३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उद्यममा रमाउँदै युवा

आफ्नो घरानियाँ व्यवसायमा साथ मात्र दिएका छैनन्, नयाँनयाँ व्यवसायमा सफल पनि हुँदै छन्
सन्जु पौडेल

लुम्बिनी — व्यावसायिक घराना गोयन्का ग्रुपअन्तर्गत अरुण एग्रो इन्डस्ट्रिज र एभरेस्ट रोलिङको निर्देशकका रूपमा २४ वर्षीय अचल गोयन्काले व्यवसाय सम्हालिरहेका छन् । जिजुबाजेको पालादेखि सुरु अचलको व्यावसायिक पृष्ठभूमिले उनको वैज्ञानिक बन्ने सोच फेरियो ।

उद्यममा रमाउँदै युवा

त्यसपछि पिताको कामलाई निरन्तरता दिने निर्णय लिएको उनले बताए । ‘हजुरबुबा र बुबाले बनाएको उद्योगीको छवि कायम राख्न उद्योग र व्यापार सम्हाल्नैपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘मसँगै नयाँ वस्तुको उत्पादन भित्रिएको छ, विस्तार गर्दै लैजाने सोच छ ।’ रूपन्देहीको ओमसतिया–२ स्थित उनको उद्योगमा अहिले ४ सय जनाले काम गर्छन् ।

२८ वर्षीय धीरज अग्रवाल पश्चिम नवलपरासीस्थित व्यावसायिक घरानामा जन्मिएका हुन् । अहिले उनले पाँचवटा व्यावसायिक उद्योग र ट्रेड सञ्चालन गरिरहेका छन् । घरका जेठा छोरा हुन् । २०६२/६३ मा घरको छतमा बसेर बाटो नियाल्दै गर्दा चिप्लिएर खसेपछि मेरुदण्डमा समस्या आएको थियो । अहिले उनले ह्विल चेयरको सहायतामा विभिन्न पाँच प्रतिष्ठानको प्रबन्ध निर्देशक भई काम गरिरहेका छन् । पवन मिष्ठान्न भण्डारका सञ्चालक पवन हलुवाईका छोरा पल्लवले होटल व्यवसाय सम्हालेका छन् ।

मिष्ठान्न भण्डारसँगै व्यापार विस्तार गर्न व्यवस्थापन संकायमा स्नातक पढेका पल्लवले लुम्बिनीस्थित पाँचतारे पवन प्यालेसको व्यवस्थापन हेरिरहेका छन् । हजुरबुबाकै पालादेखिको व्यापारलाई अघि बढाइरहेको उनले जानकारी दिए । देवदह–४, विजयपुरस्थित विन्ध्यवासिनी धातु उद्योगका सञ्चालक हुन्, २२ वर्षीय सचिन पंगेनी । बीबीए पढिरहेका उनले १६ वर्षको उमेरमै उद्योगी बन्ने चाहनास्वरूप बुबाको सहयोगमा उक्त उद्योग खोलेका थिए । बजार बुझ्न, के गर्दा ठीक होला भनी सोच्न र लगानी गर्न सुरुमा उनले धेरै दुःख गरे । थोरै बजेटबाट सुरु गरी चार करोड लगानी पुगेको उनको उद्योगमा ढोकामा फिटिङ गरिने आल्मुनियमका सामान बन्छन् ।

सुनचाँदीका गहना लगाउने सोख प्रायः नेपालीमा हुन्छ । तिनै सुनचाँदीका गहना बनाउन २०५७ सालमै पर्वतदेखि बुटवल आएका ३८ वर्षीय कमल विश्वकर्माको अहिले विश्व ट्रे/घाँटी नामक उद्योग छ । बुटवल–११, मझुवामा रहेको उनको उद्योगमा ५३ जनाले रोजगारी पाएका छन् । ‘सुन बनाउने काममा धेरै साहूकहाँ पुगियो, कतिले कामको प्रशंसा गरे, कतिले बेलैमा काम नभ्याउँदा कराए, अहिले आनन्द छ,’ कमलले विगत सम्झिए, ‘आफूले कमाउने, परिपूर्ण हुनेभन्दा पनि अरूलाई काम गर्ने वातावरण बनाउन सकेकामा खुसी लागेको छ ।’

चितवनका सिद्धार्थ शर्माले बुटवलमा डोसा एक्सप्रेसो खोलेका छन् । २८ वर्षीय उनी लामो समय भारतमा बसे, उहीँ होटल म्यानेजमेन्ट पढे र पाँचतारे होटलमा समेत काम गरे । घरका पाँच सन्तानमध्ये कान्छा उनी र अभिभावक नेपालमै बस्ने भनी फर्किए । र उनले सुरु गरे एक्सप्रेसो । आफैं सेफ भएको र बजारमा मःम, चाउमिन बाहेकका अरु स्वाद मानिसले चाहेको बुझेर उक्त व्यवसाय थालेको उनले बताए । उनी र शंकर शर्मा सञ्चालक रहेको खाजा घर बुटवलको चौराहामा सञ्चालित छ ।

महिलाले पनि चाहे गर्न सक्छन् भन्ने अठोटसाथ साइप्रसमा होटल म्यानेजमेन्ट पढेर फर्किइन्, जया बराल । अहिले उनको बुटवल र चितवनमा प्रख्यात क्याफे लाइम एण्ड लेमन सञ्चालनमा छ । ३० वर्षीया जयाले १२ कक्षासम्म यहीँ पढेपछि साइप्रस गएकी थिइन् । साढे चार वर्षको पढाइ सकेर उनले नेपालमै सीप प्रयोग गर्ने आशयले फर्किएको उनले बताइन् । ‘आएको डेढ वर्षपछि बुटवलमा क्याफे थालें,’ उनले भनिन्, ‘बिस्तारै यसलाई अन्यत्रसमेत विस्तार गरिरहेकी छु ।’ उनीसँगै श्रीमान् सागरले पनि साइप्रसकै अध्ययनलाई श्रीमतीसँगै प्रयोगमा ल्याएका छन् ।

युवा व्यवसायीलाई प्रोत्साहन गरे नेपाली उद्योग थप फस्टाउने र विदेश जाने क्रममा केही नियन्त्रण हुने उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्वल कसजुले बताए । पुर्ख्यौली होस् वा आफ्नै सुरुवात, संघसंस्थाले युवालाई प्रोत्साहन गरी हौसला दिएर सल्लाह सुझाव दिने र काममा सहजता प्रदान गर्न सके आफूहरूकै लागि राम्रो हुने उनको भनाइ छ ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, स्थल सीमा नाका रहेको रूपन्देहीका विभिन्न क्षेत्रमा अहिले लगानीका क्षेत्र विस्तार भइरहेका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र उत्पादनमूलक उद्योगमा लगानी बढिरहेको छ । कोरोना महामारीका बेला यस्ता उद्योग, व्यवसाय विस्तारको जिम्मेवारी युवाको काँधमा देखिएको छ ।

प्रकाशित : आश्विन ११, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?