चैनपुर सेतीको जग्गा अधिग्रहण सुरु

२१० मेगावाट क्षमताको यो आयोजनाका लागि स्थानीयको २३० रोपनी जग्गा मात्रै अधिग्रहण गरे पुग्ने
वसन्तप्रताप सिंह

बझाङ — सुदूरपश्चिम प्रदेशकै महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको चैनपुर सेती जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । २१० मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले जग्गा अधिग्रहणको प्रक्रिया थालेको छ ।

चैनपुर सेतीको जग्गा अधिग्रहण सुरु

आयोजनाको अध्ययन सुरु भएको ४ वर्षपछि प्राधिकरणले निर्माण प्रक्रिया अघि बढाएको हो । अर्धजलाशययुक्त यो आयोजनालाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेर काम सुरु गरिएको र आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

आयोजना निर्माणका लागि प्रारम्भिक अध्ययनको काम सकेर भूगर्भविद्हरूको टोली अहिले दोस्रो चरणको भौगर्भिक अवस्थाको विश्लेषण (जियोटेक्निकल एनालाइसिस) मा जुटेको छ । जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पनि अघि बढेको छ । आयोजनाको जलाशय साइपाल गाउँपालिकाको काँडागाउँमा रहेको सेती नदी र घाटगंगा नदीको दोभाननजिक निर्माण हुनेछ ।

जलाशयको पानी १३ किलोमिटर लामो सुरुङमा हालेर तल्कोट गाउँपालिकाको बस्टीमा खसालिनेछ । तल्कोटको बस्टीमा बन्ने विद्युत् गृह निर्माणस्थलसम्म पुग्ने पहुँच सडक र क्याम्प साइट निर्माणको काम जग्गा अधिग्रहण सकिएलगत्तै सुरु हुने चैनपुर सेती जलविद्युत् आयोजनाका प्रमुख अनिलभक्त श्रेष्ठले बताए ।

‘३/४ महिनाभित्र जग्गा अधिग्रहण गरेर पहुँच सडक र क्याम्पसाइट निर्माणको टेन्डर प्रक्रिया सुरु गर्ने तयारी छ,’ श्रेष्ठले भने, ‘यो आर्थिक वर्षभित्रै मुख्य संरचना निर्माणका लागि टेन्डर आह्वान गर्ने गरी काम गरिरहेका छौं ।’ उनले आयोजनाको बाँध र विद्युत् गृह निर्माण क्षेत्रमा बस्ती पुन:स्थापनाको झन्झट नभएको र तोकिएको समयमै आयोजना सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । आयोजनाले ओगट्ने अधिकांश जमिन सरकारी रहेको र स्थानीयको २ सय ३० रोपनी जग्गा अधिग्रहण गर्दा नै आयोजनालाई पुग्ने उनले जानकारी दिए ।

बैंक ब्याजबाहेक ३६ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो । यसअन्तर्गत आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित क्षेत्रका स्थानीय र बाह्य जिल्लाका नागरिकको पनि लगानी रहने प्राधिकरणले जनाएको छ ।

आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माण गर्न टेन्डरको प्रक्रिया सुरु भएको छ । अहिलेसम्मको अध्ययनअनुसार अन्य आयोजनाका तुलनामा यो आयोजना कम लागतमा निर्माण हुने र उच्च प्रतिफल दिने खालको रहेको प्राधिकरणले जनाएको छ । यसबाट सुक्खायाममा समेत दैनिक कम्तीमा ६ घण्टा २१० मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ ।

आयोजना समयमै सक्न स्थानीय र स्थानीय सरकार सबै खालको सहयोग गर्न तयार रहेको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । आयोजना निर्माणपछि जिल्लाकै विकट मानिएको साइपाल गाउँपालिकामा सडक यातायातलगायत अन्य पूर्वाधार निर्माण हुने र स्थानीयले रोजगारीसमेत पाउने उनको भनाइ छ ।

‘हामीले यो आयोजना छिटो सुरु हुनुपर्छ भनेर प्राधिकरणसँग पनि अनुरोध गरिरहेका थियौं । काम सुरु भएको खबरले निकै हर्षित छौं,’ तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले भने, ‘यो आयोजनाले गाउँपालिकाको र जिल्लाको मात्रै नभएर सुदूरपश्चिमकै आर्थिक विकासमा टेवा पुग्ने आशा गरेका छौं ।’

प्रकाशित : आश्विन ३, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?