दसैं बजारले व्यवसायी दंग

चाडबाड नजिकिएपछि बढ्यो व्यापार
चिनियाँ नाकामा रोकिएका दसैंका सामान भने अड्किए
नुमा थाम्सुहाङ

काठमाडौँ — – काठमाडौंको न्युरोडस्थित कोहिनूर जेन्ट्स कलेक्सनका सञ्चालक प्रताप बानियाँ लामो समयपछि पसलमा बढेको चहलपहलले खुसी छन् । ‘लामो समयपछि पसल खोल्न पाइएको छ । सायद अब फेरि लकडाउन नहोला,’ उनले भने, ‘चाडबाडका बेला व्यापार राम्रै हुन्छ ।’ अहिले दिनहुँ १२–१५ हजार रुपैयाँसम्मका ‘जेन्ट्स’ कपडा बिक्री भइरहेको उनको भनाइ छ । दसैंको घटस्थापनादेखि अझ राम्रो कारोबार हुने उनले बताए । 

दसैं बजारले व्यवसायी दंग

– न्युरोडकै कपडा व्यवसायी अमृतबहादुर तुलाधरले दैनिक २० हजार रुपैयाँसम्म ‘लेडिज’ कपडा बेचिरहेका छन् । यो बिक्रीदेखि उनी सन्तुष्ट पनि छन् । ‘ठीकै चलिरहेको छ, पोहोर साल बन्द थियो, अहिले व्यापार बढेको छ,’ न्युरोडस्थित रेणुज फेसनका सञ्चालक उनले भने, ‘बन्द हुनुभन्दा थोरै भए पनि कपडा बिक्री गर्नु राम्रो । त्यसैले म खुसी नै छु ।’ दसैंका लागि भनेर उनले लेडिज कुर्ता सुरुवालमा १५ प्रतिशत छुटको अफरसमेत राखेका छन् । अफरले गर्दा समेत व्यापार राम्रो भएको उनको भनाइ छ । ‘चाडबाडका बेलामा अरू समयभन्दा राम्रो व्यापार हुन्छ,’ उनले भने, ‘कोभिडअघिको तुलनामा यसपालिको व्यापार कम नै हो । तर बजार खुला छ, अब भने बढ्ला ।’

कोभिडका कारण गत वर्ष चाडबाडका बेला ठप्प बजार यसपालि बन्द छैन । बीचमा लकडाउन र निषेधाज्ञाले ठप्प बनेको व्यापार, व्यवसायमा दसैं नजिकिएसँगै यति बेला चहलपहल बढेको देखिन्छ । त्यसैले तिहार एवं छठसम्म व्यापार राम्रो हुने व्यवसायी बताउँछन् । चाडबाडमा कारोबार राम्रो हुने भए पनि कपडाको भाउ महँगिएको व्यवसायीको भनाइ छ । गत वर्ष दुई हजार हाराहारीमा पाइने कपडा यस पटक २५ सय रुपैयाँसम्म पर्ने न्युरोडकै अर्का व्यवसायी दीपु खड्काको भनाइ छ । ‘केही कपडाको मूल्य बढेको छ,’ उनले भने, ‘समयमै सामान आइनपुगेकाले पनि कपडाको मूल्य बढेको हो ।’

बजार सहज भए पनि दसैंका लागि आउनुपर्ने कतिपय सामान चिनियाँको नाकामा अड्किएका छन् । व्यापारीले आफैं चीन गएर सामान अर्डर गर्न पनि पाएका छैनन् । त्यहाँकै उद्योगबाट सामान मगाउँदा भने ५–७ प्रतिशत महँगो मूल्य पर्ने गरेको रञ्जना व्यापार संघका उपाध्यक्ष विनय अग्रवालले बताए । यसले यहाँ पनि मूल्य वृद्धिमा सघाएको उनको भनाइ छ । तर मूल्य बढे पनि बजारमा माग उत्तिकै रहेको उनी सुनाउँछन् । ‘चिनियाँ नाकाबाट ढुवानीमा समस्या आएकाले सामान समयमै बजार पुर्‍याउन सकेका छैनौं । हामी थोक व्यापारीसँग पर्याप्त सामान छैनन् । माग छ तर आपूर्ति गर्न सकेका छैनौं,’ अग्रवालले भने, ‘जाडोका सामान गर्मीमा आउने र गर्मीको सामान जाडोमा आउने भइरहेको छ । यसको मारमा थोक र खुद्रा व्यापारी छौं ।’ दिनमा ३०–४० वटा गाडी चिनियाँ नाकाबाट भित्रिनुपर्नेमा मुस्किलले चार/पाँचवटा गाडी मात्र आइरहेको उनले गुनासो गरे ।

‘मेरै ७०–८० लाख रुपैयाँको सामान चिनियाँ नाकामा अड्किएको छ,’ अग्रवालले भने, ‘उक्त सामान दसैंअघि आइपुगेन भने ठूलो नोक्सानी बेहोर्नुपर्छ । दसैंका सामान समयमै आएन भने पछि बिक्री गर्न समस्या हुन्छ ।’ वर्षको सबैभन्दा धेरै कारोबार दसैं र तिहारका बेला हुन्छ । त्यसपछि जाडोका सामान पनि उत्तिकै बिक्री हुन्छन् । ‘यो तीन महिनामा वर्षभरिको ८० प्रतिशत कारोबार हुन्छ,’ उनले थपे ।

दसैंका लागि आउनुपर्ने सामान नाकामा अड्किएकाले केही कपडाको मूल्य महँगिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । ‘व्यवसायी आफैंले बढाएका होइनन्,’ उनले भने, ‘ढुवानी खर्च र भन्सारको लागतले मूल्य वृद्धिमा चाप परेको हो ।’ कपडाहरूको मूल्य बढे पनि बजार सामान्य चलिरहेको उनको भनाइ छ । ‘खुद्रामा घटस्थापनादेखि राम्रो कारोबार हुन सुरु हुन्छ । राम्रो खुद्रा पसलेले नै दसैंमा दिनकै एक लाख रुपैयाँसम्म कारोबार गर्छन्,’ उनले भने, ‘होलसेलरहरूले आफूसँग भएका सामान बजार पठाइरहेका छन् । उनीहरूले पनि दिनमा २–३ लाख रुपैयाँसम्मको कारोबार गर्छन् ।’


प्रकाशित : आश्विन १५, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?