लगानीको आयस्रोत नखोजिने व्यवस्थाबारे अर्थ मन्त्रालयले भन्यो– सम्पत्ति शुद्धीकरणमा छुट हुनेछैन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगानीको आयस्रोत नखोजिने व्यवस्थाबारे अर्थ मन्त्रालयले भन्यो– सम्पत्ति शुद्धीकरणमा छुट हुनेछैन

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्थिक विधेयकमार्फत ल्याइएको ‘लगानीको आयस्रोत नखोजिने’ व्यवस्थामाथि भएका टिप्पणीहरुप्रति ध्यानाकर्षण भएको जनाउँदै सम्पत्ति शुद्धीकरणको गतिविधिमा छुट नहुने अर्थ मन्त्रालयले जनाएको छ ।


मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । ‘आर्थिक विधेयक २०७८ बाट आयकर ऐन–२०५८ को दफा ११ ग थप गरी राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा संवत २०८० साल चैत्र मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन भन्ने व्यवस्थाका सम्बन्धमा भएको सार्वजनिक प्रतिक्रियाप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानुन बमोजिम कारबाही हुने हुँदा त्यस्ता विषयहरुमा छुट नदिने प्रतिबद्धता मन्त्रालयले जाहेर गरेको छ । ‘र त्यस्तो कार्यबाट प्राप्त आम्दानीको लागी छुट प्रदान नहुने व्यहोरा मन्त्रालय स्पष्ट पार्न चाहान्छ,’ विज्ञप्तीमा भनिएको छ ।

नेपाल सरकार अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्य निवारण गर्न एंव भ्रष्टाचार नियन्त्रण सम्बन्धी राष्ट्रिय कानुन तथा अन्तराष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको विज्ञप्तीमा जनाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले गत भदौ २५ मा संसद्मा पेस गरेको ‘अर्थसम्बन्धी विधेयक’ मा निश्चित क्षेत्रमा २०८० सालसम्म गरिएको लगानीको आयस्रोत नखोजिने व्यवस्था गरिएको छ ।

संसद्मा पेस भई विचाराधीन रहेको उक्त विधेयकमा २०८० चैतभित्र १० क्षेत्रमा गरिएको लगानीको आयस्रोत नखोजिने व्यवस्था छ । तिनमा राष्ट्रिय महत्त्वका जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासम्बन्धी उद्योग, तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चापदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग छन । जुन विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रिपरिषद्का सदस्य तथा सम्पत्ति शुद्धीकरण मामिलामा सरोकार राख्ने सरकारी अधिकारी बेखबर थिए ।

अर्थमन्त्री शर्मा र मन्त्रालयका केही अधिकारीले बजेट तयारीको अन्तिम समयमा ‘आयस्रोत नखोजिने’ बुँदा थपेको सार्वजनिक भएको छ । सरकारले ‘आयस्रोत नखुलाइ लगानी गर्न पाइने’ व्यवस्था गरेपछि सम्पत्ति शुद्धीकरणविरुद्धको मामिलामा काम गर्ने नेपालका सुरक्षा निकाय, राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयकै अधिकारीहरुले गम्भिर आपत्ति जनाइसकेका छन् । उनीहरुले प्रधानमन्त्री देउवालाई भेटेर जानकारी गराउँदै फिर्ता लिन अनुरोध गरिसकेका छन् ।

तीन वर्षअघि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पनि २०७५/७६ को बजेटमा यस्तै व्यवस्था ल्याएका थिए । खतिवडाले विधेयकमा यस्तो व्यवस्था भूलवश पर्न गएको उल्लेख गर्दै त्यसलाई हटाउने सार्वजनिक प्रतिक्रिया दिएका थिए । पछि ‘लगानीको आयस्रोत नखोजिने’ यो व्यवस्था हटाइयो । त्यसपछिका बजेटमा यस्तो सुविधा उल्लेख थिएन ।

यो पनि पढ्नुहोस्ः

आयस्रोत नखोजेर कसको पक्षपोषण गरेको ?

प्रकाशित : आश्विन ४, २०७८ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्

मुस्ताङमा भेटियो नेपालका लागि नयाँ प्रजातिको चरा

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ केकीघाङमा नेपालका लागि नयाँ प्रजातिको चरा रेकर्ड भएको छ ।

एक्यापको इलाका संरक्षण कार्यालय लोमन्थाङका कर्मचारी रामबहादुर गुरुङले गत भदौ १३ गते समुद्री सतहदेखि ३ हजार ७ सय ८१ उचाइको केकीघाङमा ‘युरोपियन रोलर’ नामको चराको तस्बिर खिचेका थिए । चराविज्ञहरुले उक्त चरा नेपालका लागि नयाँ भएको पुष्टि गरेका हुन् ।

पहिचानका लागि चराको उक्त तस्बिर इलाका संरक्षण कार्यालय लोमन्थाङका प्रमुख ऋषि बरालले वरिष्ठ चराविद् डा.हेमसागर बराल र सोम जीसीसमक्ष पठाएका थिए । उनीहरुले उक्त चरा नयाँ भएको पुष्टि गरेका हुन् । ‘नेपाली चराबारे अनुसन्धान गरेका चराविद् टिम इन्स्किप र क्यारोल इन्स्किपले पनि त्यो नामको चरा नेपालका लागि नयाँ भएको प्रमाणित भयो,’ बरालले लोमन्थाङबाट कान्तिपुरसित भने, ‘५ सय १८ प्रजातिका चरा रहेकोमा अब एक्यापमा त्यो संख्या ५ सय १९ भएको छ ।’

गुरुङले उक्त चरा लोमन्थाङबाट ८ सय मिटर दक्षिण पूर्वको केकघाङको खेतको पर्खालमा पहिलो पटक दिउँसो १ बजेर ११ मिनेट जाँदा खिचेका थिए भने दोस्रो पटक पिपलको रुखमा बसेकाबेला खिचेका थिए ।

स्वास्थ्यकर्मी समेत रहेका गुरुङ चराप्रेमी हुन् ।


प्रकाशित : आश्विन ४, २०७८ १८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×