कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

एनआरएनए निर्वाचनमा थापा प्यानलको उम्मेदवारी

थोरै आम्दानी गर्नेलाई पनि लगानीको अवसर दिने प्रतिबद्धता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन् । संघमा उपाध्यक्ष रहेकी थापाले कात्तिक ३ मा हुने एनआरएनएको १० औं राष्ट्रिय सम्मेलनमा हुने निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने उनले बिहीबार घोषणा गरेकी हुन् । उनको प्यानलमा उपाध्यक्षमा जयप्रकाश गुरुङ, महासचिवमा विनय अधिकारी र सचिवमा ओम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए निर्वाचनमा थापा प्यानलको उम्मेदवारी

‘गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकता दिलाउन नेपाल सरकारसँग पहल गर्नेछौं । यो नै हाम्रो मुख्य एजेन्डा हो,’ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा थापाले भनिन् । संघमा रहेका सबै सदस्यले केन्द्रको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्नु पनि आफ्नो प्राथमिकता रहने उनको भनाइ छ । दोहोरो करका सम्बन्धमा पनि गैरआवासीय नेपालीले छुट पाउनुपर्ने विषयलाई जोड दिइने उनले जनाइन् ।

म्याग्दीमा जन्मिएकी थापाले पहिला जापानमा रहेर सामाजिक अभियन्ताका रूपमा काम गरेकी थिइन् । त्यसपछि उनले अमेरिकामा रहेर गैरआवासीय संघमा आबद्ध भई काम गरिरहेकी छन् । म्याग्दीस्थित मोना हाइड्रोपावरमा उनको पारिवारिक लगानी छ । ‘वैदेशिक रोजगारीमा जाने नेपालीलाई बाहिरको कानुन थाहा नहुने भएकाले साना गल्तीले समेत जेलमा बस्नुपरेको अवस्था छ,’ उनले भनिन्, ‘यससम्बन्धी नीतिमा सरकारसँग पहल गर्नेछौं ।’ समृद्धिका लागि सुरक्षित रोजगारीको वातावरण सिर्जना गर्न सघाउने, उद्यमलाई प्राथमिकता दिने र युवाहरुलाई संघमा ल्याउने उनको भनाइ छ ।

उपाध्यक्षका उम्मेदवार गुरुङ सन् २००५ देखि संघमा आबद्ध छन् । एनआरएनए यूकेको कार्यसमिति सदस्य रहेर काम गरेका उनले ग्लोबल गोर्खा समाजका संरक्षक एवं संस्थापक अध्यक्ष रूपमा काम गरिरहेका छन् । ‘संघमा मैले गोर्खालीहरुको हक स्थापना गर्न आफ्नो उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘संघमा लामो समयदेखि यससम्बन्धी मुद्दा सम्बोधन हुन सकेका छैनन् । गोर्खालीहरुको मुद्दालाई केन्द्रीयस्तरदेखि उठाउन आवश्यक छ ।’

बेलायतमा रहेर विभिन्न पेसा व्यवसायमा संलग्न महासचिव उम्मेदवार अधिकारीको नेपालमा शिक्षा, हाइड्रो र स्वास्थ्य क्षेत्रमा लगानी छ । उनी सूचना प्रविधि व्यवसायी हुन् । ‘सन् २०१३ देखि संघमा आबद्ध छु,’ उनले भने, ‘एनआरएनए यूकेको उप–महासचिव रहेर काम गरेको अनुभव छ । यही अनुभवले गरेर महासचिवमा उम्मेदवारी दिने आत्मविश्वास आएको हो ।’ सचिवका उम्मेदवार गुरुङ जापानमा रही विभिन्न संघसंस्थाको काममा आबद्ध छन् ।

विदेशका ससानो लगानी ल्याएर समूहमा लगानी गर्ने योजना रहेको थापा समूहले बताएको छ । ‘थोरैथोरै पैसा संकलन गरेर यहाँ ठूलो क्षेत्रमा लगानी गर्ने सम्भावना धेरै रहन्छ,’ थापाले भनिन्, ‘जसरी भए पनि हामीले ससाना व्यवसायलाई सहयोग गर्ने भन्ने योजनासहित पुँजी संकलन गर्ने योजना बनाएका छौं ।’

विदेशमा हासिल गरेको सीपलाई व्यवसायिकीकरण गर्ने योजनासमेत रहेको उनको भनाइ छ । विदेशबाट नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिई धेरै जनालाई दक्ष बनाउन सकिने उनको भनाइ छ । विदेशमा नेपालीले सिकेको ज्ञान र सीपलाई एनआरएनएले नेपालसँग जोड्नसमेत आफूले धेरै काम गरेको उनले बताइन् । थापा समूहको उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए एनसीसी सदस्यहरू जापानबाट ओम गुरुङ, अमेरिकाबाट प्रेम श्रेष्ठ र कृष्ण जीबी पन्थले समर्थन गर्ने घोषणा गरेका थिए ।

प्रकाशित : आश्विन ७, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?