कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

डिमान्डमा शुल्क बढाएर इनर्जीमा छुटको प्रस्ताव

मासिक ४ सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकलाई इनर्जी शुल्क १ रुपैयाँ घटाइने
विद्युतीय सवारी र चार्जिङ स्टेसनलाई डिमान्ड शुल्क छुट 
थ्री फेज प्रयोग गर्ने ग्राहकलाई वर्षायाम र हिउँदमा फरकफरक महसुल
हेमन्त जोशी

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले नयाँ महसुल दर कायम गर्न विद्युत् नियमन आयोगसमक्ष सिफारिस गरेको छ । प्रस्तावित महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाउन र अफ पिक (राति ११ देखि बिहान ५ बजेसम्म) समयको इनर्जी शुल्क घटाउन सिफारिस गरिएको छ ।

डिमान्डमा शुल्क बढाएर इनर्जीमा छुटको प्रस्ताव

यातायात क्षेत्रलाई डिमान्ड शुल्क पूरै छुट दिने र इनर्जी शुल्क मात्रै लाग्ने व्यवस्था कार्यान्वयन गर्न प्रस्ताव गरिएको छ । सिँचाइमा प्रयोग हुने विद्युत्मा पनि महसुल घटाउन प्रस्ताव गरिएको छ । मासिक ४ सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकले अहिले तिर्दै आएको महसुलमा परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । अरू महसुल दर यथावत् राखिएका छन् ।

प्राधिकरणले घरायसी ग्राहकका लागि तल्लो भोल्जेट अर्थात् २३० भोल्टभन्दा कमबाट विद्युत् सेवा लिइरहेका सिंगल फेज मिटर प्रयोगकर्तालाई ५, १५ र ३० एम्पिएरमा न्यूनतम शुल्क फरक–फरक तोकेको छ । त्यस्ता ग्राहकलाई इनर्जी शुल्क सबै एम्पियरमा १२ रुपैयाँबाट घटाएर ११ रुपैयाँ तोक्न सिफारिस गरिएको छ । मासिक ४ सय किलोवाट घण्टा विद्युत् प्रयोग गर्ने ५, १५ र ३० एम्पिएरका प्रयोगकर्ताले न्यूनतम शुल्क क्रमशः २ सय, २ सय २५ र २ सय ५० रुपैयाँ तिर्नुपर्नेछ ।

थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोक्न प्रस्ताव गरिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ । चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ ।

सिँचाइ प्रयोजनका लागि तल्लो भोल्टेज (२३०/४०० भोल्टेज) बाट विद्युत् प्रयोग गर्ने ग्राहकलाई हाल इनर्जी शुल्क प्रतियुनिट ४ रुपैयाँ ३० पैसा लाग्दै आएको छ । प्राधिकरणले अब त्यसलाई घटाएर २ रुपैयाँ २५ पैसा कायम गर्न सिफारिस गरेको छ । सिँचाइ प्रयोजनका लागि मझौला भोल्टेजको इनर्जी शुल्क प्रतियुनिट ४ रुपैयाँ ८० पैसाबाट घटाएर २ रुपैयाँ ५० पैसा तोकिएको छ ।

टीओडी मिटर लिएका ग्राहकलाई डिमान्ड शुल्क बढ्नेछ भने राति ११ देखि बिहान ५ बजेसम्म (अफ पिक) को इनर्जी शुल्क घट्नेछ । १३२ केभी लाइनबाट टीओडी मिटर जडान गरेका ग्राहकलाई अहिले डिमान्ड शुल्क प्रतिकेभीए प्रतिमहिना २ सय ३० रुपैयाँ रहेकोमा त्यसलाई सय रुपैयाँले बढाएर ३ सय ३० रुपैयाँ पुर्‍याउन लागिएको छ । यस्ता ग्राहकलाई इनर्जी शुल्कतर्फ अफ पिक समयमा अहिले प्रतियुनिट ४ रुपैयाँ ६५ पैसा लाग्ने गरेकोमा ६५ पैसा घटाएर ४ रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ ।

६६ केभी औद्योगिक करिडोरमा डिमान्ड शुल्क २ सय ४० रुपैयाँबाट बढाएर ३ सय ४० पुर्‍याउन प्रस्ताव गरिएको छ । अफ पिक समयमा प्रयोग गरेको विद्युत्मा यस्ता ग्राहकले प्रतियुनिट ७० पैसासम्म छुट पाउनेछन् । ३३ केभी प्रसारण लाइनबाट विद्युत् प्रयोग गरिरहेका सिँचाइका ग्राहकले अहिले अफ पिक समयको प्रतियुनिट ३ रुपैयाँ १५ पैसा तिर्दै आएकोमा नयाँ दरअनुसार प्रतियुनिट २ रुपैयाँ तोकिएको छ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको विद्युत् प्रयोगमा अहिले ४ रुपैयाँ ७० पैसा महसुल रहेकोमा त्यसलाई घटाएर ३ रुपैयाँ तोकिएको छ ।

सार्वजनिक यातायात तथा विद्युतीय सवारी चार्जिङ स्टेसनका लागि डिमान्ड शुल्क छुट दिने प्रस्ताव पनि प्राधिकरणले गरेको छ । इनर्जी शुल्कमा भने पिक समय, अफ पिक समय र अन्य समय गरी प्रतियुनिट ४ रुपैयाँ ४५ पैसादेखि ७ रुपैयाँ ७० पैसासम्म प्रस्ताव गरिएको छ । प्राधिकरणले नयाँ विद्युत् दर सिफारिस गरेसँगै विद्युत् नियमन आयोगले त्यसलाई सार्वजनिक सुनुवाइको प्रक्रिया अघि बढाएको छ । विद्युत् नियमन आयोग ऐन २०७४ बमोजिम उपभोक्ता विद्युत् महसुल निर्धारणका लागि सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रिया लिनुपर्ने र सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था छ । आयोगले असोज १४ सम्ममा सुझाव तथा प्रतिक्रिया दिइसक्न भनेको छ ।

प्रकाशित : आश्विन ४, २०७८ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?