कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ऊर्जामन्त्रीद्वारा माथिल्लो अरुण र अरुण तेस्रो आयोजनाको अनुगमन

दीपेन्द्र शाक्य

संखुवासभा — ऊर्जामन्त्री पम्फा भुसालले संखुवासभामा निर्माणाधीन जलविद्युत आयोजनाहरूको स्थलगत अनुगमन गरेकी छन् । बुधबार हेलिकप्टरबाट संखुवासभा आइपुगेकी भुसालले नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत आयोजना, निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना र २ सय २० केभी प्रसारण लाइनको कोसी करिडोरको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।

ऊर्जामन्त्रीद्वारा माथिल्लो अरुण र अरुण तेस्रो आयोजनाको अनुगमन

मन्त्री भुसालसहितको टोली माथिल्लो अरुणको ड्यामसाइड र पावरहाउसस्थल पुगेर फर्किएको थियो ।

अरुण तेस्रो आयोजनाको ड्यामसाइड स्थलमा सुरुङ निर्माणस्थलको स्थलगत अनुगमन गरेकी थिइन् । उनले अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा चलिरहेको प्रतिक्रिया दिइन् ।

एसजेभीएनका सीईओ अरुण धिमानले मन्त्री भुसाललाई हालसम्म ड्याम साइड र पावरहाउसमा भएको कामको गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले कोरोना महामारीमा पनि कामको गति नघटेको जानकारी दिए ।

विकट क्षेत्र, सडकको असुविधा भएपनि काम अघि बढेको धिमानले जानकारी गराएका छन् । कठिनाइ हुँदहुँदै तीन वर्षमा ४० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उनले सुनाए । मन्त्री भुसालले यसलाई राम्रै उपलब्धिका रूपमा लिएको बताइन् ।

मन्त्री भुसालले तुम्लिङटारमा निर्माणाधीन २ सय २० केभीको कोसी कोरिडोरको पनि स्थलगत निरीक्षण गरेकी थिइन् । ऊर्जामन्त्रीसँगै ऊर्जा सचिव देवेन्द्र कार्की र अर्थ सचिव मधु मरासिनी, नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङलगायतका सरकारी अधिकारीको पनि उपस्थिती थियो । तीनवटै आयोजनाको स्थलगत अनुगमनपछि मन्त्रीसहितको टोली बुधबार नै राजधानी फर्किएको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?