१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चक्रपथ दोस्रो खण्ड विस्तार : ३ वर्षसम्म पनि भएन डिजाइन

स्वयम्भूमा चैत्य र महाराजगन्जका १९ घर हटाउन बाँकी
साइट क्लियर भएपछि मात्रै डिजाइन थाल्ने चिनियाँ पक्षको अडान
विमल खतिवडा

काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारका लागि रूख कटान, भौतिक संरचना पन्छाउन, खानेपानी पाइपलाइन व्यवस्थापन र विद्युत्, टेलिकमका पोल हटाउन (साइट क्लियर) थालेको ३ वर्ष भयो । तर अहिलेसम्म पूरा हुन सकेको छैन । यसकै कारण सडकको डिजाइन निर्माणसमेत रोकिएको छ ।

चक्रपथ दोस्रो खण्ड विस्तार : ३ वर्षसम्म पनि भएन डिजाइन

कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हलनजिकको पुल) सम्मको ११.६ किलोमिटर सडक चीन सरकारको अनुदान सहयोगमा विस्तार हुन लागेको हो । तर चिनियाँ टोलीले साइट क्लियर नभएसम्म नआउने अडान राखेपछि डिजाइनको काम अघि बढ्न नसकेको हो ।

सडक विस्तारको प्रारम्भिक डिजाइनको काम भने भइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा बताउँछन् । तर अन्तिम (फाइनल) डिजाइन गरेपछि मात्र ठेक्का प्रक्रिया अघि बढ्छ । त्यसका लागि चिनियाँ टोली आउनुपर्छ । ‘चिनियाँ पक्षको भनाइ साइटमा केही अवरोध बाँकी रहनुभएन भन्नेछ,’ सहसचिव शर्माले भने, ‘सडक विभागले रूख काट्ने, पर्खाल हटाउने, खानेपानीको पाइप व्यवस्थापनलगायत सबै काम सकेको छ ।’

उनका अनुसार केही स्थानमा विद्युत्का तार र पोल हटाउने काम भइरहेको छ । स्वयम्भूमा भने चैत्य भत्काउन समस्या भएको छ । ‘चैत्य भएको ४०/५० मिटर ठाउँमा समस्या छ,’ उनले भने, ‘यसलाई पछाडि सार्ने र त्यसका लागि महानगरपालिकाले ठाउँ दिने भन्ने सहमति भएको छ ।’ बढी समस्या महाराजगन्जको २ सय ६५ मिटर क्षेत्रमा छ । यो खण्डमा पर्ने १९ घर भत्काइएको छैन । ‘उक्त खण्डमा घर हटाएर जग्गा सरकारले लिनुपर्ने हो,’ उनले भने, ‘मुआब्जा निर्धारण गर्ने प्रशासन र मालपोत कार्यालय हुन्, जुन भेरिफाई गर्ने क्रममा छ ।’ यी दुई स्थानको अवरोध नहटेकाले चिनियाँ पक्ष आउन नमानिरहेको हो ।

चक्रपथ विस्तार आयोजना प्रमुख अर्जुन सुवाल भने साइटमा कुनै समस्या नरहेको दाबी गर्छन् । ‘कहींकतै विद्युत्का तार र पोल हटाउन बाँकी छ, त्यो पनि हट्नेछ,’ उनले भने, ‘महाराजगन्जमा पर्ने घरले मात्र बढी समस्या गरेको छ । घरको क्षतिपूर्ति दिन भवन विभागसँग समन्वय गरिए पनि ७ वटा घरको मात्र कागजात भेटियो, अरूको फेला नपर्दा समस्या भएको हो ।’ घरका सम्बन्धमा महानगरपालिकासँग बुझ्दा रेकर्ड नै फेला नपरेको उनले सुनाए । ‘नक्सा नै स्वीकृत नगराई घर बनाएको हो कि, यसबारे बुझ्न आवश्यक छ,’ उनले भने, ‘जग्गाको मुआब्जाका लागि भने फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएका छौं, निर्णय भइसकेको छैन ।’

रूख कटान भएको लामो समयसम्म पनि विस्तारको काम अघि नबढ्दा योजना नै रोकिएको हो कि भन्ने आशंका सर्वसाधारणमा परेको छ । तर समझदारीपत्र (एमओयू) मा शतप्रतिशत साइट क्लियर हुनुपर्ने उल्लेख रहेकाले चिनियाँ पक्ष त्यसकै पर्खाइमा छ । त्यसमाथि चक्रपथ पहिलो खण्डको सडक विस्तारका क्रममा संरचना नहटाई काम थाल्दा ढिलासुस्ती भएपछि यस पटक चिनियाँ कम्पनीले यस्तो अडान लिएको देखिन्छ ।

‘तपाईंहरू डिजाइन गर्दै गर्नू, त्यो फाइनल नहुँदै हामी साइट क्लियर गरिसक्छौं भनेका थियौं,’ आयोजना प्रमुख सुवालले भने, ‘तर एमओयूमै शतप्रतिशत क्लियर हुनुपर्ने लेखिएको रैछ, जसले गर्दा सबै खाली नभई नआउने अडान चिनियाँ पक्षले लिएका छन् ।’ काममा कुनै अवरोध नआओस् भनेर यस्तो माग राख्नु स्वाभाविक भएको उनको भनाइ छ । महाराजगन्जदेखि धोबीखोला पुलसम्मको साइट क्लियर नभएकाले त्यसलाई छोडेर बाँकी खण्ड (८ किमि) को विस्तार थाल्न चिनियाँ पक्षसँग छलफल भइरहेको उनले बताए । ‘साइट क्लियर भएका स्थानको डिजाइजनको काम अघि बढाउन काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत सम्बन्धित पक्षलाई सूचना पठाइएको छ,’ उनले भने । डिजाइन नभएका कारण सडक विस्तारको जिम्मा कुन कम्पनीले पाउने भन्नेबारे पनि अहिलेसम्म निर्क्योल भएको छैन । ‘डिजाइन नआई लागत इस्टिमेटबारे पनि थाहा हुँदैन,’ उनले भने । यसअघि चीन सरकारकै सहयोगमा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) ८ लेनमा विस्तार भइसकेको छ । जसको दूरी १०.३९ किमि छ ।

प्रकाशित : आश्विन १४, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?