१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

फूलपातीदेखि सात दिन रुट परमिट खुला

दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु
टिकटमा कालोबजारी गरेको पाइए तत्काल पक्राउ गरी कारबाही गरिने
विमल खतिवडा

काठमाडौँ — चाडबाडका बेला रुटमा चल्ने सवारीसाधन अपुग हुने भएपछि देशभर सञ्चालनमा रहेका सवारीलाई दसैंको फूलपातीदेखि सात दिनलाई रुट परमिट खुला गर्ने निर्णय भएको छ ।संसद्को विकास तथा प्रविधि समितिमा भएको छलफलले रुट परमिट खुला गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

फूलपातीदेखि सात दिन रुट परमिट खुला

जुनसुकै सवारीलाई यात्रु लिएर जहाँतहीँ जान पाउने गरी रुट परमिट खुला गर्न निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् । यसअनुसार यातायात व्यवसायीले कार्यान्वयनमा लैजाने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

रुट परमिट खुलाउनुअघि सवारीसाधनको प्राविधिक जाँच राम्रोसँग गर्न पनि समितिले भनेको छ । समिति बैठकमा आइतबार यातायात व्यवस्था विभाग, सडक विभागलगायत सरोकारवाला निकायको उपस्थितिमा चाडबाडमा सवारी सञ्चालन, सडकको अवस्थालगायत सम्बन्धमा छलफल भएको थियो । भीड कम गर्न अनलाइन टिकट बुकिङलाई प्राथमिकता दिनसमेत समितिले भनेको छ । क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने र यातायात व्यवसायी, सवारी चालक र यात्रुले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । बर्खामा भत्किएका सडक मर्मत र खाल्डाखुल्डी टालेर सवारी आवागमन सहज बनाउन समितिले निर्देशन दिएको छ ।

यसैबीच सोमबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । लामा तथा मध्यम दूरीका सवारीमा दसैंदेखि छठसम्मका लागि अग्रिम टिकट बुकिङ खुलाइएको हो । कोभिडको जोखिम कायमै रहेकाले अनलाइन बुकिङलाई प्राथमिकता दिइएको घिमिरेले बताए । ‘अनलाइनबाट अग्रिम बुकिङ खुलाउन सबै यातायात व्यवसायीलाई भनिएको थियो,’ उनले भने । चाडपर्वका बेला टिकट काउन्टर बढी अव्यवस्थित हुने गरेकाले त्यसको व्यवस्थापन गर्न काउन्टरमा बस्ने यातायात व्यवसायीलाई परिचयपत्र र ज्याकेट अनिवार्य गरिएको छ ।

काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको घिमिरेले जानकारी दिए । बसपार्क, रत्नपार्क, कलंकी, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, सीतापाइलालगायत स्थानमा सहायता कक्ष राखिएको छ । विभिन्न स्थानका लागि सवारीको भाडा दर फ्लेक्समा प्रिन्ट गरेर कक्षमा टाँसिएको छ । ट्राफिक प्रहरी, नेपाल प्रहरी र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधि हुनेछन् ।

बिचौलियाबाट यात्रुलाई ठगिन नदिन सादा पोसाकका प्रहरीसमेत परिचालान गरिने भएको छ । ‘नागढुंगासम्म यात्रु चढ्ने बसमा सादा पोसाकका प्रहरी परिचालित हुनेछन्,’ उनले भने, ‘उनीहरूले यात्रुको टिकट जाँच्ने, सिट क्षमताभन्दा बढी यात्रु राखिएको छ, छैनलगायत विषय हेर्नेछन् ।’ सडक विभागले दसैंसम्म सबै सडक ‘क्लियर’ गरिदिने सहमतिसमेत भएको छ । ‘अहिले बढी समस्या नारायणगढ–बुटवल र मनाङ जाने सडकमा छ, दसैंसम्म सबै क्लियर हुनेछ,’ घिमिरेले भने, ‘काठमाडौं वरपरका सडकका खाल्डाखुल्डी पनि पुरेर सहज यात्राको वातावरण बनाउँछौं ।’

प्रकाशित : आश्विन १२, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?