चाडबाडले ततायो अटोबजार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडबाडले ततायो अटोबजार

चारपांग्रे सवारीको माग धेरै, आयात कम
मोटरसाइकल र स्कुटरको माग पनि चुलिँदै
विमल खतिवडा, नुमा थाम्सुहाङ

काठमाडौँ — दसैंको चहलपहल सुरु भएको छ । दसैं सकिँदा–नसकिँदै तिहारको रौनक पनि सुरु हुन थाल्छ । सँगै छठ त छँदै छ । यही मेसोमा अटो व्यवसायीले दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफर योजना ल्याएका छन् । कोभिडका कारण गत वर्ष सुस्ताएको अटो व्यवसाय यस वर्ष भने उत्साहजनक रहेको व्यवसायी बताउँछन् । 

कम्पनीहरूका बिक्री कक्ष यति बेला सजिसजाउ छन् । छुट र नयाँनयाँ योजनाले ग्राहक लोभ्याइरहेका छन् । गत वर्षको तुलनामा यस वर्ष चारपांग्रे सवारीको माग बढी छ । ‘अघिल्लो दसैंमा कोभिडले व्यवसायीलाई गाह्रो पारेको थियो,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘अहिले जोखिम कायमै रहे पनि बजार बढेको छ । तर चारपांग्रे सवारीको मागअनुसारको आयात छैन ।’

गत वर्षको तुलनामा यो वर्ष व्यापार दोब्बर छ । त्यसमा पनि सबैभन्दा धेरै माग विद्युतीय सवारीको रहेको अध्यक्ष दुलालले जानकारी दिए । ‘५ सय वटा गाडीको माग हुँदा ५० वटाको मात्र आयात छ,’ उनले भने, ‘माग धेरै भयो, कोभिडका कारण भारतलगायत विदेशी मुलुकमा उत्पादन कम हुँदा आयात हुन सकेन ।’ अब विस्तारै उत्पादन बढ्दै जाने र अनुसार पनि बढ्ने उनको भनाइ छ । गत असार मसान्तसम्मको तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात ७० प्रतिशत बढेको दुलालले जानकारी दिए ।

चारपांग्रे मात्र होइन, चाडबाडका बेला दुईपांग्रेको बजार पनि राम्रो छ । ‘दुईपांग्रे आयात पनि गत वर्षको तुलनामा करिब ८० प्रतिशत बढेको छ,’ उनले भने, ‘चाडबाडले बजार तातेको हो ।’ एक/दुई महिनामा थप उत्पादन बढ्ने उनले सुनाए । चाडपर्वको मौका पारेर विभिन्न अटो कम्पनीहरूले थरीथरीका छुट योजना ल्याएका छन् । दुईपांग्रेअन्तर्गत बजाज, टीभीएस, हिरो, सुजुकी र बेनेलीका मोटरसाइकल तथा स्कुटरमा छुट योजना राखिएको छ । त्यस्तै ड्याट्सन, हुन्डाई र ग्रेट वाल मोटर्सका गाडीमा दसैंतिहार लक्षित छुट तथा उपहार योजना अघि सारिएको छ ।

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द्र एन्ड कम्पनीले ‘बजाज खुसीको ३ डोज’ योजना ल्याएको छ । टीभीएस दुईपांग्रे मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस छ प्राइजको सरप्राइज’ र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘हिरोको बेला हिरोको मेला’ अफर ल्याएको छ ।

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बित्रेता भीजी अटोमोबाइल्सले ‘दसैं आयो, उमंग छायो, क्यासब्याका साथै बम्पर पायो’ र बेनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले ‘थ्री एक डिस्काउन्ट फिएस्टा’ नामक उपहार तथा छुट योजना ल्याएका हुन् । कम्पनीका यी योजना छठसम्म लागू हुने जनाइएको छ ।

बजाजका मोटरसाइकल खरिद गर्नुअघि १० हजार रुपैयाँसम्मको अग्रिम नगद छुट पाउन सकिन्छ । मोटरसाइकल किन्दा एक लाख रुपैयाँसम्मको नगद छुट र बम्परमा १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म जित्न सक्ने अवसर राखिएको छ । हरेक दिन रियलमी सी २० स्मार्टफोनसमेत हात पार्न सक्ने कम्पनीले जनाएको छ । हिरोले भने आफ्ना मोटरसाइकल तथा स्कुटरमा फाइनान्सको सुविधा राखेको छ, जहाँ शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ । हिरो कम्पनीका मोटरसाइकल तथा स्कुटर खरिदमा ६ हजार रुपैयाँ र स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म नगद छुट पाइनेछ । बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख रुपैयाँ नगद उपहार पाउने कम्पनीले जनाएको छ ।

सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा एक वर्षका लागि सवारी कर, फाइनान्स र एक्सचेन्ज सुविधा छ । योजनाअनुसार सुजुकीका मोटरसाइकल तथा स्कुटर किन्दा १० हजार रुपैयाँ नगद छुट पाइनेछ । बेनेलीको मोटरसाइकल किन्नुअघि, किन्दा र किनेपछि तीन पटकसम्म छुट पाइन्छ । पहिलो ई–डिस्काउन्टअन्तर्गत मोटरसाइकल किन्नुअघि नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिनेछ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

चारपांग्रेतर्फ ड्याट्सनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ‘ड्याटसन फेस्टिभ हट डिल’, हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिझ डिलाइट २०७८’ र ग्रेटवाल मोटर्सको आधिकारिक बित्रेता भीजी इम्पेक्सले ‘चाडपर्वको उमंग ‘हेभल र पोयर चढी दंग’ योजना ल्याएका छन् ।

ड्याट्सन गाडी किन्दा २० लाख ४ हजार १ सय ५२ रुपैयाँ बराबरको विशेष छुट सुविधा, १ लाख २५ हजार रुपैयाँ नगद छुट र २७ हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस पाइन्छ । त्यस्तै एक वर्षको बिमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ । ड्याटसनको गाडीमा फाइनान्स र एक्सचेन्जको सुविधा पनि छ । हुन्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एक जनाले बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, ३ लाख रुपैयाँसम्म थप नगद छुट र एक वर्षसम्मको बिमा निःशुल्क तथा सडक कर पाउने कम्पनीको भनाइ छ ।

ग्रेटवालले ल्याएको योजनाअनुसार दुई एसयूभी सवारी तेस्रो जेनेरेसनको हेभल एच ६ र हेभल जुलियनका साथै पोयर पिकअपमा ६ लाख रुपैयाँसम्मको फाइदा लिन सकिनेछ । यी सवारी खरिदमा एक वर्षको निःशुल्क सडक कर, विस्तृत बिमा र फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।

नेपालका लागि प्रोटोन सागाको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पनि ‘दसैं दक्षिणा’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडी खरिदमा एक लाखदेखि ६ लाख रुपैयाँसम्मको अफरयुक्त ‘दक्षिणा’ पाउने कम्पनीले जनाएको छ । यसअन्तर्गत कुनै पनि ब्रान्डका पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरे ग्राहकले ५० हजारदेखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने पनि कम्पनीको भनाइ छ ।

नाडा अटो सो फागुनमा

यसैबीच एसोसिएसनले यस वर्षको नाडा अटो सो आगामी फागुनमा गर्ने तयारी रहेको बताएको छ । आउँदो मंसिरमा हुने एसोसिएसनको साधारणसभाले यसबारे निर्णय गर्ने अध्यक्ष दुलालले जानकारी दिए । ‘कोभिडका कारण गतवर्ष अटो सो हुन सकेन,’ उनले भने, ‘अब भने कोभिडको अवस्था हेरेर अटो सो गर्नेछौं ।’

त्यसका लागि भृकुटीमण्डपस्थित प्रदर्शनी स्थल बुकिङ गरिसकिएको उनको भनाइ छ । अटो सोमा सहभागिताका लागि व्यवसायीलाई नाडाले रजिस्ट्रेसन खुलाइसकेको उनले बताए । नाडा अटो सो व्यवसायीका लागि आफ्ना उत्पादन प्रदर्शन र व्यवसायको प्रवर्द्धन गर्ने माध्यम हो ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

बढ्यो मोटरसाइकल र गाडीको आयात

विमल खतिवडा, नुमा थाम्सुहाङ

काठमाडौँ — पोहोर फागुन सुरुदेखि नै कोरोना संक्रमणको त्रास बढ्दा बिस्तारै आर्थिक गतिविधिमा मन्दी छाएको थियो । अटोमोबिल व्यवसायीहरूले विभिन्न कम्पनीका गाडी झिकाए, ग्राहकको माग नै घट्यो । कोरोनाले निम्त्याएको संकटलाई ध्यानमा राख्दै सरकारले धेरै विदेशी मुद्रा बाहिरिने सवारीको आयातमा पनि कडाइ गर्‍यो ।

अर्डर नै नभएपछि त्यसबेला उनीहरूले भन्सारमा आइपुगेका गाडी छुटाएका थिएनन् । त्यसबेला वीरगन्ज भन्सारको यार्ड गाडीले भरिएको थियो । लकडाउन हट्यो । त्रासकै बीच जनजीवन सामान्यतर्फ फर्किंदा मास्क लगाउनु र साबुनपानीले हात धुनु स्वास्थ्य सुरक्षाका लागि जति जरुरी भयो, त्यो जतिकै ध्यान दिनैपर्ने बन्यो– सामाजिक दूरी कायम गर्नु, भीड नगर्नु ।

यसको सोझो असर सवारीको बजारमा पर्‍यो । धेरैलाई निजी सवारी लिनैपर्ने बाध्यता आइलाग्यो । साधन खरिद गर्न चाहनेका लागि सम्बद्ध कार्यालय र बैंक तथा वित्तीय संस्था पनि कर्जा दिन सहज भए । चालु आर्थिक वर्ष लागेलगत्तै आर्थिक गतिविधि सामान्य बन्दै गएपछि सबैखाले सवारी साधनको आयात बढेको छ । नयाँ गाडी भन्सारमै थन्क्याउनुपरेको छैन ।

भन्सार विभागको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार दुई र चारपांग्रे सवारीको आयात बढेको हो । गत साउनदेखि फागुनसम्म २१ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार ३ सय थान दुईपांग्रे सवारी आयात भएको छ । सोही अवधिमा २२ अर्ब २८ करोड ९४ लाख रुपैयाँ बराबरको १९ हजार १ सय ४ थान चारपांग्रे सवारी आयात भएको विभागको तथ्यांक छ ।

दुईपांग्रेतर्फ सबैभन्दा बढी कात्तिकमा ३ अर्ब ९६ करोड ९५ लाख रुपैयाँका ४३ हजार ९ सय २१ थान सवारी आयात भएको छ । असोजमा ३ अर्ब ९४ करोड ३० लाख रुपैयाँका ४२ हजार ४ सय ४३ थान सवारी भित्र्याइएको छ । फागुनमा ३ अर्ब ५४ करोड ७५ लाख रुपैयाँका ३७ हजार ५ सय ८९ थान दुईपांग्रे सवारी आयात भएको छ ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार कोभिडले गर्दा अटो बजार लामो समय थलियो । व्यापार व्यवसाय ठप्प बन्यो । दसैंयता भने बजार चलायमान बन्दै गएको छ । अहिले सबैभन्दा बढी माग दुईपांग्रे सवारीको छ । ‘अहिले बजार सुधार हुँदै गएको छ,’ दुलालले भने, ‘आयात पनि बढिरहेको छ ।’

सवारीको मागअनुसारै आयात हुने गरेको छ । चाडबाडको समयमा विभिन्न छुट अफरले गर्दा दुईपांग्रे सवारी लिनेको संख्या ह्वात्तै बढेको हो । त्यसपछि बजार केही सहज बन्दै गएको नाडाले जनाएको छ । विभागको तथ्यांकअनुसार सबैभन्दा बढी असोजमा ३ अर्ब १ करोड ५८ लाख रुपैयाँ बराबरका ३ हजार २ सय ५१ थान चारपांग्रे सवारी आयात गरियो ।

माघमा ३ अर्ब ६१ करोड ३ लाख रुपैयाँका ३ हजार १ सय ७३ थान र फागुनमा ३ अर्ब ३१ करोड ७५ लाख ५९ हजार रुपैयाँका ३ हजार ३६ थान चारपांग्रे सवारी भित्र्याइएको छ । विभागले आठ महिनामा दुईपांग्रेबाट २१ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चारपांग्रेबाट पनि ३२ अर्ब १५ करोड ४१ लाख रुपैयाँ राजस्व उठेको छ ।

अध्यक्ष दुलालका अनुसार तीन/चार वर्षदेखि सवारी साधनको आयात घट्दो क्रममा थियो । यसपालि भने बढ्दो रहेको उनको भनाइ छ । दुईपांग्रे सवारी अघिल्लो वर्षभन्दा डेढ गुणा बढी आयात भएको उनले बताए । चारपांग्रे सवारीको आयात पनि बढ्दै गएको छ । ‘अटोमोबिल्सका सबै क्षेत्रमा अहिले उत्साहजनक अवस्था छ,’ उनले भने, ‘कोभिडले लामो समय असर गरे पनि अहिले राम्रो छ ।’

उनका अनुसार महँगा सवारीमा रोक लगाउँदा धेरै सवारी भन्सारमै रोकिएका थिए । ‘त्यस्ता सवारी ल्याउन नपाएर एक वर्षभन्दा बढी समयदेखि भन्सारमा रोकिएका थिए, जसले गर्दा व्यवसायी डुब्ने खतरा थियो,’ उनले भने, ‘महँगा सवारीको आयात खुला गरिदिएर सरकारले राम्रो काम गरिदिएको छ ।’

प्रकाशित : चैत्र १२, २०७७ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×