२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

विकास निर्माणको दुरवस्था : विद्युत् लाइन भूमिगत गर्ने काम ६० प्रतिशत, समयमा प्रगति २० प्रतिशत मात्रै

अस्तव्यस्त विद्युत् पोल व्यवस्थित हुन सकेनन्
पहिलो र दोस्रो चरणमा मात्रै भौतिक प्रगति
काठमाडौं जिल्लाबाहिर जान सकेन परियोजना
हेमन्त जोशी

काठमाडौँ — काठमाडौं उपत्यकाभित्रको विद्युत् प्रसारण लाइन, वितरण प्रणाली र केबललाइनलाई भूमिगत गर्ने योजनाको कार्यप्रगति न्यून देखिएको छ । पहिलो चरणमा काठमाडौंको वितरण प्रणाली पूर्ण भूमिगत गर्ने नेपाल विद्युत् प्राधिकरणको योजना छ । २०७९ साउनसम्म आयोजना सक्ने लक्ष्य राखेको प्राधिकरणले हालसम्म एकचौथाइ काम पनि सकेको छैन । 

विकास निर्माणको दुरवस्था : विद्युत् लाइन भूमिगत गर्ने काम ६० प्रतिशत, समयमा प्रगति २० प्रतिशत मात्रै

२०७६ फागुनबाट सुरु भएको काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण परियोजना ३० महिनाभित्र सकिसक्ने लक्ष्य थियो । तर १८ महिना अवधिमा यो परियोजनामा औसत २० प्रतिशत मात्रै काम सकिएको प्राधिकरणले जनाएको छ । विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ । यी संरचनालाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर विद्युत् पोल हटाउने प्राधिकरणको योजना छ ।

भूमिगत वितरण प्रणाली निर्माणको काम तीन चरणमा ठेक्का लगाइएकोमा पहिलोमा २५, दोस्रोमा ३५ र तेस्रोमा निर्माणको प्रारम्भिक चरणमा मात्रै पुगेको प्राधिकरणले जनाएको छ । परियोजनाको पहिलो र दोस्रो चरणको ठेक्का भारतीय निर्माण कम्पनी केईआई इन्ड्रस्ट्रिज लिमिटेडले पाएको छ । तेस्रो चरणको ठेक्का भने एलएनटी कन्स्ट्रक्सनले पाएको छ । यी तीनवटै चरणका कामका लागि ११ अर्ब रुपैयाँ बराबर लागत अनुमान छ । पहिलो चरणअन्तर्गत आर्थिक प्रगति ४५ र भौतिक प्रगति २५ प्रतिशत रहेको काठमाडौंको मध्यपश्चिम क्षेत्रमा काम गरिरहेका इलेक्ट्रिकल इन्जिनियर राजकुमार केसीले जानकारी दिए । मध्यपश्चिम क्षेत्रमा पर्ने महाराजगन्ज, बूढानीलकण्ठ, धापासी क्षेत्रको तार भूमिगत गर्ने काममा बढी प्रगति देखिएको उनको भनाइ छ । ‘महाराजगन्ज क्षेत्र, सांग्रिला होटल क्षेत्र र गंगालाल अस्पतालदेखि बूढानीलकण्ठ क्षेत्रमा काम सकिएको छ,’ उनले भने, ‘चक्रपथ, गोंगबु, ओम अस्पताल, धुम्बाराही, मन्डिखाटार, टोखालगायत स्थानमा काम सुरु भएको छैन ।’ प्राधिकरणले सबैभन्दा पहिले रत्नपार्क वितरण केन्द्र र महराजगन्ज वितरण केन्द्र जोड्ने गरी काम सुरु गरेको थियो ।

दोस्रो चरणको ठेक्कामा लैनचौरदेखि सांग्रिला होटल, चाबहिलदेखि चुच्चेपाटी, मित्रपार्क, नयाँ बजार, खुँसिबु, कोटेश्वर, जडीबुटीलगायत क्षेत्रमा काम सकिएको पूर्व–उत्तर क्षेत्र हेर्ने आयोजना प्रमुख सुमन श्रेष्ठले जानकारी दिए । अहिले उत्तरढोका, नागपोखरी र ठमेल क्षेत्रमा काम भइरहेको उनको भनाइ छ । न्युरोड, जमल, पुतलीसडक, टेकु, थापाथली, माइतीघर एयरपोर्ट, सोह्रखुट्टे, बालाजुचोक, नयाँ बजारलगायत क्षेत्रमा काम गर्न बाँकी छ । पूर्व–उत्तर क्षेत्रको विद्युत् प्रणाली भूमिगत गर्ने काममा ३५ प्रतिशत प्रगति हासिल भएको श्रेष्ठले बताए । आयोजनाको तेस्रो चरणको काम भने ठेक्का सम्झौता भएर निर्माणको प्रारम्भिक चरणमा मात्रै प्रवेश गरेको छ । कीर्तिपुर क्षेत्रमा पछिल्लो एक सातादेखि काम भइरहेको आयोजना प्रमुख पीयूष मालाकारको भनाइ छ । ‘साढे चार अर्बको ठेक्कामा सर्भे, डिजाइन, निर्माण सामग्री खरिदलगायत कामका लागि १० प्रतिशत बजेट सकिएको छ,’ उनले भने, ‘पूर्वाधार निर्माणमा त निकै प्रारम्भिक चरणमै छौं । गत पुसबाट काम सुरु भएकोमा हामीले तीन वर्षभित्र सक्ने लक्ष्य राखेका छौं ।’ पश्चिम क्षेत्रअन्तर्गत जोरपाटी, साँखु, बानेश्वर, पेप्सीकोला, टाउन प्लानिङ, कीर्तिपुर, कलंकी, कुलेश्वर, बालाजुलगायत क्षेत्र पर्छन् ।

उपत्यकाको विद्युत् वितरण प्रणाली अस्तव्यस्त रहेका कारण प्राधिकरणले उच्च प्रविधियुक्त भूमिगत र स्वचालित विद्युत् वितरण प्रणाली वितरण गर्ने गरी यो योजना अघि बढाएको थियो । अहिले काठमाडौंमा मात्र सुरु यो योजना उपत्यकाका भक्तपुर तथा ललितपुर र बाहिरका महानगरपालिका र उपमहानगरपालिकामा कार्यान्वयन गर्ने प्राधिकरणको योजना छ । तर पहिलो चरणको काममै ढिलाइ भएपछि अरू क्षेत्रको प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्ने कामसमेत अघि बढ्न सकेको छैन । कोभिडका कारण गरिएको निषेधाज्ञाले पनि परियोजनाको काम अघि बढ्न नसकेको हो ।

प्रकाशित : आश्विन ३, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?