सेयर बजारमा छलाङ, झण्डै १०५ अंकले बढ्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब १ सय ५ अंकले बढेर २ हजार ८ सय १६.९५ बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा बुधबारको नेप्से ३.८७ प्रतिशतले बढी हो । अघिल्ला चार कारोबार दिनमा लगातार घटेको नेप्से मंगलबार करिब १४ अंकले बढेको थियो । बुधबार पनि नेप्सेले मंगलबारकै प्रवृत्ति पछ्याएको हो ।

सेयर बजारमा छलाङ, झण्डै १०५ अंकले बढ्यो

सो दिन बजार खुलेदेखि नै नेप्से उकालो लाग्न थालेको थियो । वृद्धिदरमा घटबढ भएपनि समग्रमा दिनभर नै बजार उकालो लाग्यो । बजार बन्द हुँदा करिब १ सय ४.८८ अंकले नेप्से बढ्यो । सो दिन कारोबारमा आएकामध्ये सबै उपसमूहको परिसूचक उच्च दरले बढेपछि समग्र नेप्सेको वृद्धिमा बलियो टेवा पुगेको हो । नेप्से बढेसँगै सेयर बजारको आकार कूल बजार पुँजीकरण पनि बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ कायम भएको छ ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने घटेको छ । बुधबार करिब ७२ हजार ७ सय १४ कारोबारबाट २ सय १७ कम्पनीका १ करोड २१ लाख २२ हजार ३ सय कित्ता सेयर किनेबच भए । ती किनबेचबाट ६ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार करिब ९५ हजार ६ सय ४६ कारोबारबाट २ सय २३ कम्पनीका १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर किनेबच हुँदा ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्सेको वर्गिकरणमा ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८३ प्रतिशत र व्यापारमा आएका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ४.०५ प्रतिशतले बढ्यो ।

बुधबार वित्त कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी ८.५४ प्रतिशतले बढ्यो । यस्तै, विकास बैंक उपसमूहको परिसूचक ७.७४ र जलविद्युत उपसमूहको परिसूचक ५.५७ प्रतिशतले बढे । बाँकी सबै उपसमूहले पनि वित्त कम्पनी, विकास बैंक र जलविद्युतलाई नै पछ्याउँदै उकालो लागेका छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?