विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह

रासस

काठमाडौँ — चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३ हजार ८०० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८० प्रतिशतले घटेको थियो ।

सो अवधिमा खुद ट्रान्सफर आय १६.४ प्रतिशतले कमी आई ८५ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो ।

प्रकाशित : आश्विन ७, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्

लागूऔषध कारोबार गर्ने गिरोह पक्राउ 

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर प्रहरीले लागूऔषध कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–५ क्वाछेंका १९ वर्षीय राजेश शाही, उनकी पत्नी २० वर्षीया सरिता शाही, धादिङ बेनिघाट गाउँपालिका–३ घरभई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३९ वर्षीय केशव क्षेत्री छन् ।

यस्तै सर्लाही धनकौल गाउँपालिका–४ महिनाथपुरका २८ वर्षीय रामविश्वास राय यादव, धनकौल गाउँपालिका–३ हरकठवाका २६ वर्षीय मोहमद शेष ईन्ताज र ललितपुर महानगर–१२ थतीका २९ वर्षीय रविन देउला छन् ।

उनीहरुको साथबाट नोफिन ६ सय ७६ थान, डाइजापाम ६ सय ७६ थान, फिनारगन ५ सय ८१ थान, नाइट्राभेट–१० (१८ सय थान ट्याब्लेट), प्रोमेथाजिन ९५ थान बरामद गरिएको छ । त्यस्तै, उनीहरुले लागूऔषध कारोबारमा प्रयोग गरेको मोटरसाइकल एक थान, मोबाइल ९ थान, सिमकार्ड १३ थानलगायत सामग्री र ४६ हजार रुपैयाँ नगद बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । उनका अनुसार पक्राउ परेकाहरुले भारतबाट लागूऔषध ल्याई उपत्यकामा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।


प्रकाशित : आश्विन ७, २०७८ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×