पर्वतीय उडान सुरु

काठमाडौँ — निषेधाज्ञाका कारण वैशाखयता ५ महिना बन्द रहेको माउन्टेन फ्लाइट (पर्वतीय उडान) चाडपर्वको आगमनसँगै खुला भएको छ । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै बुद्ध एयर र यति एयरलायन्सले काठमाडौंबाट हुने पवर्ततीय उडान सुचारु गरेको जनाएका छन् ।

पर्वतीय उडान सुरु

पर्वतीय उडान हुने रुटमा दुवै वायुसेवाले गणेश हिमालदेखि विश्वकै अग्लो हिमचुचुरो सगरमाथासम्म कम्तीमा एक दर्जन हिमालको नजिकैबाट दृश्यावलोकन गराउँछन् । यो रुटमा काठमाडौंबाट उड्ने जहाज २५ हजार फिट उचाइमा उड्दै फन्को लगाउँदै काठमाडौंमै फर्किन्छन् ।

पर्यटन बजार चलायमान बनाउन बुद्धले हरेक शनिबार ९ हजार ९ सय ९९ रुपैयाँमा बिक्री गर्ने एउटा टिकटमा अर्को एकजनालाई सित्तैमा उडाउने अफर ल्याएको छ । यो अफर नेपाली र भारतीय नागरिकका लागि मात्रै हो ।

भारतीयबाहेक अन्य मुलुकका नागरिकहरुले पर्वतीय उडानको टिकट १ सय ९२ डलर मा खरिद गर्नुपर्ने हुन्छ । यात्रु संख्या १९ भन्दा बढी भए बुद्धले ७० सिट क्षमताको एटीआर–७२ जहाज उडाउने जनाएको छ । बुकिङ कम भएमा १९ सिट क्षमताको बिचक्राफ्ट जहाज उडाउँछ ।

यसैबीच यतिले हरेक आइतबार पर्वतीय उडान सुरु गर्ने घोषणा गरेको छ । ‘मौसममा केही सुधार हुने संकेत देखिएको र सेप्टेम्बर–मार्च महिना उपयुक्त मानिने भएकाले पर्वतीय उडान सुचारु गरिएको छ,’ यतिका प्रवक्ता सुर्दशन बर्तौलाले भने ।

यतिले पर्वतीय उडानमा एटीआर–७२ विमान उडाउने छ । उसले दुई जना नेपालीलाई ९ हजार ८ सय ४८ रुपैयाँ तथा दुई जना आवासीय विदेशीका लागि १४ हजार ७ सय ७५ रुपैयाँ भाडा तोकेको छ । यतिले एक जनामात्रै नेपाली वा भारतीय भएमा सगरमाथाको उचाइ बराबर अर्थात ८ हजार ८ सय ४८ रुपैयाँ एउटा टिकटको भाडा तोकेको छ ।

हिमालमा पदयात्रा तथा आरोहण गर्न नसक्ने हिमालप्रेमी विदेशीहरुका लागि नेपालको माउन्टेन फ्लाइट प्रख्यात छ । कोरोना संक्रमणअघि निजी वायुसेवाहरुले पूर्वमा विराटनगर र पश्चिममा पोखराबाट पनि माउन्टेन फ्लाइट सुरु गरेका थिए । तर, कोरोना संक्रमणसंगै यी दुई स्थानबाट हुने उडान बन्द हुन पुगे ।

प्रकाशित : आश्विन ६, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?