गुण एयरलाइन्सको पुनः उडान सुरु- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

गुण एयरलाइन्सको पुनः उडान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ ।आफ्ना दुई बिचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ ।

सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाइएको छ ।

आन्तरिकतर्फ नियमिति उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए ।

नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो । सिम्रिकसँग दुई अमेरिकी विचक्राफ्ट जहाज थिए ।

त्यसमा थप पाँच जहाज खरिद गरी सङ्ख्या सात पुर्‍याइएको हो । गुण एयरलाइन्सले हालै यती एयरसँग रहेका पाँच जहाज खरिद गरेको थियो । गुणसँग दुई विचक्राफ्ट १८ सिट क्षमताका छन् । जेटस्ट्रिम भने ३० सिट क्षमताका हुन् ।

प्रकाशित : आश्विन १, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्

सुरु भएन आंगिक क्याम्पस पुनर्निर्माण

भारतको एक्जिम बैंकको ऋण सहयोगमा क्याम्पसहरु पुनर्निर्माण गर्न ५ वर्षअघि सम्झौता भए पनि प्रारम्भिक काम नै सुरू भएको छैन
सुदीप कैनी

काठमाडौँ — भारतीय एक्जिम (एक्स्पोर्ट–इम्पोर्ट बैंक) को सर्त र झन्झटिलो प्रक्रियाका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ३९ आंगिक क्याम्पसको पुनर्निर्माण भूकम्पको ६ वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन । २०७२ सालको भूकम्पले त्रिविका ६१ आंगिक क्याम्पसमध्ये ३९ वटामा बढी क्षति पुगेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ती क्याम्पसको पुनर्निर्माण गर्ने योजना बनाए पनि काम सुरु नै नगरी शुक्रबार (असोज १) सम्बन्धित निकायलाई हस्तान्तरण गर्दै छ । सन् २०१६ सेप्टेम्बरमा सरकार र भारतको एक्जिम बैंकबीच त्रिविका क्षतिग्रस्त शिक्षण संस्था पुनर्निर्माणका लागि ७५ अर्बको ऋण सहायतासम्बन्धी सम्झौता भएको थियो ।

हालसम्म पनि शिक्षण संस्थाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माणलगायतको प्रारम्भिक कामसमेत सुरु हुन सकेको छैन । आंगिक क्याम्पस पुनर्निर्माण नहुँदा विद्यार्थी तथा शिक्षक जोखिमपूर्ण भवनमा अध्ययन/अध्यापन गर्न बाध्य छन् ।

भूकम्पले क्षति गरेको ६ वर्षसम्म क्याम्पसहरू पुनर्निर्माण नहुनुलाई त्रिविले सबैभन्दा ठूलो चुनौतीका रूपमा लिएको छ । उपकुलपति धर्मकान्त बाँस्कोटाले क्याम्पस भवन जीर्ण हुँदा त्यसको असर पठनपाठनमा परेको जनाए । पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख रामप्रसाद सापकोटाले क्याम्पस पुनर्निर्माणका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया सुरु भइसकेको बताए ।

उनले पुनर्निर्माण गर्नुपर्ने सूचीमा रहेका क्याम्पसको जग्गाको अवस्थाअनुसार डीपीआर तयार पार्ने र निर्माण कम्पनी छनोट गरेर काम थालिने जनाए । २०७२ को भूकम्पलगत्तै नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनर्निर्माणका लागि एक खर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । ७५ अर्ब रुपैयाँ ऋण सहायता र २५ अर्ब रुपैयाँ अनुदान लिने सम्झौता भएको थियो ।

अनुदान रकमबाट ८ जिल्लामा ७० वटा विद्यालय र त्रिवि केन्द्रीय पुस्तकालयको पुनर्निर्माणको काम भइरहेको छ । तीमध्ये १३ विद्यालय हस्तान्तरण भइसकेका छन् । एकाइले हालसम्म आन्तरिक र बाह्य स्रोतबाट साढे ७ हजार विद्यालयको पुनर्निर्माण गरिसकेको छ । अझै करिब १५ सय विद्यालय पुनर्निर्माण हुन बाँकी छन् । एकाइले २०७२ फागुनदेखि काम थालेको थियो तर ऋण सहायताअन्तर्गतको काम अझै सुरु भएको छैन ।

त्रिचन्द्र कलेज : शताब्दी लामो इतिहास, बर्खे झरीमा रुझिरहेछ !

सम्झौताको प्रावधान झन्झटिलो भएकाले समस्या उत्पन्न भएको प्राधिकरणका उच्च पदाधिकारी बताउँछन् । ‘ऋण सहायताबाट आएको ७५ अर्बबाट पनि विद्यालय भवन पुनर्निर्माण गर्नुपर्ने प्रस्ताव आएको थियो,’ एक अधिकारीले भने, ‘एक्जिम बैंकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न असम्भव देखेपछि हामीले अस्वीकार गर्‍यौं, त्यही ऋणले क्याम्पस पुनर्निर्माण गरिने भनिएको हो । त्यो पनि सुरु हुन सकेको छैन ।’

ऋण सहायताबाट पुनर्निर्माण गर्दा निर्माण कम्पनी, ५० प्रतिशत जनशक्ति र निर्माण सामग्री भारतीय हुनुपर्ने र खरिद प्रक्रिया बैंकले तोकेअनुसार हुनुपर्नेलगायत प्रावधान राखिएको छ । विश्वविद्यालय अनुदान आयोग, प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले यी प्रावधानअनुसार कामअघि बढाउन नसकेपछि २०७४ मा भदौमा शिक्षा एकाइलाई नै क्याम्पसको पुनर्निर्माण गर्ने जिम्मेवारी दिइएको हो ।

‘भारतीय ठेकेदार आएर गाउँ–गाउँका स्कुल बनाउन जाँदैनन् भनेर काठमाडौं र सहरी क्षेत्रका क्याम्पस बनाउने निर्णय गरेका थियौं,’ प्राधिकरणका एक प्राविधिकले भने, ‘यहाँ एक्जिम बैंकको सम्पर्क कार्यालय छैन, भारतीय दूतावासबाट काम अघि बढाउनुपर्छ, प्रशासनिक कामको प्रक्रिया पूरा गर्न ढिला हुँदा कामले गति लिन सकेन ।’

प्राधिकरणले सबैभन्दा जेठो त्रिचन्द्र क्याम्पससहित त्रिविका ३९ वटा क्याम्पस पुनर्निर्माण गर्नुपर्ने सूची तयार पारेर स्वीकृतिका लागि एक्जिम बैंक पठाएको थियो । त्यसमध्ये ३१ वटा मात्र पुनर्निर्माणका लागि स्वीकृत भएका हुन् । ललितपुरको पाटन बहुमुखी क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको थापाथली क्याम्पस, ललितपुर नर्सिङ क्याम्पस सानेपा, त्रिवि प्रेस कीर्तिपुर, भक्तपुरको सानोठिमी क्याम्पस, गुल्मीको रेसुंगा बहुमुखी क्याम्पस, पोखराको वनविज्ञान अध्ययन संस्थान र दोलखाको जिरी टेक्निकल स्कुलको पुनर्निर्माण अझै स्वीकृत भएको छैन ।

प्रकाशित : आश्विन १, २०७८ १२:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×