‘सरकारले प्याडको भन्सार महसुल बढाएको छैन’

काठमाडौँ — सरकारले स्यानिटरी प्याड आयातमा भन्सार महसुल नबढाएको प्रस्ट्याएको छ । स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको अर्थमन्त्री जर्नादन शर्माको सचिवालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारले प्याडको भन्सार महसुल बढाएको छैन’

‘वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । सरकारले स्यानिटरी प्याड आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको ध्यानाकर्षणसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चापदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन विधेयकले स्वास्थ्य खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छुट हुने व्यवस्थासमेत गरेको छ ।

प्रकाशित : आश्विन ८, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?