प्रसारण लाइन नहुँदा बिजुली खेर गयो : घिसिङ

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा नेपालमा वार्षिक अर्बौंको बिजुली खेर गइरहेको बताएका छन् । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना निरीक्षणका क्रममा आइतबार पूर्वी नवलपरासीमा आएका घिसिङले प्रसारण लाइन नभएकै कारण बढी माग भएका उद्योगहरुमा विद्युत् खपत बढाउन नसकेको बताए । जिल्ला प्रशासन कार्यालयमा आइतबार आयोजित अन्तरक्रियामा उनले भने, 'बिजुली छ, प्रसारण लाइन छैन ।'

प्रसारण लाइन नहुँदा बिजुली खेर गयो : घिसिङ

‘उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने स्थिति छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ’, घिसिङले भने– 'हामीले काम थालेका छौं ,राज्यका सबै संयन्त्रले सहयोग गर्नु पर्‍यो ।' पूर्वी नवलपरासी भन्दा पश्चिमतर्फ जारी प्रसारण निर्माण सम्पन्न नभएका कारण दैनिक विद्युत् खेर गएको र पाउनुपर्ने उद्योगीहरूले नपाएको उनले सुनाए ।

प्रसारण लाइनको कारण विद्युत् खपत बढाउन समस्या र काममा ढिलाइ भइरहेको बारेमा जानकारी लिन आफ्नो टोली निर्माणका क्रममा रहेको उनले बताए ।

चितवनको भरपुरबाट पश्चिम १३२ केभीको सिंगल सर्किटबाट ९० मेघावाटमात्रै विद्युत् पठाउन सकिएको छ । निर्माणाधीन २२० केभी प्रसारण लाइन सम्पन्न भएपछि ५ सय मेघावाट विद्युत् बुटवलसम्म पुर्‍याउन सकिने उनको भनाइ थियो । पूर्वी नवलपरासी, परासी, बुटवल क्षेत्रमा उद्योगहरुले विद्युत् धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको उनले दोहोर्‍याए ।

बुटवल, भैरहवा र नेपालगन्जसम्म विद्युत् लोड बढाउन आफूहरु लागि परेको र यसका लागि हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन चाडै सम्पन्न गर्नुपर्ने अवस्था रहेको उनले सुनाए । त्यो खण्ड हाल निर्माणाधीन अवस्थामा छ ।

तामाकोसी परियोजनाबाट अहिले ४ सय ७५ हजार मेगावाट उत्पादन भइरहेको तर ट्रान्समिसन लाइन नहुँदा भरतपुरदेखि पश्चिम जान नसकेको भन्दै घिसिङले प्रसारण लाइन अभावमा विद्युत् खेर गइरहेको र दैनिक करोडौं राजस्व गुमाउन बाध्य भएको घिसिङले उल्लेख गरे ।

विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढाउँदै लैजान पर्ने र त्यसका लागि चार्जिङ स्टेशन निर्माणलाई प्राधिकरणले प्राथामिकतामा राखेको उनले बताए । यसै क्रममा यहाँको बोझा पोखरीमा सव-स्टेसन निर्माणमा ढिलाई भएको र यसका कारण जिल्लाका दुई गाउँपालिकामा अझै राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेकोमा स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए । निर्देशक घिसिङले सव-स्टेनको चाँडै सक्न आफूले पहल गर्ने र बजेट अभाव हुन नदिने प्रतिबद्धाता जनाए ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको प्रगतिको जानकारी लिएका थिए । प्रसारणलाइनका १ सय ९३ वटा टावर पूर्वी नवलपरासीमा पर्दछ । यो प्रसारणअन्तर्गत दुम्कीबासमा निर्माणाधीन २ वटा टावरमा स्थानीयले अदालतमा मुद्दा हालेका कारण काम रोकिएको छ । स्थानीयले प्रसारणलाइनको रुट परिवर्तन गर्न माग गर्दै मुद्दा हालेका हुन् ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनअर्न्तगत भरतपुर पश्चिममा २४६ र भरतपुरबाट पूर्वमा २ सय २६ वटा टावर रहेका छन् । फागुनसम्ममा भरतपुर पूर्वको काम सकिने छ । प्रमुख जिल्ला अधिकारी मनमया पंज्ञेनीले जिल्लाभित्र भइरहेको प्रसारणलाइनको कार्य प्रगतिको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।

घिसिङले आइतबार नै सर्दीमा रहेको चिनियाँ लगानीको होंग्सी सिमेन्ट र पूर्वी नवलपरासीमा रहेका सवस्टेशन निरीक्षण गरेका थिए । घिसिङसँग स्थानीयले पूर्वी नवलपरासीका दुर्गम पहाडी भेगमा चाँडो बिजुली पुर्‍याउन माग गरेका थिए ।

प्रकाशित : आश्विन ३, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?