कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विकास निर्माणको दुरवस्था : जथाभावी पूर्वाधार निर्माणले असुरक्षित बन्दै पुल

विमल खतिवडा

काठमाडौँ — विकासको एउटा सूचक हो, सडक । त्यसमा सँगसँगै आउँछ पुल पनि । तर क्षमताभन्दा धेरै पुल बनाउँदा कतिपय स्थानमा बर्खाका बेला बढी क्षति पनि हुने गरेको पाइएको छ । 

विकास निर्माणको दुरवस्था : जथाभावी पूर्वाधार निर्माणले असुरक्षित बन्दै पुल

यही वर्षको बर्खा सुरु भएयता बाढीपहिरोले मात्र २३ वटा पुल भत्किसकेका छन् । अझै पानी पर्ने क्रम रोकिएको छैन । बाढीपहिरोबाट एक अर्ब रुपैयाँ बराबरको क्षति भएको सडक विभागको आकलन छ । बर्खामा पुलमा बढी क्षति देखिन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असारमा विभागअन्तर्गत पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा छानबिन गर्नर् कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्रारम्भिक प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाएको छ । निर्माण गर्ने पुलको संख्या बर्सेनि बढाउँदै लगिएको र पूर्वतयारीबिनै ठेक्का गर्दा क्षति बढी हुने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । निर्माणाधीन पुलको राम्रो सुरक्षा बर्खामा गर्न नसक्दा पनि बढी क्षति भएको पाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवकुमार शर्माले जानकारी दिए ।

‘अब बनाउने पुलमा सावधानी अपनाउनुपर्ने, बर्खाअघि नै पुलका लट्ठा तान्ने काम सक्नुपर्ने प्रतिवेदनको सुझाव छ,’ उनले भने, ‘पुलमा लगाइएका टेकाको डिजाइनमा विशेष ध्यान दिनुपर्नेबारे पनि त्यहाँ उल्लेख छ ।’ कसरी क्षतिग्रस्त पुल सुधार गर्न सकिन्छ, थप मानवीय र भौतिक क्षति बढ्न नदिन के गर्न सकिन्छ भन्ने नै आफूहरूको चिन्ताको विषय रहेको शर्माले बताए । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पुलहरूबारे अध्ययन गराउने र क्षति कम हुन नदिन के गर्न सकिन्छ भन्ने प्रतिवेदन तयार पार्न पनि कार्यदलले सिफारिस गरेको छ । कार्यदलले यसबारे अझै विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउने उनले बताए । विभागले अहिले देशभर निर्मित तीन हजार पुल हेर्दै आएको छ । रणनीतिक सडकतर्फ २२ सय र स्थानीय सडकमा आठ सय पुल पर्छन् । अहिले नयाँ निर्माणतर्फ एक हजार र डिजाइन गर्नुपर्ने पाँच सय पुल छन् ।

‘यी सबैको अध्ययन र डिजाइन हुँदै छ, केही बन्दै छन्,’ उनले भने, ‘क्षमताले धान्नै नसक्ने गरी पुलको माग छ, धेरै संख्या हुँदा राम्रोसँग डिजाइन गर्न समस्या हुन्छ ।’ तिनको सुपरभिजन गर्न पनि नसकिने शर्माले बताए । पुल निर्माणसँग सम्बद्ध विषयमा विभागसँग पर्याप्त दक्ष जनशक्तिसमेत छैनन् । ‘अब पुलको डिजाइन, निर्माण र सुपरभिजन गर्दा ‘चेकलिस्ट’ बनाउने सुझाव पनि प्रतिवेदनमा छ,’ उनले भने, ‘जिम्मेवारी बाँडफाँट गरेर काम अघि बढाउन प्रतिवेदनले भनेको छ ।’ थोरै जनशक्तिका कारण पुलको काम गर्न समस्या भएको भन्दै जनशक्ति थप्न पनि सुझाइएको छ ।

जलवायु परिवर्तनका कारण पनि पुलमा क्षति बढी भएको जनाइएको छ । ‘अप्रत्याशित रूपमा नदी–खोलामा ठूला बाढी आइदिँदा पनि पुल भत्किने गरेको पाइएको छ,’ शर्माले भने, ‘ठुल्ठूला पहिरोका कारण खोलाले धार परिवर्तन गर्ने र जथाभावी सडक निर्माण गर्दा र त्यसले खोला थुनिँदा पनि पुलमा समस्या आउने गरेको पाइएको छ ।’ तसर्थ सडक बनाउने निकाय सबैले विभागसँग अनिवार्य अनुमति लिएर मात्र काम गर्नुपर्ने शर्माले बताए । धेरैजसो निर्माणाधीन पुलमा बढी क्षति भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । ‘नयाँ बन्दै गरेका पुलको क्षति हामीले निकालेका छैनौं,’ उनले भने, ‘जुन पुल हामीलाई हस्तान्तरण भएकै छैनन् ।’

कुन जिल्लाका कति पुलमा क्षति ?

मनाङ – २

सिन्धुली – १

जुम्ला – २

बर्दिया – २

उदयपुर – १

तनहुँ – १

चितवन – १

धादिङ – १

सर्लाही – १

कपिलवस्तु – १

दाङ – १

अछाम – १

रुकुम – १

प्यूठान – २

सिन्धुपाल्चोक – ५

प्रकाशित : आश्विन ३, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?