कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चाडपर्व लक्षित अनुगमन बिहीबारदेखि, जिल्लामा पनि केन्द्रबाट अनुगमन टोली खटाइने

काठमाडौँ — सरकारले चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । ‘असोज १ देखि दैनिक ७ वटासम्म अनुगमन टोली खटाइरहेका छौं, तर चाडपर्व लक्षित अनुगमन बिहीबारदेखि सुरु हुन्छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले भने, ‘अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरु सहभागी हुनेछन् ।’

चाडपर्व लक्षित अनुगमन बिहीबारदेखि, जिल्लामा पनि केन्द्रबाट अनुगमन टोली खटाइने

उनका अनुसार अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ । यस्तो अनुगमन प्रदेश सरकार र स्थानीय तहले पनि गर्नेछन् । ‘संविधानले दिएको अधिकारअनुसार बजार अनुगमनमा स्थानीय तहलाई पनि सक्रिय बनाउने निर्णय भएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पनि दिइसकेको छ,’ उनले भने, ‘नापतौल र गुणस्तरबारे हुने ठगीबाट बच्न गुणस्तर तथा नापतौल विभागले एक साताको सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । त्यसपश्चात् पनि सुधार नभए ऐनअनुसार कारबाही गरिन्छ ।’ विभागले उपत्यकासँगै सबै जिल्लामा पनि केन्द्रबाट अनुगमन टोली खटाउने योजना बनाएको छ ।

काठमाडौं महानगरपालिकाले पनि दैनिक अनुगमन गर्ने जनाएको छ । अनुगमनकै लागि महानगरले विभागसँग प्रतिनिधि माग गरेको छ । ‘महानगरले गर्ने अनुगमनमा कारबाहीको अधिकार हुँदैन, त्यसैले वाणिज्यसँग अनुगमन निरीक्षक माग गरेको छ,’ महानिर्देशक पौडेलले भने, ‘त्यहाँबाट पनि २/३ टोलीबाट अनुगमन हुन्छ ।’

विभागका प्रवक्ता शिवराज सेढाईंले बजार अनुगमन दैनिक भइरहेको दाबी गर्छन् । उनका अनुसार अनुगमन गर्नै सामान्य प्रशासन मन्त्रालयबाट १०/१२ जना कर्मचारी थपिएका छन् । ‘केन्द्रीय अनुगमन समितिको निर्णयअनुसार नै अनुगमन भइरहेको छ । एउटा टोली विभागमै हुन्छ, केही उजुरी/गुनासो भए तत्काल अनुगमन हुन्छ,’ उनले भने, ‘अन्य टोलीले दसैंमा कारोबार हुने वस्तु, लत्ताकपडा, मसला, खाद्यन्न, मासु पसलमा अनुगमन गरिरहेका छन् ।’

अनुगमनको क्रममा मुख्यत: बिलबिजक र स्टिकरको समस्या देखिएको उनले बताए । ‘त्यस्ता व्यवसायीलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना भइरहको छ,’ उनले भने । उपत्यकामा करिब साढे ४ लाख पसल छन् । अनुगमन निरीक्षक सीमित भएकाले अहिले भइरहेको अनुगमन सांकेतिक मात्रै रहेको विभागकै भनाइ छ । ‘सरकारले गर्ने अनुगमन सांकेतिक हो । ठग्न पाइँदैन, सर्वसाधारणलाई ठगी गरे कारबाही हुन्छ भन्ने व्यवसायीलाई सचेत गराउनु यसको उद्देश्य हो,’ उनले भने ।

प्रकाशित : आश्विन ६, २०७८ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?