१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विशेष पुनर्कर्जाको दायरा विस्तार

काठमाडौँ — इन्टरनेट र विद्युतीय भुक्तानी सेवा प्रदायक, खोप उत्पादक उद्योग र पूर्वाधार विकास बैंकलाई पनि विशेष पुनर्कर्जा सुविधा

अब इन्टरनेट सेवा प्रदायक, विद्युतीय भुक्तानी सेवा प्रदायक, खोप उत्पादन गर्ने उद्योग र पूर्वाधार विकास बैंकले पनि विशेष पुनर्कर्जा पाउने भएका छन् । मौद्रिक नीतिमा घोषित व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ तेस्रो संशोधन गरेको छ । संशोधित कार्यविधि बिहीबारदेखि कार्यान्वयनमा आएको छ ।

विशेष पुनर्कर्जाको दायरा विस्तार

विशेष पुनर्कर्जाअन्तर्गत ऋणीले ३ प्रतिशत ब्याजदरमा कर्जा पाउँछन् । यो कर्जामा हाल राष्ट्र बैंकले १ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई पैसा दिन्छ । उक्त रकम लिएर बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमा ग्राहकलाई कर्जा प्रवाह गर्नुपर्छ । यसअन्तर्गत महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम–व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न, निर्यात र १० मेगावाटभन्दा साना जलविद्युत् आयोजना पर्छन् ।

ब्रोडब्यान्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्‍याउने गरी दुर्गम स्थानमा सेवा दिने इन्टरनेट सेवा प्रदायक संस्था, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकले पनि यो सुविधा पाउँछन् । ‘सञ्चार सेवा प्रदायक संस्था तथा सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको कर्जालाई पनि बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जा दिन पाउँछन् ।

सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीका लागि ६ महिनाका लागि पुनर्कर्जाको व्यवस्था कार्यविधिमा छ ।

विद्युतीय सवारीसाधनका लागि आवश्यक चार्जिङ स्टेसन स्थापनाका लागि प्रवाह भएका कर्जालाई पनि पुनर्कर्जा दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?