कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिलेबाट फुकुवा होला खर्च ?

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित, भदौ ३१ देखिको खर्चलाई वैधता दिइने

काठमाडौँ — सरकारले सोमबार प्रतिनिधिसभाबाट पारित गरेको विनियोजन विधेयकले भदौ ३१ देखि गरेको खर्चलाई समेतलाई वैधता दिने भएको छ । बजेट अध्यादेशको म्याद सकिएको दिनदेखि लागू हुने गरी विनियोजन विधेयक पारित गरिएको हो । संसद् बैठकमा उपस्थित सांसदले बैठक भत्तासमेत नपाउने भएपछि भूतप्रभावी कानुन बनाउन सत्तापक्ष सांसद एकमत भएका हुन् ।

कहिलेबाट फुकुवा होला खर्च ?

यसअघिका संसद्बाट पारित विधेयक प्रमाणीकरण भएको दिनदेखि लागू हुन्थ्यो । विनियोजन विधेयक भदौ ३१ देखि लागू हुने गरी पारित भएको हो । नेपालको इतिहासमा तोकिएको समयमा बजेट पारित नभएर सरकारी खर्च स्थगित भएको छ । ‘बजेट सटडाउन’को अवधिमा समेत भएका सार्वजनिक कार्यको खर्च निकासा दिनुपर्ने भएकाले भूतप्रभावी हुने गरी विनियोजन विधेयक पास भएको हो ।

संसद्मा विरोध जारी रहेका बेला सभामुख अग्नि सापकोटाले विधेयक बहुमतले पारित गरेको घोषणा गरे । यो विधेयक अब राष्ट्रिय सभाबाट पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुन्छ । राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ । त्यहाँ टेबुल गरेपछि विचार गरियोस् भनेर पारित हुने सम्भावना छ । त्यसपछि यो विधेयकमाथिको छलफल अर्को ७२ घण्टापछि हुनेछ । त्यसअघि मंगलबार बिहान राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक छ । राष्ट्रिय सभाको कार्यतालिका, विधेयकमाथि छलफल गर्न दिनैपर्ने समयअनुसार नियमित गतिमै काम भए बजेटसँग सम्बन्धित विधेयक पास भई आगामी साताबाट सरकारी खर्च फुकुवा हुने सम्भावना देखिन्छ ।

यसअघिका अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेट भदौ ३१ देखि निष्क्रिय भएपछि सरकारी खर्च गर्न नपाउने अवस्थामा छ । प्रतिनिधिसभामा सोमबार सभामुखले विधेयकको प्रस्तावना र नामसँगै भदौ ३१ देखि लागू हुने भनेर सुनाउँदा वेलमा नाराबाजी गरिरहेका प्रतिपक्षी एमालेका सांसद आपसमा कानेखुसी गरिरहेका थिए । आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक अब बिहीबारको बैठकमा पारित गर्ने संसद् सचिवालयको योजना छ । राष्ट्रिय सभाले विनियोजन विधेयक शुक्रबार पारित गरेपछि प्रतिनिधिसभाबाट पारित भएको आश्रित विधेयकको टेबुल र सैद्धान्तिक छलफल हुनेछ । दुवै सदनबाट छिटोमा असोज ११ सम्म विधेयक पारित भइसक्ने कार्ययोजनाअनुसार बैठक सञ्चालन भइरहेको सभामुखको सचिवालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ मा चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट पेस गरेका थिए । अध्यादेश बजेट २०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री शर्माले अध्यादेशमा भएको आन्तरिक ऋण ३७ अर्ब घटाएका छन् । चालुतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।

प्रतिपक्षलाई ‘पेलेरै’ पारित

सरकारले प्रमुख प्रतिपक्ष एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट सोमबार ‘पेलेरै’ बजेट प्रतिस्थापन विधेयक पारित गराएको हो । प्रतिनिधिसभामा विगतका दुई बैठकभन्दा कम आक्रोशित देखिए पनि एमाले सांसदले नाराबाजी गर्न छाडेनन् । उनीहरूको नाराबाजीबीच विनियोजन विधेयक पारित भयो । यससँगै आश्रित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पारित हुने प्रक्रियामा गए । बजेट पारित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारले बल प्रयोग गरेर बजेट पारित गरेको आरोप लगाए । ‘पेल्नु पेल्यो । पेल्नु पेल्यो अब हेर्नुपर्छ,’ उनले भने । प्रतिनिधिसभाको बैठकको कारबाही सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसद रोस्ट्रमतिर कुदेका थिए भने उनीहरूलाई छेक्न मर्यादापालकले हाते साङ्लो लगाएका थिए । बजेटसँग सम्बन्धित विधेयक संसद्मा पेस भएदेखि पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले राख्ने कानुनी व्यवस्था छ ।

विगतका वर्षमा प्रत्येक मन्त्रालयका लागि विनियोजित बजेट, योजनामाथि सांसदले झन्डै महिना दिन छलफल गर्थे । सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिन्थे । तर, यस पटक २२ मन्त्रालयका लागि विनियोजित बजेट र छानिएका योजनामाथि उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी मन्त्री शर्माकै थियो । संसद्मा आर्थिक विधेयकमा छलफलका लागि महत्त्वपूर्ण मानिएको खर्च कटौतीको प्रस्ताव राख्ने र छलफलमा सहभागी हुने सांसद एक जना मात्रै थिए, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ।

यस पटक प्रतिपक्ष वेलमा थियो भने सत्तापक्षका सांसदलाई बजेटसँग सम्बन्धित विधेयकमाथि खर्च कटौतीको प्रस्ताव नराख्न र छलफलमा भाग नलिई पारित गर्न टेबल बजाउन मात्रै भनिएको थियो । प्रतिपक्षी सांसदहरूले आआफ्नो कुर्सी छाडेर अगाडि आई नाराबाजी गर्दैगर्दा सत्तापक्षका बोल्न चाहने सांसदलाई पनि ‘चुप लाग्न’ भनिएको थियो । प्रश्न नआउने भएपछि अर्थमन्त्री शर्मालाई भने हाइसन्चो भएको थियो । उनलाई अवरोधका बीच रोस्ट्रममा कसरी पुग्ने भन्नेचाहिँ सहज थिएन । बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने क्रममा भदौ २५ मा दौडिएर रोस्ट्रममा पुगेका मन्त्री शर्माले जवाफ दिनेदेखि पारित गरियोस् भन्ने प्रस्ताव राख्न भने अलि फरक तरिका अपनाए ।

सांसद सुवालले खर्च कटौतीको प्रस्ताव राख्न १२ मिनेटको समय पाए । उनी मध्यतिर पुगेपछि मन्त्री शर्माको कानमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही भने । त्यसलगत्तै मन्त्री शर्मा प्रतिनिधिसभा हलको पछाडिबाट बाहिरिए । उनी करिब ८ मिनेट जति बाहिर बसे । सुवाल बोलिसकेपछि सभामुखले जवाफ दिन बोलाएपछि शर्मा रोस्ट्रम छेउको ढोकाबाट भित्र प्रवेश गरेर रोस्ट्रममा पुगे । त्यसपछि पनि पटक–पटक छलफलमा सांसद सुवाल सहभागी भए । र त्यसको जवाफ दिने मन्त्री शर्मा नै थिए ।

सुवाल बोल्ने बेलासम्म मन्त्री शर्मा रोस्ट्रमको छेउमा बस्थे र आफूलाई बोलाएपछि सकेसम्म छोटो समयमा जवाफ दिएर फेरि छेलिन्थे । खर्च कटौतीको प्रस्ताव र छलफलमा सांसद सुवालले उठाएका प्रश्नको जवाफ दिन रोस्ट्रममा गएका मन्त्री शर्मा विनियोजन विधेयक पारित भइसकेपछि प्रस्तुत भएका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकका विभिन्न प्रक्रियामा सहभागी भई पछिल्लो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेर तल झरे ।

प्रकाशित : आश्विन ५, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?