कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नक्कली स्टिकर छानबिन गर्न दुई डिस्टिलरीमा सिल

माधव ढुंगाना

भैरहवा — झन्डै एक महिनाअघि बरामद आन्तरिक राजस्व विभागको नक्कली स्टिकरको विषयलाई लिएर राजस्व अनुसन्धान कार्यालय बुटवलले रूपन्देहीका दुई डिस्टिलरी उद्योग सिल गरेको छ ।

नक्कली स्टिकर प्रयोग गरी राजस्व छलेको आशंकामा ती उद्योगलाई एक साताअघि सिल गरी कार्यालयले अनुसन्धान अघि बढाएको छ । तर अनुसन्धान प्रक्रिया कहाँ पुगेको छ, के कति सफलता हात लागेको छ भन्नेबारे कार्यालयका कुनै पनि कर्मचारी बोल्न चाहन्नन् ।

कार्यालयका कर्मचारीले उद्योगमा सिल गरेको जानकारीसमेत आफूलाई नभएको बताएका छन् । ‘यस विषयमा अनुसन्धान जारी छ, अहिलेलाई यत्ति मात्रै बोल्न सक्छु,’ कार्यालय प्रमुख राजन बीसीले भने, ‘यसबारे मलाई केही थाहा छैन ।’ कार्यालयले रूपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिस्टल बोटलर्स प्रालि र तिलोत्तमा नगरपालिका–१४ मा रहेको माउन्ट एभरेस्ट डिस्टिलरीमा पनि छापा मारेर सिल गरेको छ । २०६९ सालदेखि सञ्चालनमा रहेको क्रिस्टल बोटलर्स प्रालिका सञ्चालक फूलसिंह क्षत्रीले पनि भदौ २५ मा छापा मारिएको र आफ्नो उद्योग सिल गरिएको स्विकारे । त्यसको भोलिपल्ट माउन्ट एभरेस्टमा छापा मारी सिल गरिएको हो । ‘मेरो उद्योगबाट कुनै गल्ती छैन, गल्ती प्रमाणित हुन्छ भने कारबाही भोग्न तयार छु,’ क्षत्रीले भने ।

नक्कली स्टिकर प्रकरणमा आफूलाई फसाउन मात्र खोजिएको उनको आरोप छ । माउन्ट एभरेस्ट डिस्टिलरीका सञ्चालक प्रवीन्द्र गोविन्द श्रेष्ठले पनि राजस्व अनुसन्धान कार्यालयको अनुसन्धानलाई आफूले सहयोग गरेको बताए । ‘दोषी उम्किनु हुँदैन, निर्दोष फस्नुहुँदैन,’ श्रेष्ठले भने ।

प्रकाशित : आश्विन २, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?