण हुन्छ,’ आचार्यले भने, ‘यस क्षेत्रका लागि गत वर्ष १० हजार क्विन्टल स्वीकृतमध्ये सबै ढुवानी भएन, जसले गर्दा अहिले वितरण गर्नलाई चामल छैन । तत्काल चामल नआए दसैंलाई समस्या हुन्छ ।’

बाजुराका खाद्य शाखा प्रमुख मेखराज ओझाले पनि ठेकेदारहरूले समयमै ढुवानी नगरिदिँदा आफ्नो जिल्लामा खाद्यान्न अभाव देखिएको बताए । ‘गत वर्ष कोल्टीका लागि १० हजार क्विन्टलमध्ये सुर्खेतबाट २ हजार क्विन्टल ढुवानी भएन । मार्तडी (कवाडी) का लागि ६ हजार क्विन्टल स्वीकृत भएकामा धनगढीबाट ४ हजार क्विन्टल मात्रै ढुवानी भयो,’ उनले भने, ‘गत वर्ष ठेकेदारले ४ हजार क्विन्टल ढुवानी नगरिदिँदा जिल्लामा समस्या देखियो ।’ ओझाका अनुसार ती क्षेत्रका ढुवानीकर्ता लोकेन्द्रबहादुर रावल हुन् । ढुवानीमा रावलले ढिलासुस्ती गर्दासमेत केन्द्रबाट कुनै कारबाही गरिएको छैन । ‘हामीले ठेकेदारलाई भन्दा टेर्दैनन्, केन्द्रमा गुनासो गर्दा सुनुवाइ हँॅदैन । समयमै ढुवानी गर्न नसक्नेलाई स्पष्टीकरण पनि सोधिएन,’ ओझाले गुनासो गरे, ‘समस्या ढुवानीकै हो । ठेकेदारलाई कारबाही नहुने समस्या छ । दुर्गमका जनतालाई साह्रै दुःख भयो ।’ दसैं अगाडि ल्याउने कोसिस जारी रहे पनि चामल आउन गाह्रो रहेको उनले बताए ।

यता, केन्द्रको ढुवानीको विवरणमा भने स्वीकृत कोटाभन्दा बढी ढुवानी भएको उल्लेख छ । गत वर्ष १३ हजार क्विन्टल स्वीकृत भएकामा १८ हजार ८ सय ५३ क्विन्टल ढुवानी भएको केन्द्रको विवरणमा छ । तर, सोही जिल्लाका सर्वसाधारणले भने चामल पाएका छैनन् । बझाङ पनि उस्तै समस्या छ । केन्द्रको विवरणअनुसार गत वर्ष ४ हजार क्विन्टल कोटामध्ये ५ हजार ६ सय ५३ क्विन्टल ढुवानी भइसकेको छ । तर, साइपाल गाउँपालिकामा भने खाद्यान्न पर्याप्त छैन । गाउँपालिका उपाध्यक्ष कल्पनादेवी बोहराका अनुसार कतिपय घरपरिवारमा चामल नै छैन । उनीहरूले पैंचो गरेर घर चलाइरहेका छन् ।

बझाङमा अस्थायी डिपो छ । उक्त डिपोबाट धनगढीबाट चामल ढुवानी गरिन्छ । वर्षामा बाटो बिग्रिने भएकाले हिउँदमा चामल आउँछ । चैत–वैशाखदेखि असोजसम्मलाई पुग्ने चामल एकै पटकमा ढुवानी गरिन्छ । तर, खाद्यले पर्याप्त परिमाणमा चामल पठाउँदैन । ‘वर्षात्ले बाटो बन्द छ । थुप्रै घरमा चामल छैन,’ उनले भनिन्, ‘अब चामलका लागि फेरि आन्दोलन गर्न काठमाडौं आउँछौं ।’

सुदूरपश्चिम प्रदेशको साइपाल गाउँपालिकामा झन्डै ६ सय १० घरपरिवार गत वर्ष भोकमरीको चपेटामा परेका थिए । त्यसपछि गाउँपालिका उपाध्यक्षसहित ४ वडाध्यक्ष करिब ७ दिनको यात्रा गरेर खाद्यान्न माग गर्दै काठमाडौं आएका थिए । अहिले फेरि त्यही नियति दोहोरिएकाले आन्दोलन गर्न काठमाडौं नपुगी नहुने देखिएको उपाध्यक्ष बोहराले बताइन् ।

सरकारले २३ जिल्लालाई दुर्गम तोकेको छ । यी जिल्लामा जनसंख्या ३४ लाख ९२ हजार २ सय ९१ छ । ६ लाख ७० हजार घरधुरी छन् । तर, वार्षिक खाद्यान्नको कोटा १ लाख ६६ हजार ९ सय क्विन्टल मात्रै छ । उक्त कोटाअनुसारकै समयमै ढुवानी नहुँदा थप समस्या भएको हो । खाद्य कम्पनीका बिक्रीवितरण विभागीय प्रमुख भीम थापाले मुगुमा अभाव नभएको र कोल्टीको हकमा जिल्ला प्रशासन कार्यालयबाट ५ सय क्विन्टल माग आएको बताए । ‘मुगुको गोदाममा मौज्दात छ । पुग्दैन भन्ने चिन्ता हो, कोल्टीमा राजापुरबाट पठाउने तयारी छ,’ उनले भने, ‘केही ठाउँमा पठाउँदा पठाउँदै ढिलाइ भएको हो ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कोल्टीमा धनगढी र राजापुरबाट ४ सय क्विन्टल पठाइने बताए । ‘मंगलबारदेखि लोड सुरु भएको छ । मुगुमा पनि १ सय ७० क्विन्टल गएको छ,’ उनले भने, ‘सकभर दसैं अगाडि खाद्यान्न अभाव नहोस् भन्ने प्रयास गरिरहेका छौं ।’

प्रकाशित : आश्विन १४, २०७८ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×