चाडवाड लक्षित सहुलियत पसल सुरु

काठमाडौँ — सरकारले चाडवाडलाई लक्षित गर्दे शुक्रबारदेखि सहुलियत पसल सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुक्रबार औपचारिक कार्यक्रम गरेर ३९ जिल्लाका ४३ आउटलेटबाट छुट दिएको जनाएको छ ।

चाडवाड लक्षित सहुलियत पसल सुरु

खाद्यको सहुलियत पसलमा दाल/चामलमा प्रतिकिलो ५ रुपैयाँ, खाने तेलमा प्रतिलिटर ५ देखि १० रुपैयाँ, कर्णालीको सिमी र फापरमा १० रुपैयाँ छुट पाइने जनाएको छ । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाका अनुसार उपत्यकामा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकका आउटलेटबाट छुट दिइने छ ।

खाद्यले अनलाइन सेवाबाट समेत खाद्य वस्तुमा छुट दिइ निःशुल्क होमडेलिभरी गर्ने जनाएको छ । यस्तै, खसीबोकामा पनि छुट दिएको छ । यद्यपी खसीबोका घटस्थापनासम्म काठमाडौं आइपुग्ने जनाएको छ ।

खाद्यसँगै साल्ट ट्रेडिङ कर्पोर्रेसन्सले पनि मुलुकभर ३२ आउटलेटबाट छुट दिएको जनाएको छ । साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीका अनुसार उपत्यकामा रहेका ६ आउटलेट (कालीमाटी -२, कोटेश्वर, सतुङगल, जावलाखेल र भक्तपुर) र ३ वटा घुम्त सेवा सञ्चालन गरिनेछ ।

‘सहुलियत पसलबाट नुन प्रतिकिलो १८ र चिनी ७९ रुपैयाँमा बिक्री गर्देछौ,’ उनले भने, ‘प्रति ग्राहक नुन ६ र चिनी २ केजी दिन्छौँ ।’ यी बाहेक दाल, चामल, तेल लगायतमा पनि बजारभाउ भन्दा सस्तोमा बिक्री गर्ने उनले बताए । दुग्ध विकास संस्थान (डीडीसी)ले पनि घीउ र पनिरमा छुट दिएको छ ।

डीडीसीले लैनचौर, न्युरोड, खुमलटारसगै डीडीसीको विभिन्न आयोजना/आउटलेटबाट छुट दिएको महाप्रबन्धक रुद्र पौडेलले बताए । ‘डीडीसीले एक लिटर घीउमा ५० रुपैयाँ, पनिर २०० ग्राममा ५ रुपैयाँ, आधा केजीमा १० रुपैयाँ र १ किलोमा २० रुपैयाँ दिएका छौ,’ उनले भने ।

प्रकाशित : आश्विन १, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?