बैंकले बढाए ब्याजदर, कुनको कति ?- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकले बढाए ब्याजदर, कुनको कति ?

रासस

काठमाडौँ — कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।  

बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्यांकानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक(७.५)को छ । बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम नौ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले नौ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन् ।

त्यसैगरी एनएमबी बैंकले नौ दशमलव ५२, सानिमा बैंकले नौ दशमलव ५१, ग्लोबल आईएमई बैंकले नौ दशमलव ५० प्रतिशत नबिलले साधारणमा नौ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले नौ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले नौ दशमलव २५, हिमालयन बैंकले नौ प्रतिशत, सिद्धार्थ बैंकले नौ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले नौ दशमलव ०२ प्रतिशत र लक्ष्मी बैंकले नौ प्रतिशत ब्याज दिने बताएका छन् ।

त्यस्तै बैंक अफ काठमाडौँले आठ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले आठ दशमलव ७६ प्रतिशत, माछापुच्छ्रे बैंकले आठ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले आठ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले आठ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले आठ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले आठ दशमलव ५५, कुमारी बैंकले आठ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले आठ दशमलव ५ प्रतिशत, प्रभु बैंकले आठ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले आठ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले आठ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले आठ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सात दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।

बैंकहरूले साधारण निक्षेपमा न्यूनतम चार दशमलव २६ देखि अधिकतम छ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् । बजारमा लगानीयोग्य रकम अभाव देखिएको अवस्था देखिएपछि आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ । बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकानुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म तीन खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ एसएलएफमार्फत उठाएको देखिन्छ । राष्ट्र बैंकले गत भदौ १७ मा सात दिनका अवधिको २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको ३० अर्ब र भदौ ३१ मा २० अर्ब रुपैयाँ बराबरको रिपोसमेत जारी गरिसकेको छ ।

प्रकाशित : आश्विन १, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्

'मोबाइल चलाउन पोख्त बच्चालाई सिकाए क्युब स्याटेलाइट बनाउन सक्छन्' [भिडियो]

गोविन्द पोखरेल

काठमाडौँ — बर्डस्–३ मिसन अन्तर्गत सन् २०१९ को अप्रिलमा नेपाली झण्डा अंकित नेपाली–स्याट–१ अन्तरिक्षमा प्रक्षेपण भयो । त्यसको दुई महिनापछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट पृथ्वीको तल्लो कक्षमा नेपाली भूउपग्रहसहित श्रीलंकाको राभाना–१ र जापनाका इगिसु अन्तरिक्षमा पुग्यो ।

विगत दुई वर्षदेखि अन्तरिक्षमा नेपाली झन्डा अंकित उक्त भूउपग्रहले विचरण गरिरहेको छ । यही अक्टोबरमा भूउपग्रहको आयु समाप्त हुँदैछ । नेपाली भूउपग्रह अन्तरिक्ष प्रवेश गरेसँगै नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गरेको चर्चा भयो । उक्त मिसनका प्रमुख हुन्– ३१ वर्षीय आभाष मास्के । मास्केसँगै नास्टका प्राविधिक हरिराम श्रेष्ठले नेपाली–स्याट–१ को निर्माण गरेका हुन् ।

मास्केले स्नातक हुँदै विद्यावारिधिसम्मको अध्ययन पूरा गरेर स्वदेश फर्किएको यो नोभेम्बरमा एक वर्ष हुँदैछ । सञ्चारमाध्यमसँग कमै मात्र खुल्न रुचाउने मास्केलाई नास्टको दोस्रो स्याटेलाइट मिसन ‘नेपाली–स्याट–२–पदयात्री’को जिम्मेवारी दिएको छ । हाल उनी यसैमा सक्रिय छन् ।

०००

बर्डस– १ मा बंगलादेश, २ मा भुटानले नानो स्याटेलाइट निर्माण गरेर सन् २०१९ अघि नै अन्तरिक्षमा पुर्‍याएका थिए । नेपालले भने एउटा ‘क्यूब स्याट’ पनि अन्तरिक्षमा पुर्‍याएको थिएन । जापानको क्युटेक विश्वविद्यालयमा रहेका मास्केका प्रोफेसरको सहयोगमा बर्डस्–३ कार्यक्रममा नेपाल सामेल भएको थियो ।

सन् २०१५ को विनाशकारी भूकम्पका बेला अभाव महसुस गरिएको एरियल फोटोग्राफी र टेलिकम्युनिकेसनलाई नेपाली स्याट–१ को मिसनमा राखिएको थियो । त्यही भएर नेपाली स्याट–१ मा यी विषय सम्बन्धी अनुसन्धानात्मक कार्य समेटियो । हालसम्म नेपाली स्याट–१ ले २ वर्षमा डेढ सय वटा फोटोहरू खिचेको मास्के बताउँछन् ।

मास्के १ यू क्युब स्याट अन्तरिक्षमा पुग्नुमा सबैको मिहिनेतले सम्भव भएको बताउँछन् । उनी भन्छन्, ‘मेरो मात्रै मिहिनेत हैन, बर्डस्–३ लाई सपोर्ट गर्ने बर्डस्–१ पनि थियो । यो परियोजनालाई सहयोग गर्ने धेरैजना हुनुहुन्थ्यो । उहाँहरू सबैको सहयोगले सम्भव भयो । म र हरिराम दाई फ्रन्टलाइनमा मात्रै खटिएका हौं ।’

०००

स्याटेलाइट विधालाई मास्के ‘एक्स्ट्रिम फर्म इन्जिनियरिङ’ भन्न रुचाउँछन् । स्याटेलाइट बनाउन सक्नेले मेकानिकल, इलेक्ट्रोनिक्स, प्रोगामिङ पनि सिक्छन् । अन्य उपकरण बिग्रियो भने तत्कालै बनाउन सकिन्छ । अन्तरिक्षमा एकपटक स्याटेलाइट छाडेपछि रिपेयर गर्न सम्भव हुँदैन । त्यही भएर यसमा ‘ट्रिपल टी’को नियम लागू हुन्छ । ट्रिपल टी अर्थात् टेस्ट–टेस्ट–टेस्ट । मास्के भन्छन्, ‘स्याटेलाइट बनाउँदा अधिकांश समय त परीक्षणमै जान्छ । ७५ प्रतिशत काम परीक्षण नै हुन्छ ।’

अन्तरिक्षमा छाडिने स्याटेलाइटलाई कृत्रिम वातावरणमा परीक्षण गर्नुपर्छ । रकेटको चाप थेग्ने खालको वातावरणदेखि हावा नभएको भ्याकुम स्पेसमा पनि यसको परीक्षण गर्नुपर्छ ।

कुनैपनि वस्तु अन्तरिक्षको कक्षमा छ र कुनै माध्यमबाट केही कुरा पठाउन र पाउन सकिन्छ भने त्यो स्याटेलाइट हो । स्याटेलाइटले पृथ्वीको वरीपरी फन्को लगाउँछ । यसको मुख्य उद्देश्य कम्युनिकेसन र रिमोट सेन्सिङमा बढी केन्द्रीत भएको मास्के बताउँछन् । कम्युनिकेसन सूचना तथा सञ्चारसँग सम्बन्धित छ भने रिमोट सेन्सिङ तस्बिरका लागि । नेपाली स्याट–१ कम्पिलकेटेडभन्दा पनि सहज सिस्टम भएको उनी बताउँछन् ।

०००

नेपालमा प्राज्ञिक र वैज्ञानिक क्षेत्रमा काम गर्नेहरूका लागि राम्रो वातावरण अझै निर्माण हुन सकेको छैन । वैज्ञानिक र अनुसन्धानकर्तालाई भन्दा ‘भाइरल म्यान’हरू बढी विश्वास गर्ने जमात छ । प्राज्ञिक र वैज्ञानिक क्षेत्रका विषयहरूलाई बहसमा ल्याइँदैन । विदेशमा विद्यावारिधी गरेका नेपाली अनुसन्धानकर्ता हत्तपत्त नेपाल आउन नखोज्नुको कारण पनि यही हो ।

मास्केले अध्ययनका क्रममा १० वर्ष विदेशमा बिताएका छन् । स्वदेशमा केही गर्छु भनेर फर्किएका मास्के नेपालको वातावरणमा काम गर्न गार्‍हो हुने बताउँछन् । उनी भन्छन्, ‘यहाँ युवाहरू लगनशील भएर काम गर्छन् । तर, सामान्य कुराहरूमा पनि समस्या निकालिदिने गर्दा हामीलाई एड्जसमेन्टमा केही गार्‍हो हुन्छ ।’

उसो त उनलाई ‘रिर्भस कल्चर’ले पनि असर गरेको छ । बाहिर हुँदा निर्धारित समयमा तोकिएको काम त्यही बेला सुरु हुन्छ । तर यहाँ भने घन्टौंपछि पनि सुरु हुन्न । नेपाली अनुसन्धानकर्ताहरूमा विश्वको प्रतिस्पर्धात्मक बजारमा टिक्नसक्ने क्षमता छ तर अवसर नपाएको उनले बताए ।

‘नेपाल अन्तरिक्षमा प्रवेश गरेको पनि हो/ होइन’

नेपाली स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नेपाल अन्तरिक्ष युगमा प्रवेश गरिएको भनेर प्रचार गरिए पनि यसमा दुई खाले टिप्पणीहरू आए । अन्तरिक्षको क्षेत्रमा काम गर्नका लागि हालसम्म नेपाल सरकारका कुनै पनि निकायले काम गरेका छैनन् ।

नेपाली झन्डा अंकित एक केजीको वस्तु अन्तरिक्षमा पुर्‍याउने बित्तिकै नेपाललाई कसरी अन्तरिक्ष युगमा प्रवेश गरेको भन्न सकिन्छ भन्ने प्रश्नहरू आउने गरेका छन् । मास्के यसलाई दुवै रुपमा अर्थ्याउन चाहन्छन् ।

‘एउटा यन्त्र अन्तरिक्षमा राखेर त्योसँग सम्पर्क गर्न सक्यौं । यो हिसाबले हेर्दा नेपाल अन्तरिक्ष युगमा पुगेको भन्न सकिन्छ,’ उनी भन्छन्, ‘तर एक सामान्य नागरिकले त्यो नानो स्याटेलाइटले दिने प्रत्यक्ष फाइदा खोज्छ । उसले नदेख्दा साँच्चै नै अन्तरिक्ष युगमा नेपाल प्रवेश गरेको हो त भन्ने प्रश्न गर्छ । ’

पहिलो स्याटेलाइट मिसनबाट नेपालका लागि अन्तरिक्ष क्षेत्रमा काम गर्नका लागि नेटवर्क विकसित भएको उनले बताए । १५ भन्दा बढी मुलुकहरूसँग बर्डस् नेटवर्कमार्फत संवाद र सहकार्यका लागि नेपालले अवसर पाएको छ । यसका लागि ‘अन्तरिक्ष कूटनीति’ मा ध्यान दिनुपर्ने मास्केको सुझाव छ ।

‘नेपालबाटै स्याटेलाइट प्रक्षेपण गर्ने सम्भावना छैन’

चीन र भारत अन्तरिक्ष दौडमा धेरै उपलब्धि हासिल गरेका मुलुकहरू हुन् । चीनले मंगल ग्रहको सतहमा आफ्नो उपस्थिति जनाइसकेको छ । भारतले सन् २०१४ मै आफ्नो मंगल यान कार्यक्रममार्फत मंगल ग्रहको कक्षमा आफ्नो अर्बाइटर पुर्‍याइसकेको छ ।

नेपालले ठूलो स्याटेलाइट बनाउन अझ धेरै समय लाग्ने मास्केले बताए । भूपरिवेष्ठित मुलुक नजिकै समुद्र छैन । रकेट लन्च गर्दा त्यसका टुक्राहरू अन्य मुलुकतिर जाने खतरा हुने उनी बताउँछन् । ठूलो भूउपग्रहहरू भन्दा सानो भूउपग्रह निर्माणतिर विश्व लागिपरेको उल्लेख गर्दै मास्केले कम लगानीमा सानो स्याटेलाइट निर्माण गरेर धेरै काम गर्ने नीति लिनुपर्ने औंल्याउछन् ।

सरकारले यो क्षेत्रमा लगानी मात्रै गरेपनि उपलब्धि हासिल हुने उनको धारणा छ । १० करोडको लगानीबाट स्याटेलाइटको नक्षत्र नै अन्तरिक्षमा उडाउन सकिने उनले बताए ।

मास्के नेपालमा अन्तर्राष्ट्रिय स्तरका उच्च गुणस्तरका स्याटेलाइट निर्माण गरेर यही उत्पादन गर्न सकिने सम्भावना देख्छन् । नेपालका नीति निर्माण, भन्सार सम्बन्धीको कानुन राम्रो भइदिए प्रविधि उत्पादन गर्न समस्या नहुने मास्केको भनाइ छ ।

०००

अहिले विश्वका करिब ८० प्रतिशत क्षेत्र अन्तरिक्षमा निर्भर हुँदै गएका छन् । मोबाइलको जीपीएस पनि स्पेस टेक्नोलोजीको देन हो । विज्ञान र प्राविधिमा फड्को मारेर देशलाई समृद्ध बनाउने हो भने सानै उमेरदेखि मोबाइल चलाउन सक्ने बालबालिकाहरूलाई स्याटेलाइट निर्माण सम्बन्धीको तालिम दिनुपर्ने उनको सुझाव छ ।

‘राम्रोसँग मोबाइल चलाउन सक्ने बच्चालाई साना किसिमका क्युब स्याटेलाइट बनाउन सिकाए उनीहरूले भविष्यमा अझ राम्रोसँग काम गर्न सक्छन् । हामीले खोटाङमा यसै सम्बन्धी एक विद्यालयमा तालिम दिएका थियौं । ती बालबालिकाहरूले बनाउन सके,’ मास्केले भने ।

नास्ट र आविष्कार केन्द्रमामार्फत उनको सस्तो क्युबको उत्पादन गर्ने तयारी छ । केन्द्रका प्रमुख महावीर पुनको सहयोगले नयाँ पुस्ताहरूलाई स्याटेलाइट बनाउने तालिमहरू पनि मास्केले दिएका छन् । हाल अन्तरिक्ष प्रतिष्ठान नेपाल संस्था खोलेर उनले नयाँ पुस्तालाई सानो स्याटेलाइट निर्माण सम्बन्धी तालिमहरू पनि दिने गरेका छन् ।

उनी भन्छन्, ‘विदेशमा पढेर मैले सिकेका कुरा अरुलाई सिकाउँदा ज्ञान झन् बढ्छ । आज मैले १० जनालाई सिकाएँ भने भोलि उसले सय जनालाई सिकाउन सक्छ । ज्ञान भनेको बाँड्दै जाने हो नि ।’

प्रकाशित : आश्विन १, २०७८ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×