कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गुलियो नपस्दै स्याउ बजारमा

घनश्याम खड्का

म्याग्दी — मुस्ताङका स्याउ बगैंचा यतिबेला स्याउले रंगिएका छन् । पाक्न थालेसँगै स्याउको बजार यात्रा सुरु भएको छ । स्वादले परिपक्व हुन नपाई मुस्ताङी स्याउ बजारमा आउन थालेको छ । मुस्ताङी स्याउको वास्तविक स्वाद आउने समय असोज १५ पछि हो । तर व्यापारीले बढी नाफा पाउने भएपछि पूर्ण रूपमा गुलियो नपसेका स्याउ टिपेर बजारमा ल्याइएका हुन् ।

गुलियो नपस्दै स्याउ बजारमा

यसपालि मुस्ताङमा स्याउ उत्पादन औसत रहेको स्याउ जोन मुस्ताङले जनाएको छ । यस वर्ष ५ सय हेक्टर क्षेत्रफलमा रहेका उत्पादनयोग्य बोटबाट ७ हजार १ सय ५० टक स्याउ उत्पादन हुने आकलन छ । थप १२ सय हेक्टर क्षेत्रफलमा इटालीबाट आयातित उच्च घनत्वमा आधारित स्याउका बेर्ना हुर्किरहेका छन् । मुस्ताङमा प्रतिहेक्टर स्याउको उत्पादकत्व १४ दशमलव २ टन छ ।

किसानले पूरै बगान नै ठेकेदारलाई बिक्री गर्ने र व्यापारीले समयअघि नै टिप्ने हुँदा स्याउको स्वादमा गुणस्तर खस्किएको गुनासो आएको स्याउ जोन मुस्ताङमा प्रमुख सुधीर थापाले बताए । ‘स्याउको क्वालिटी कन्ट्रोलमा लागेका छौं,’ उनले भने, ‘यो वर्ष पनि कोरोनाको प्रभाव पर्दा मुस्ताङी स्याउको मूल्यमा केही असर पर्ने देखिन्छ ।’

यस वर्ष मुस्ताङमा थोकमा मूल्य प्रतिकिलो ६०–७० रुपैयाँ र खुद्रा मूल्य एक सयदेखि १ सय ५० रुपैयाँ राखिएको किसानको भनाइ छ । स्याउलाई ए, बी, सी र डी ग्रेड गरिएको छ । डी ग्रेड ब्रान्डी वा रक्सी बनाउनेले लैजान्छन् । कोरोनाका कारण मुस्ताङ भ्रमणमा आउने पर्यटक घट्दा स्याउका ग्राहक घटेपछि स्याउको राजधानी मार्फाका किसानले साना किसान कृषि सहकारीमार्फत काठमाडौं पुर्‍याएर ‘किसानको पोको’ भन्दै बिक्री गर्न लागेका छन् ।

बारीबाट घरमा ल्याएर प्याकिङ गरी सडकमार्गबाट काठमाडौं पुर्‍याउँदा ग्रेडिङ गरेको स्याउको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँसम्म पर्ने सहकारी संस्थाकी अध्यक्ष तथा कृषक कमला लालचन बताउँछिन् । ‘पर्यटक नआएपछि साना किसानका स्याउलाई ससानो पोको पारेर काठमाडौं पुर्‍याएर बेच्दै छौं,’ उनले भनिन् । मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोबाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे आदि गाउँमा गोल्डेन, डेलिसियस, रिचारेड, रेड डेलिसियस र फुजी जातका स्याउ खेती गरिन्छ ।

प्रकाशित : आश्विन ११, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?