कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भेरी–बबई डाइभर्सन बनाइसक्न अझै ३ वर्ष

मुआब्जा विवाद र निषेधाज्ञामा सामग्री ढुवानी गर्न समस्या हुँदा आयोजनामा ढिलाइ

सुर्खेत — राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्पन्न हुन अझै ३ वर्ष लाग्ने भएको छ । भेरी नदीको चिप्लेमा निर्मित बाँध बगाएपछि र सुरुङमार्गमा पानी पसेपछि निर्माणको काम पछि धकेलिएको हो । कोरोना महामारीका कारण सामग्री ढुवानीमा समस्या भएपछि पनि आयोजनाको काममा समस्या देखिएको छ ।

भेरी–बबई डाइभर्सन बनाइसक्न अझै ३ वर्ष

‘मुआब्जा विवादले पनि आयोजनाको काममा केही ढिलाइ भयो,’ आयोजनाका चिफ इन्जिनियर समित दासले भने, ‘स्थानीयले रोजगारी मागेपछि पनि विवादले केही दिन काम रोकिएको थियो ।’ अहिले योजनाका ९० जना कामदारले काम गरिरहेको उनको भनाइ छ । दोस्रो चरणअन्तर्गत अहिले चिप्लेमा बाँध निर्माणको काम जारी छ । जसका लागि कामदारका लागि क्याम्प, निर्माण सामग्री उत्पादनका लागि आवश्यक प्लान्ट, प्रयोगशाला, क्रसर उद्योगलगायत संरचना निर्माण गरिएको दासले बताए । चिप्ले–खोल्सी डाइभर्सनको कामलाई पनि तीव्रता दिइएको छ । चिप्लेमा १ सय १४ मिटर लामो ब्यारेजसहित १ सय ५८ मिटर डिसेन्डिङ बेसिन र टनेल इन्ट्री पोर्टलको निर्माण भइरहेको उनको भनाइ छ । ‘पोर्टलमा चार वटा ढोका हुनेछन्,’ उनले भने, ‘भेरी वारपार गर्न पुल पनि निर्माण गरिनेछ ।’

दोस्रो चरणअन्तर्गत २०८० साउन २९ भित्र बाँध निर्माण सक्ने गरी रमण/ग्वाङ्डोन जेभीले जिम्मा लिएको छ । कम्पनीले गत वर्ष साउन १५ मा ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँमा कामको सम्झौता गरेको हो । आयोजना सकिएपछि ४.२ मिटर व्यास गोलाइ र १२.२ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी भेरी नदीबाट बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ ।

भेरी नदीमा सुक्खायाममा ८० घनमिटर पानी प्रतिसेकेन्ड बग्छ । १ सय ५२ मिटर लामो हेडको प्रयोग गरेर २४ मेगावाट क्षमताका दुईवटा टर्बाइनमार्फत ४६.८ मेगावाट विद्युत् उत्पादनका लागि विद्युत् गृहको निर्माण गरी वार्षिक ३ सय ८५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । भेरी नदीबाट बबईमा खसालिएको पानीले लुम्बिनी प्रदेशका बर्दिया र बाँकेका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने चिफ इन्जिनियर दासले जानकारी दिए ।

परीक्षणबिनै सुरुङ हस्तान्तरण : महालेखा

महालेखा परीक्षकको कार्यालयले यस वर्ष सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा निर्माण कम्पनीले आयोजनालाई परीक्षणबिनै सुरुङ हस्तान्तरण गरिएको औंल्याइएको छ । सुरुङमा पानी नपठाई आयोजना हस्तान्तरण गरिएको महालेखाको भनाइ छ ।

चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले आयोजना कार्यालयलाई २०७७ भदौ १७ गते सुरुङ हस्तान्तरण गरेको थियो । कम्पनीले नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण गरेको हो । भेरीगंगा नगरपालिकाको बबईदेखि चिप्लेसम्म १२.२ किलोमिटर लामो सुरुङ खनिएको छ । सुरुङ निर्माणका लागि १० अर्ब ५७ करोड रुपैयाँमा सम्झौता भए पनि ९ अर्ब ८८ करोड रुपैयाँ कम्पनीलाई भुक्तानी दिइएको सिँचाइ विभागले जनाएको छ ।

‘५१ हजार हेक्टर भन्न मिल्दैन’

भेरी–बबई आयोजनाले बबई सिँचाइ परियोजनाको सिञ्चित क्षेत्रलाई समेत आफ्नो कार्यक्षेत्रमा गणना गरेको पाइएको महालेखाले बताएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार अहिले ३६ हजार हेक्टरमा परियोजनाले सिँचाइ सुविधा पुर्‍याएको भए पनि भेरी–बबईले उक्त क्षेत्रलाई आफ्नो कार्यक्षेत्रमा गणना गरेको पाइएको हो ।

भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको भनाइ छ ।

‘आयोजनाको कमान्ड एरिया ३६ हजार र सो योजनाले समेट्न नसकेको थप १५ हजार हेक्टरमा वर्षभरि सिँचाइ पुर्‍याउन भेरी नदीको ४० क्युसेक पानीलाई सुरुङका माध्यमबाट बबई नदीमा पुर्‍याउने उद्देश्यले भेरी–बबई डाइभर्सन आयोजना सञ्चालित छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा बबई सिँचाइ आयोजनाको स्रोत र सिञ्चित क्षेत्रलाई यस आयोजनाको कार्यक्षेत्रमा गणना गरेकाले दोहोरो गणना गरी आयोजना सम्भाव्य देखिएकोमा थप विश्लेषण भएको छैन ।’

गत साता प्रतिनिधिसभाको प्राकृतिक स्रोत, साधन तथा अनुगमन समितिले पनि आयोजना निरीक्षण गरेको थियो । राष्ट्रिय गौरवका अन्य आयोजनाको तुलनामा आयोजनाको प्रगति सन्तोषजनक देखिए पनि केही त्रुटि सच्याउनुपर्ने भएको समितिका सदस्य राजबहादुर बुढाले बताए । आयोजना कार्यालयका अनुसार भेरी–बबईमा भौतिकतर्फ ५२.१२ र वित्तीयतर्फ ४४.७७ प्रतिशत प्रगति भएको छ ।

प्रकाशित : आश्विन १, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?