२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

झारा टार्ने किसिमका सहुलियत पसल

देशभरका लागि ८४ पसल
चिनीको मौज्दात दसैंसम्मलाई मात्र
राजु चौधरी

काठमाडौँ — सर्वसाधारणले चाडपर्वमा विशेष छुट पाऊन् भनेर सरकारले शुक्रबारदेखि सहुलियत पसल सुरु गरेको छ । तर करिब तीन करोड जनताका लागि जम्मा ८४ आउटलेटमा सहुलियतका सामान राखिएको छ । खाद्य व्यवस्था तथ व्यापार कम्पनीले ३९ जिल्लाका ४३ आउटलेट, साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ आउटलेट र दुग्ध विकास संस्थानले ९ आउटलेटबाट आफ्ना सामानमा छुट दिएका छन् । छुटमा बिक्री हुने केही खाद्यान्नको मौज्दात हेर्दा सहुलियत पसल औपचारिकतामा मात्रै सीमित देखिन्छन् ।

झारा टार्ने किसिमका सहुलियत पसल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने घोषणा गरे पनि मौज्दातको अवस्था दयनीय छ । साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सरकारी चिनीसम्म दसैंलाई मात्रै पुर्‍याउन सकिन्छ । ‘करिब ३ सय टन मात्रै मौज्दात छ । त्यसैले आउटलेटमा किन्न आउनेलाई दुई किलो मात्र दिने निर्णय गरेका छौं,’ उनले भने ।

चिनीको खपत दसैंभन्दा पनि तिहार र छठमा बढी हुने गर्छ । तर तिहार र छठका लागि चिनीको मौज्दात रित्तिँदै छ । साल्टको चिनी ७९ रुपैयाँमा बिक्री भइरहेको छ । उक्त मूल्य चाडबाड (सहुलियत पसल/छुट) अघिकै हो । बजारको तुलनामा मूल्य धेरै सस्तो भएकाले छुट दिइएको छैन ।

‘साल्टले बिक्री गर्ने चिनीको गुणस्तर उच्च छ । सोही गुणस्तरको चिनी भाटभटेनीमा १ सय ५० रुपैयाँ पर्छ । सामान्य चिनीको मूल्य बजारमा ९५ रुपैयाँसम्म चलेको छ,’ राजभण्डारीले भने, ‘तर साल्टले उच्च गुणस्तरको चिनी ७९ रुपैयाँमै बेचिरहेको छ ।’ साल्टले उपत्यकामा ६ वटा आउटलेट र ३ वटा घुम्ती सेवा सञ्चालन गरिरहेको छ । त्यहाँबाट नुन प्रतिकिलो १८ रुपैयाँमा बिक्री गरिँदै छ । यसबाहेक दाल, चामल, तेललगायत पनि बजार भाउभन्दा सस्तोमा बिक्री गरिने राजभण्डारीले जानकारी दिए । ‘अन्य खाद्य वस्तु पनि खाद्यान्नअनुसार बजार भाउभन्दा ५/१० रुपैयाँ सस्तोमा दिन्छौं,’ उनले भने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुक्रबार औपचारिक कार्यक्रम गरेर ३९ जिल्लाका ४३ आउटलेटबाट छुट दिने जनाएको छ । वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले खाद्यले सञ्चालन गरेको सहुलियत पसल उद्घाटन गरे । छुटले बजार हस्तक्षेप गर्न केही सघाउने उनको भनाइ छ ।

‘सहुलियत पसल सुरु नै नगर्नुभन्दा केही ठाउँमा सञ्चालन भएका छन् । पसलबाट नुन, चामल, चिनी, गेडागुडीलगायतमा छुट दिएको छौं,’ उनले भने, ‘चिनी मौज्दात हुन्जेल सहुलियत दरमा उपलब्ध गराउँछौं । सहुलियतको चिनीका लागि धेरै प्रयास गरेका थियौं । आयातमा किन ढिलाइ भयो, अर्थ मन्त्रालयलाई नै सोध्नुपर्छ ।’

साल्टको सहुलियत चिनीको मौज्दात रित्तिँदै जाँदा आपूर्ति मन्त्रालयले अर्थमा पटकपटक चिठी पठाए पनि आयातमा सहमति जनाएन, जसले गर्दा चिनीको भाउ अनियन्त्रित भइरहेको जानकारहरू बताउँछन् । अहिले बजारमा मनोमानी मूल्यमा चिनी बिक्री भइरहेको उनीहरूको भनाइ छ । खाद्यको सहुलियत पसलमा दाल र चामलमा प्रतिकिलो ५ र खाने तेलमा प्रतिलिटर ५ देखि १० रुपैयाँ छुट दिइएको छ ।

कर्णालीको सिमी र फापरमा प्रतिकिलो १० रुपैयाँ छुट हुने कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले जानकारी दिए । ‘उपत्यकामा थापाथली, रामशाहपथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायक आउटलेटबाट छुट सुविधा दिएका छौं,’ उनले भने, ‘खाद्यले अनलाइन सेवाबाट समेत खाद्य वस्तुमा छुट दिई निःशुल्क होम डेलिभरी गर्छ ।’

खाद्यले कर्णालीका उत्पादन बिक्री गर्ने बताए पनि ६ सय किलो रातो चामल र ३ सय किलो सिमी शुक्रबार मात्रै उपत्यकामा भित्रिएको छ । उक्त सिमी र चामल प्याकेजिङ गरेर आइतबारदेखि मात्रै बिक्री गरिने खाद्यले बताएको छ । खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाएको छ । तर खसीबोका घटस्थापनासम्म मात्र काठमाडौं ल्याइपुर्‍याउने खाद्यको तयारी छ । आफ्ना उत्पादनमा उपत्यकामा तीन र बाहिरी जिल्लाका ६ ठाउँका आउटलेटबाट छुट दिइने दुग्ध विकास संस्थान (डीडीसी) ले जनाएको छ । डीडीसीले आफ्नै बिक्री कक्षबाट प्रतिकिलो घिउमा ५०, ५० मिलिलिटर घिउमा २५ र एक किलो पनिरमा २० रुपैयाँ छुट दिने महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित : आश्विन २, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?